किरण प्रधान: के सोचें मैले के भयो अहिले

घरमा आमा बुबालाई भन्दै नभनि भाग लिएको प्रतियोगितामा प्रथम भई उनले ट्रफीसँगै सात सय रुपैयाँसमेत जिते । आफूले पाएको विजयको खु्शीको खबर घरमा गएर बुबालाई सुनाउन त सुनाए उनले । तर बुबाले स्यावासी दिनु त कता हो कता उल्टै गाली गरे । भोलिपल्ट बुबाले नै गाउभरि मेरो छोराले पुरस्कार जितेर आयो भनेर सुनाउँदै हिडेपछि त किरणलाई के चाहियो ?

किरण प्रधानले गीत गाउनकैलागि दार्जिलिङदेखि काठमाडौंसम्मको दुरी छिचोले । डाक्टर बनाउने बाबुको सपनालाई लत्याएर गीत गाउदै हिंडिदिएकोमा उनले थुप्रैपटक गाली पनि खानुपर्यो । तर संगीतप्रतिको अद्भूत जुनुन र उनीभित्र निहीत प्रतिभाले उनले तत्कालीन समयका संगीतका महारथीहरु नातिकाजी र गोपाल योञ्जनसम्मलाई रिझाए ।

आफ्नो स्वरको जादूले लाखौं श्रोता दर्शकलाई आफ्नो प्रशंसक बनाए । तर त्यतिबेलै उनी यस्तरी अलप भैदिए,त्यसपछि नेपाली संगीत क्षेत्रमा उनी नोटिस हुने गरि कहिल्यै झुल्किएनन् । त्यसो त उनी देशको राजधानी काठमाडौंकै बासिन्दा बनेका छन् तर सयौं संख्यामा रहेका रेकर्डिङ स्टुडियोहरु उनकालागि टाढा लाग्दै गयो । गाउन भनेपछि महिहत्ते गर्ने किरणलाई पनि कहिले काहीं लाग्छ–के सोचें मैले के भयो अहिले ।
००००००
हुन त किरण विशुद्ध गायक हुन् । किनभने उनी श्रोता र दर्शकको मनछुने गीत गाउछन् । उनका पारखी श्रोता दर्शकहरु भन्छन्–किरणको स्वरमै जादू छ । शिक्षा क्षेत्रकालागि उनी आदरणीय किरण सर हुन् भने चलचित्र क्षेत्रमा नेपालमा पहिलो पटक भिडियो चलचित्र बनाउने उनी नै थिए । भूल हो तेरो,माया प्रीतिको चोखो कथा,के सोचे मैले के भयो अहिले..यी गीतहरु नेपाली गीत संगीत क्षेत्रका मखमली गीतहरु हुन् । र, यी गीतहरुका गायक उनै किरणहुन् ।

-दीपेन्द्र दोङ तामाङ

बुबा जगतनारायण प्रधान तथा आमा लक्ष्मी प्रधानका सुपत्र किरण प्रधानको जन्म विक्रम सम्वत २०१० साल श्रावन २८ गते दार्जिलिङमा भएको हो । सम्पन्न परिवारमा जन्मिएका उनको अधिकांश बाल्यकाल मामाघरमा नै बित्यो । यसैपनि मामाघर भन्नासाथ मायाको खानी त्यसमाथि झन उनका त ६,६ जना मामाहरु । मामाहरुको माया नै मायामा हुर्किएर होला उनी बाल्यकालमा साह्रै बदमास र छुकछुके स्वभावका थिए। बालसुलभ बदमासी गर्दै हुर्किएको आफ्नो बालापनलाई अहिले पनि खूब मिस हुने उनी बताउछन् ।

बाल्यकाल भनेकै यस्तै त हो, खेल सँगसँगै बिभिन्न बदमासी। तर स्वभावले जतिसुकै बदमास भएपनि पढाइमा भने किरण राम्रै विद्यार्थी थिए । उनका बुबा जगतनारायण शिक्षक थिए । बुबाको सपना छोरालाई डाक्टर बनाउने थियो । तर आफू ताक्छु मुडो बन्चरो ताक्छ घुँडो भने जस्तो बुबाको सपना छोरालाई डाक्टर बनाउने, यता छोराको रुची भने गीतसंगीततर्फ । सानै उमेरदेखि कतै गीत संगीत सुनियो कि खुट्टा हल्लाईहाल्ने स्वभावका थिए किरण ।

