कीर्तिनिधि विष्टः जसले भारतीय सेना फिर्ता पठाए, महाकाली सन्धिको विरोधमा उत्रिए

ज्ञानेन्द्र खड्का

काठमाडौँ । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा आज निधन भएको छ । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट निष्ठावान राजनीतिज्ञका रूपमा परिचित थिए ।

ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएका विष्ट विगत केही समयदेखि क्यान्सरबाट अस्वथ्य थिए । पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उनको जन्म वि.सं. १९८३ अर्थात १५ जनवरी १९२७ मा भएको थियोे । विस्टले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए ।

पुर्ख्य्यौली घर गोरखा

विष्टका पुर्खाहरू गोरखाको खोप्लाङबाट काठमाडौँ छिरेका थिए । बसाइँ सर्दै पुर्खाहरु काठमाडौँ छिरेपछि विष्टको जन्म पनि यहीँ भएको थियो । राजनीतिसम्बन्धी लेखहरू लेख्दै दिग्गज राजनीतिज्ञ डिल्लीरमण रेग्मीको संगतले राजनीतिमा होमिएका विष्टको राजनीतिक यात्रा भने नेपाली राष्ट्रिय कांग्रेसबाट सुरु भएको थियो ।

२००७ सालमा राणा शासनविरुद्ध भएको क्रान्तिमा पनि अग्रमोर्चामा रहे सक्रिय भएका विष्टले २०१७ सालमा राष्ट्रिय कांग्रेस त्यागेका थिए । तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्रलाई कू गर्दै पञ्चायती व्यवस्था लादेसँगै विस्ट कट्टर पञ्च बन्न पुगे । तर २०४६ सालमा पञ्चायत ढलेसँगै विष्टले राजनीति छाडे । तर २०६१ माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन लादेपछि शाही सरकारको मन्त्रिपरिषद् उपाध्यक्ष बन्दै पुन राजनीतिमा सक्रिय भए ।

चार पटक प्रधानमन्त्री

सन् १९५८ मा परामर्शदात्री सभाको सदस्य भएका विष्ट सन् १९६१ मा सहायक मन्त्री, मन्त्री, मन्त्रिपरिषद्का उपाध्यक्ष, उपप्रधानमन्त्री हुँदै सन् १९६९, १९७१, १९७२ र १९७७ गरी चारपटक प्रधानमन्त्री भएका थिए ।

वि.सं २०६१ मा माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सञ्चालन गरेपछि उनलाई वि.सं २०६१ फागुनमा शाही मन्त्रिपरिषदको उपाध्यक्षमा नियुक्त गरेका थिए ।

नैतिक पाठ सिकाए

निष्ठावान राजनीतिज्ञका रुपमा परिचित विस्टले वि.सं २०३० सालमा सिंहदरबार आगलागी हुँदा नैतिकताको कारण राजीनामा दिएर नेपालको इतिहासमा चर्चित भएका भएका थिए । त्यसपछि उनै विष्टले चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको शुरुवात पनि गराएका थिए ।

वि.सं २००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद्को उपसभापति र सभापति पनि रहनुका साथै सोही पार्टीबाट उनी वि.सं २०१५ फागुन गते भएको काठमाडौँ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका थिए ।

उनले तत्कालिन वाग्मती पुनःरुत्थान कोष, वीरेन्द्र गद्दी आरोहण नागरिक मूल समारोह समिति, त्रिभुवन स्मारक समिति र राष्ट्रिय सम्मान समितिका अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

महाकाली सन्धिका विरोधी

विष्टलाई राष्ट्रवादी नेता पनि भनिन्छ । सन् १९९६ मा नेपालको प्रतिनिधिसभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत पक्राउ पनि परेका थिए ।

नेपाल र भारतबीच भएको महाकाली एकीकृत विकास सन्धि २०५३ सालमा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको समयमा हस्ताक्षर गरेपछि भएको थियो ।

सन्धिको अनुमोदन तत्कालीन संसदले २०५३ साल भदौमा गर्यो । यस विषयले नेपालको राजनीतिमा ठूलै उथलपुथल ल्याइदिएको थियो । यही सन्धिको विरोधमा कीर्तिनिधि विष्टसहितका नेताहरू उत्रिएका थिए ।

