नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई अहिले नेपाली कांग्रेससँगको तालमेलपछि गोरखा क्षेत्र नम्बर २ मा चुनावी अभियानमा हुनुहन्छ । कांग्रेससँग भएको तालमेलपछि डा. भट्टराईले गोरखामा चुनावी अभियानलाई तीब्र पारिरहनुभएको छ । सुरुमा वाम गठबन्धनसँग तालमलेको प्रयास असफल भएपछि उहाँले कांग्रेससँग सहयोग लिएर चुनावी मैदानमा हुनुहुन्छ । एमाले–माओवादीको दम्भले वाम गठबन्धनबाट आफू बाहिरिन बाध्य भएको बताउँदै डा. भट्टराईले आफूले समाजवादी पार्टी बनाउन गरेको प्रस्तावलाई अस्वीकार गरेकाले आफूले फरक निर्णय लिनुपरेको बताउनुभयो । गोरखा २ मा चुनावी अभियानमा रहेका बेला जनता टेलिभिजनका अरुण देव जोशीले गोरखामै पुगे कार्यक्रम द भ्यूका लागि गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।कस्तो भइरहेको छ चुनावी अभियान ?अत्यन्तै उत्साहजनक पाएको छु । गोरखामै जन्मिएको म यहाँका जनताबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । जे जति काम मैले गरेँ,सेवा गरेँ, गोरखाली जनताले माया सदभाव गरेको पाएको छु ।
लगातार दुई पटक माओवादीबाट जित्नुभयो । अहिले नयाँ शक्तिबाट हुनुहुन्छ । अहिले कस्तो छ प्रतिक्रिया ?पहिलो संविधान सभा निर्वाचनमा ८२ प्रतिशत, दोस्रो चोटी ५८ प्रतिशत मत ल्याए । त्यो बेला सबै दलका मतदाताको मतसहित विजयी भएको थिएँ । अहिले वाम लोकतान्त्रिक विचारसहित चुनावी अभियानमा छु । अहिले पनि चुनाव जित्छु भन्ने विश्वास छ । कांग्रेससँग तालमेल गरेर चुनावी प्रतिस्र्धामा रहेकाले यो अभियानले सहज बनाएको छ ।
विगतमा जोसँग प्रतिस्पर्धा थियो अहिले उहीसँग तालमेल छ, के भन्नुहुन्छ यसलाई ?प्रतिस्पर्धा त बहुदलीय लोकतन्त्रमा जो सँग पनि भइरहन्छ । कहिले को सँग हुन्छ ? सधैँ एउटैसँग हुन्छ भन्ने हुँदैन । नेपाली, कांग्रेस र एमाले शान्ति प्रक्रियाका सहयात्री हुन् । १२ बुँदेका बेला पनि मैले सबै दलसँग सहकार्य गरेको छु। अहिलेको सहकार्यलाई सहज रुपमा लिएको छु ।
वाम गठबन्धन छाडेर कांग्रेससँग तालमेल गर्नुभयो ? किन यस्तो हुन पुग्यो ? विश्वमा शीत युद्धकालमा उदारवादी पुँजीवादी विचार र राज्य नियन्त्रित कम्युनिस्ट विचारधारा उदायो । अहिले नयाँ धार आएको छ । मैले वाम लोकतान्त्रिक धार बनाउन खोजेको हो । वाम र लोकतान्त्रिकसँग सहकार्य हुन्छ । अहिले हामी वाम र लोकतान्त्रिक दुवै धारकासँग उत्तिकै दुरीमा छौँ ।
कम्युनिस्ट गठबन्धनले देशमा ठुलो संकट ल्याउँछ । यदि सत्तामा पुग्नुभएछ भने पनि देशभित्र र बाहिरको पनि लगानी आउँदैन । पश्चिम बंगालको जस्तै आर्थिक संकट यहाँ आउन सक्छ ।
त्यो बेला वामका पक्षधरका दलहरु अत्यन्तै असहिष्णु देखिनुभयो, निषेध नै गरेर जान खोज्नुभयो । स्टालिनकालमा माक्र्सवादको भ्रष्टीकरण भएर आफ्ना विरोधीहरुलाई आक्रमण गर्ने अनि भौतिकरुपमै समाप्त गर्ने काम भएको थियो, त्यस्तै व्यवहार उहाँहरुले देखाउनुभयो । स्टालिनकालको जस्तै धङधङी केही नेताहरुले देखाउने प्रयास गरे । त्यही कारण सहकार्य हुन सकेन । चुनावी तालमेल हो पार्टी एकीकरण होइन ।
तीन वामसँग तपाइँले एकीकरण नै भन्नुभयो, किन हतार भएको थियो र ?हो, त्यतिबेला मैले हतार नै गरेको रहेछु, म केही भ्रममा परेको रहेछु । एमाले संसदीय दलको कार्यालयमा संयुक्त वक्तव्य बनाउँदा संयुक्त कम्युनिस्ट केन्द्र बनाउने कुरा भएको थियो । त्यो बेला मैले कम्युनिस्ट केन्द्र बनाउनुको औचित्य छैन भनेको थिएँ । त्यो बेला कम्युनिस्ट केन्द्रको विकल्पमा समाजवादी केन्द्र बनाउन प्रस्ताव गर्दा केही नेता राम्रो कुरा हो पनि भनेका थिए । त्यो बेला केहीले अहिले चुनावी तालमेल मात्रै हो भनेकाले म विश्वासमा परेँ ।