सानै उमेरदेखि गीतसंगीत मनपराउने उनी अलि ठूलो भएपछि तारादेवी,प्रेमध्वज प्रधान,बच्चुकैलाशका गीतहरु सुन्नुको साथै स्कूलमा साथीहरुको माझ टेबुल ठट्टाएर खूबै गाउथे । उनको गीत सुनेर मख्ख हुनेसाथीभाइहरुले तिम्रो स्वर धेरै राम्रोछ नेपाल गएर रेडियो नेपालमा गीत रेकर्ड गर्नुपर्छ भनेर खूब हौस्याउथे । नभन्दै अजींगरको आहारा दैवले पुर्याइदिन्छ भने जस्तै उनको बुबाको जागीर काठमाडौंमा सरुवा भयो । त्यसपछि बुवासँगै किरण पनि नेपाल अर्थात काठमाण्डौ आए।

रेडियो नेपाल र नातिकाजीको त्यो अँगालो

बुबाको डाक्टर बनाउने सपना बोकेरै काठमाण्डौ आएका प्रधानपरिवारमा भित्र भित्रै गीतसंगीतको तरंग फैलदै गएको किरणका बुबा जगतनारायणलाई भने पटक्कै मनपरेको थिएन । तर लुकिछीपी नै भए पनि किरण गीतसंगीत तर्फ अझ ढल्कदै गए । कतै गीतसंगीतको कार्यक्रम हुने सुईको पाउने वित्तिकै हेर्न वा सके भाग लिन दौडिहाल्थे । यस्तैमा एकदिन काठमाण्डौमा गायन प्रतियोगिता हुदैछ भन्ने थाहा पाएपछि घरमा भन्दै नभनि उनले सुटुक्क भाग लिएर प्रथम हुन सफल भए।

नातिदाइले त्यसरी बीचमै रोकिदिएपछि म त होपलेश भैहालें । ल आज त विग्रिहाल्यो भन्ने चिन्ता त थियो नै,त्यसमाथि नाति दाइले के भन्ने हुन् भन्ने डर पनि थियो मनमा । त्यसैले म डराइ डराइ स्टुडियोबाहिर निस्किएँ । नाति दाइको गाली खाने निश्चित थियो मनभित्र । तर जब म बाहिर निस्किएँ, नाति दाइले आएर अँगालो हाल्नु भयो र निकै राम्रो गाएको प्रतिक्रिया दिनुभयो । उहाँले त्यतिबेलै म भ्वाईस टेस्टमा पास भएको जानकारी समेत दिनुभयो । उहाँको कुरा सुनेर मलाई त संसार नै जिते जस्तो लाग्यो ।’

यसरी घरमा आमा बुबालाई भन्दै नभनि भाग लिएको प्रतियोगितामा प्रथम भई उनले ट्रफीसँगै सात सय रुपैयाँसमेत जिते । आफूले पाएको विजयको खु्शीको खबर घरमा गएर बुबालाई सुनाउन त सुनाए उनले । तर बुबाले स्यावासी दिनु त कता हो कता उल्टै गाली गरे । भोलिपल्ट बुबाले नै गाउभरि मेरो छोराले पुरस्कार जितेर आयो भनेर सुनाउँदै हिडेपछि त किरणलाई के चाहियो ? गीत गाउन उनलाई थप हौसला मिल्यो । यसरी स्कुलको टेबुल ठट्टाएर गाउन शुरु गरेका उनको गायनयात्रा अन्तत रेडियो नेपालसम्म पुगेरै छाड्यो,जुन हरेक गायक गायिकाको गन्तव्य थियो ।

त्यतिबेलाका उनका साथी राजु तुलाधर अनि अनिल प्रधानको सल्लाहमा रेडियो नेपाल पुगेका उनले पहिलो पटक नै वरिष्ठ संगीतकार नातिकाजीको सामुन्ने गीत गाउनु परेको थियो । त्यसलाई उनी अविस्मरणीय पलका रुपमा अझै समझन्छन् । बिक्रम सम्बत २०२७ भदौमा रेडियो नेपालमा भ्वाईस टेष्टको लागि उनले आफनै गीत मलाई त मेरो डम्फुको ताल मनपर्छ गाएका थिए । पछि नातिकाजीले अर्काे गीत गाउन आग्रह गरेपछि उनले तारादेवीको कालिपारि दाइ कति राम्रो गीत गाए । उनले गीतको पहिलो अन्तरा मात्र के गाएका थिए बाहिरबाट नातिकाजीले ‘भयो भयो’ भन्दै हात उठाएर रोकिदिए ।

यसरी नातिकाजीले गीत गाउदा गाउदै बीचैमा रोकिदिएपछि आफनो स्वर राम्रो नभएकोले गीत रोकिदिएको भन्ने उनलाई लाग्यो र मनमा चिसो पनि पस्यो । उनी सम्झन्छन्, ‘गाउँदा गाउँदै नातिदाइले त्यसरी बीचमै रोकिदिएपछि म त होपलेश भैहालें । ल आज त विग्रिहाल्यो भन्ने चिन्ता त थियो नै,त्यसमाथि नाति दाइले के भन्ने हुन् भन्ने डर पनि थियो मनमा । त्यसैले म डराइ डराइ स्टुडियोबाहिर निस्किएँ । नाति दाइको गाली खाने निश्चित थियो मनभित्र । तर जब म बाहिर निस्किएँ, नाति दाइले आएर अँगालो हाल्नु भयो र निकै राम्रो गाएको प्रतिक्रिया दिनुभयो । उहाँले त्यतिबेलै म भ्वाईस टेस्टमा पास भएको जानकारी समेत दिनुभयो । उहाँको कुरा सुनेर मलाई त संसार नै जिते जस्तो लाग्यो ।’