जसले सूर्यबहादुरलार्इ थुने

वि.सं. २०२७ सालमा प्रधानमन्त्री थिए कीर्तिनिधि विष्ट । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा त्यो बेलाआन्दोलन गर्दै सडकमा उत्रिएका थिए। २०२५ सालमा प्रधानमन्त्रीबाट हटिसकेपछि थापा पञ्चायती शासनभित्रकै विद्रोही भएका थिए। राजाको प्रत्यक्ष शासन भएका बेला उनले यहाँ द्वैध शासन छ भन्दै राजा र प्रधानमन्त्रीको विरोधमा चर्का भाषण गर्न थाले। २०२९ साल वैशाख ३१ गते प्रधानमन्त्री विष्टले गृहमन्त्री जोगमेहर श्रेष्ठलाई निर्देशन दिँदै भने, ‘मध्यरातमै भए पनि सूर्यबहादुर थापालाई तुरुन्त गिरफ्तार गर्नू’

विष्टले पक्राउ आदेश दिएका सूर्यबहादुर थापाको दुई वर्षअघि निधन भयो। तत्कालीन राजाहरु महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले पत्याएका विष्ट पञ्चायतकालका भलाद्मी नेताका रुपमा परिचित थिए । पञ्चायतकालमा चार पटक प्रधानमन्त्री भएका विष्ट पछिल्लो पटक २०६१ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।

‘त्यस बेला मैले त्यही गर्नु उचित ठानेँ। अहिले पनि मलाई त्यस कुरामा कुनै पछुतो छैन। उनलाई गिरफ्तार गरेर जेल पठाउनुमा म नै जिम्मेवार हो। त्यसको जस–अपजसको सबै जिम्मेवारी मैले नै बोक्नुपर्छ। राजा वीरेन्द्र सायद थापालाई थुन्नुपर्छ भन्ने पक्षमा थिएनन्। किनभने, भर्खर राज्यारोहण गरेका राजा पूर्वप्रधानमन्त्रीलाई गिरफ्तार गरेर जेल हाल्दा उत्पन्न हुन सक्ने परिणामबाट सचेत पनि थिए। तर, थापाको व्यवहार मलाई पटक्कै चित्त बुझेन। मैले राजालाई एक बचन पनि नसोधी सीधै थुन्न निर्देशन दिएँ। र, अर्को दिन राजालाई त्यसको जानकारी गराएँ,’ विष्टले २०७० सालमा नेपाल साप्ताहिकमा छाएिको संस्मरणमा भनेका थिए ।

भारतविरुद्ध कडा टिप्पणी

भारतीय पक्षले तत्कालीन अन्तरिम राणा प्रधानमन्त्री मोहन शमशेर जबरालाई दबाबमा पारेर गराएको १९५० र त्यसैको विस्तारका रुपमा राजा महेन्द्रका पालामा भएको १९६५ को सन्धि व्यवहारमा खारेज भइसकेको थियो ।

तर पनि यही सन्धिालाई देखाएर भारतले बेलाबेला नेपाललाई तर्साउने क्रम रोकेको थिएन । विष्टले यी सन्धिलाई लिएर नेपाललाई नतर्साउन भन्दै भारतविरुद्ध सर्वाजनिक टिप्पणी गरेका थिए ।

सन् १९६५ को सन्धिमा ‘नेपाललाई आवश्यक हतियार भारतले उपलब्ध गराउने र अर्को मुलुकबाट ल्याउनुपरे भारत सरकारको अनुमति लिनुपर्ने’ प्रावधान राखिएको थियो । ‘ती दुवै सन्धि व्यावहारिक रुपमा उहिल्यै खारेज भइसकेका छन्,’ आफ्नो प्रधानमन्त्रीकालमा ती सन्धि खारेज भइसकेको सार्वजनिक अभिव्यक्ति दिँदैँ विष्टले भनेका थिए, ‘भारतले कागजी बाघ देखाएर तर्साइरहेको छ । त्यहीकारण नेपालका नेताहरु त्यत्तिकै तर्सिँदै छन् ।’

जसले भारतीय सेनालाई फर्काइदिए

वि.सं. २०२७ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा विष्टले चीनसँग सिमाना जोडिएको नेपाली भूभागबाट भारतीय सेनालाई फिर्ता पठाइदिएका थिए । यसलाई नेपालका वरिष्ठ राजनीतिज्ञहरुले राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा उठाइएको कदम भनेका छन् ।