तर, उहाँले पुरानै कम्युनिस्ट पार्टीकै गठबन्धन गरेर, कम्युनिस्टकै व्यानरमा हिँड्ने देखेपछि मैले त्यसलाई उपयुक्त ठानिनँ । नेपालको विकास र विश्व परिदृश्य हेर्दा त्यो उपयुक्त थिएन। मेरो अडान भनेको हामीले भर्खरै सामन्तवादको अन्त्य गरेकाले राष्ट्रिय औद्योगिकीकरण गरी निजी उद्योगलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने थियो । विदेशी लगानीका लागि विश्वासनीय वातावरण नबनाइ वितरण र समाजवादका कुरा गर्ने बाटो भनेको अत्यन्तै संक्रिण र जडसुत्रवादी देखेपछि मैले नयाँ शक्तिलाई नै विकास गर्नेतर्फ लागेको हो ।
कम्युनिस्ट पार्टीको औचित्य छैन भन्दैहुनुहुन्छ । कम्युनिस्ट सिद्धान्त काम छैन भन्नुभएको हो कि यो तत्कालीन प्रतिक्रिया हो ? मार्क्सवादको सैद्धान्तिक प्रस्तावना द्वन्द्वात्मक भौतिकवाद अहिलेसम्म सही र सत्य छ । तर, त्यसको राजनीतिक र आर्थिक पक्षमा अब लागू हुँदैन । अब एक दलीय शासन लाद्न सकिँदैन । एमालेले बहुदलीय जनवादसँगै त्यसलाई छाड्यो । माओवादीले म हुँदै छाडेको हो । अब हामीले जनता र पार्टीलाई भ्रम छर्नु उचित हुँदैन त्यही कारण मैले समाजवादी नीति अपनाउनुर्पछ ।
नयाँ शक्ति पार्टी अब सोसियल डोमेक्रयाटिक पार्टी हो ? हामी सोसियलिस्ट डेमोक्रेटिक पार्टी भन्न रुचाउँछौ । सोसियल डेमेक्रेटिक मात्रै भन्दा नवउदारवाद हावी भए जस्तो आउँछ । यसमा चाहिँ हामी व्यक्तिको निजी स्वतन्त्रता र सामाजिक न्यायको हित पनि कदर होस भनेर हामी सोसियलिस्ट डेमोक्रेटिक बाटोमा जाँदैछौँ ।
हिजो एउटै पार्टीमा भएका साथीसँग प्रतिस्पर्धा छ, के भन्नुहुन्छ ? हिजोदेखि जनताकोबीचमा काम गरिरहेको छु । मलाई माया गर्नुभएको छ । उहाँको कर्मथलो यहाँ थिए । उहाँले मलाई निषेध नै गर्न खोज्नुभयो । यसलाई जनताले रुचाएका थिएनन् । म हिजोदेखि जनताको हितमा क्रियाशील छु । ४० वर्षदेखि योगदान दिएकाले मलाई जनताले जिताउँछन् भन्ने विश्वास छ।
सुरुमा तपाइँले मिलेर जाऊँ भन्दा मान्नु भएन रे हो ? पहिले पनि जितेकाले म स्वतः उम्मेदवार हो । मेरै पालामा बूढीगण्डकी परियोजना, मध्यपहाडी लोकमार्ग र अन्य विकासका योजना ल्याएको हो । तर मैले जुन क्षेत्रमा योगदान दिएँ, मेरो साथीले त्यहीँ जिद्धी गर्नुको कारण मैले बुझेको छैन ।
जनतााबाट के अपेक्ष पाउनुभएको छ ? जनताले अहिले छिटो विकास र समृद्धि हुनुपर्छ । बाटा घाटा पुल पुलेसा बन्नुपर्छ भन्ने पाएँ । अहिले अत्यन्त क्रियाशील महिला र आमाहरु पाएँ । उहाँहरु आफ्नो पूर्वाधार आफैँ बनाउन सक्रिय हुनुभएको छ ।
जनयुद्धमा हुनुहुन्थ्यो, अहिले त्यो बाटो छाडेर अलग हुनुहुन्छ ? के भन्नुहुन्छ । मैले जनयुद्धको बाटो छाडेको होइन । बाटो पुरा भयो र नयाँ बाटोमा लाग्यो पनि नभन्नु । यो एउटा राजनीतिक प्रक्रिया हो । जनयुद्धले संविधासभाबाट गणतन्त्रसम्म पुर्यायो । शास्त्रीय रुपमा रुसी क्रान्ति जस्तो सबै ठाउँमा सम्भव छैन । अब आर्थिक क्रान्तिबाट समाजवादमा पुग्नुपर्छ भनिरहेको छु मैले ।
समृद्धि आफ्नै पालामा कहिले पुरा होला ? आगामी २०४० सम्म नेपाल मध्यमस्तरबाट उच्चस्तरसम्म पुग्न सक्छ । त्यो अहिले पनि सम्भव देख्नुछ । नयाँ शक्ति तत्कालै ठुलो पार्टी नबन्ला । अहिले राष्ट्रिय पार्टी बन्यो भने हामी अघि बढ्छौँ । कम्युनिस्ट गठबन्धनले देशमा ठुलो संकट ल्याउँछ । यदि सत्तामा पुग्नुभएछ भने पनि देशभित्र र बाहिरको पनि लगानी आउँदैन । पश्चिम बंगालको जस्तै आर्थिक संकट यहाँ आउन सक्छ । लोकतान्त्रिक गठबन्धनमा पनि राजनीतिक एजेन्डा मात्रै छन्, आर्थिकरुपमा सम्मुनत हुने योजना छैन । त्यसकारण पनि हामी यो ध्रुवीकरणबाट हामी अघि बढ्न सक्छौँ भन्ने विश्वास छ ।
विस्तृत अन्तरवार्ता यहाँ हेर्नुहोस्