भारतले नेपालको पूर्वी ओलाङचोङगोलादेखि पश्चिम टिंकरसम्म सुरक्षा चेकपोष्ट राख्दै सेना उतारेको थियो । विष्ट प्रधानमन्त्री हुँदा कुटनीतिक पहल गरेर ती सबै भारतीय चेकपोष्ट हटाउँदै भारतीय सेनालाई फिर्ता पठाइदिएका थिए ।

चीनसँगको सीमामा भारतीय फौज बसेको राष्ट्रिय स्वाभिमानविरुद्ध ठानेका विष्टले आफ्नो सीमामा आफ्नै फौज बस्नुपर्छ भन्ने मान्यताका साथ भारतीय सेनालाई फर्काइदिएका थिए ।

खम्पा विद्रोह अन्त्य गर्न भूमिका

सन् १९७४ मा तत्कालीन राजा वीरेन्द्र चीान भ्रमणमा गए । चीन भ्रमणमा गएका बेला तत्कालीन चिनिया प्रधानमन्त्री चाउ एन लाईले खम्पा विद्रोहबारे गम्भीर चासो देखाएका थिए ।

चीन भ्रमणबाट फर्केपछि राजा वीरेन्द्रले तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट र अन्य अधिकारीहरुलाई यसबारे अह्राउँदै भनेका थिए, ‘जस्तोसुकै अवस्थामा पनि मेरो राज्याभिषेक अघि नै खम्पा विद्रोह सकिनुपर्छ ।’

तिब्बत स्वतन्त्र अभियान लिएर नेपालको उत्तरी सीमाक्षेत्रमा एक दशकदेखि खम्पा विद्रोह चर्किँदै थियो। यो आन्दोलनलार्इ अमेरिकाको गुप्तचर संस्था सिआर्इले साथ दिएको थियो ।

२०३१ फागुनमा वीरेन्द्रको राज्याभिषेक चलिरहेका बेला नेपालले खम्पा विद्रोह अन्त्य अभियान चलाइरहेको थियो । विष्टले थालेको यो अभियान एक वर्षपछि सफल भयो। त्यो बेला कीर्तिनिधिले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेका थिए ।

चीनबाट तिब्बतलार्इ अलग गराउन सन् १९६० देखि सुरु खम्पा विद्रोह १४ वर्षपछि सन् १९७४ सेप्टेम्बर १५ मा सकिएको थियो । यो विद्रोह अन्त्य गर्न नेपालले निर्णायक भूमिका खेलेको थियो ।

खम्पा विद्रोह चीनले तिब्बतको सार्मभौमिकता लिइसकेपछि स्वतन्त्र तिब्बतका लागि मुख्यतया नेपाली भूमिबाट भएको सशस्त्र विद्रोह थियो। तिब्बतको खाम क्षेत्रका बासिन्दालाई उनीहरूको भाषामा खम्पा भनिन्थ्यो। त्यो बेला चिनियाँ फौजसँग लड्न तालिम र सेल्टरका लागि खम्पाहरू अवैधरूपमा मनाङ आएका थिए।

सन १९७४ मा नेपाली भूमि प्रयोग गरी तिब्बती खम्पाहरूले चिनिया सेनाविरूद्ध गुरिल्ला युद्ध शुरू गरेका थिए । मनाङमा उनीहरूको गाउँका गाउँ घरजम नै थियो। यहाँ तालिम लिएपछि उनीहरू लड्न मुस्ताङ पुग्थे। उनीहरूको यो आन्दोलन अन्त्य अभियान कीर्तिनिधिकै नेतृत्वमा सुरू भएको थियो ।

विदेश भ्रमण

कीर्तिनिधिले चीन, भारत, पाकिस्तान, रुस, उत्तर कोरिया, अष्ट्रिया, जापान, मलेसिया, जर्मनी, फ्रान्स, नेदरल्याण्डस्, संयुक्त राज्य अमेरिका, इण्डोनेसिया र ब्राजिलको भ्रमण गरेका थिए ।

उनले राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पनि गरेका थिए । उनको राजनीतिक दर्शनको अध्ययन र पत्रकारितामा रुचि थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा…

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य…

काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका…

बालकृष्ण सुवेदी बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण प्रक्रिया सुरु भएको बताएका…

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि देशको राजनीतिमा नयाँ तरंग आएको छ । सत्ता साझेदार…

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि आफैँ प्रधानमन्त्री हुने दावी गरेका छन् । कैलालीको धनगढीमा विहीवार…