भ्वाईस टेस्ट सजिलै पास भएपनि गीत रेकर्ड गराउनभने उनले ७ महिना कुर्नुपर्यो । सपना देख्नुपर्छ एकदिन अवश्य पूरा हुन्छ । किरण प्रधानले दार्जिलिङमा छँदा नै देखेको रेडियो नेपाल गएर गीत रेकर्ड गराउने सपना विक्रम सम्वत् २०२७सालमा पूरा भयो । पहिलो पटक नै किरणले आफनै शब्द र संगीतमा मलाई त मेरो डम्फुको ताल मनपर्छ बोलको गीत रेकर्ड गराए । त्यसबापत उनले पारिश्रमिक स्वरुप ३५ रुपैया पाए। त्यो उनको जीवनकै पहिलो पारिश्रमिक थियो ।

गोपाल योञ्जनको बोलावट र उनको डायरी

यसरी गीत गाउँदै जाने क्रममा उनको स्वरको माधुरी उडेर गोपाल योनञ्जनसम्म पुग्यो । एकदिन गोपाल योन्जन आफैँले उनलाई भेट्न बोलाए । किरण पनि गोपाल योन्जनलाई भेट्न साहै आतुर थिए । जब उनले गोपाल योन्जनलाई भेटे,सानो औपचारिक कुराकानी पश्चात उनलाई गीत गाउन आग्रह गरे गोपालले । त्यति महान् हस्तीको अगाडी गीत गाउदा डरले हातखुट्टा लगलग काम्यो उनको । तर पनि उनले जसोतसो गीत गाएर सुनाए । किरणको गीत सुनेपछि, उनलाई एउटा गीत गाउन लगाउने निधो गरेर आफनो डायरी किरण सामु राख्दै गोपालले ल एउटा गीत छान भने ।

किरणले डायरी पल्टाउदै गए । उनले सुरुमा मायालु हजार हुन्छन् बोलको गीत छाने । तर उक्त गीत पहिले नै ध्रुब केसीले गाईसकेका रहेछन् । किरणले फेरी पान्ना पल्टाउदै गए । उनी एउटा पान्नामा पुगेर टक्क अडिए । गीतको सुरुको लाईनले नै उनको नजरलाई चुम्बकले झै तान्यो । यसो पढे, त्यो लाईन उनलाई खुबै मनपर्यो, तर मनमा शंका लाग्यो । यो गीत पनि कसैले गाईसकेको त छैन ? उनले झट्ट गोपाल योञ्जनलाई सोधिहाले । योञ्जनले त्यो गीत कसैले नगाको जबाफ दिएपछि उनले त्यही गीत गाउले निधो गरे । गोपाल योञ्जनको गीत गाउन कहाँ सजिलो थियो र ? करिब १ महिनाको निरन्तर अभ्यासपछि बल्ल उक्त गीत रेकर्ड भयो । त्यही गीत किरण प्रधानको टर्निङ्ख प्वाइन्ट बन्यो । त्यो गीत थियो भूल हो तेरो…..।

यसरी गोपाल योञ्जन क्याम्पमा प्रवेश पाएका किरणले त्यसपछि पनि थुप्रै गीत गोपाल योञ्जनकै गाए । शब्द र संगीतको सागरमा डुबेर गोपालले टिपेर ल्याएका ती मोतीहरुको चमकले किरणको सांगीतिक व्यक्तित्व अझ उज्वल बन्दै गयो ।

पाश्र्व गायन र स्क्रिन मोह

यसरी आधुनिक गीतहरुमा राम्रो पकड जमाउँदै एकपछि अर्काे हिट गीत दिइरहेको अवस्थामा किरण प्रधानलाई अर्काे उचाईमा पुग्ने मौका जुर्यो । हरेक गायक गायिकाको एउटै सपना हुन्छ पाश्र्व गायक गायिका बन्ने । त्यस्तै सपना किरण प्रधानसँग पनि थियो । उनको पाश्र्व गायक बन्ने सपना पुरा हुनुकोसाथै अर्काे उचाईमा पुरयाईदियो ।

भूल हो तेरो….गीतपछि किरणले क्रमशः भन्ज्याङ्खको डीलमा बसी,पत्थरको मुटु बोकेर जस्ता एकपछि अर्काे कालजयी गीत गाउने अवसर पाए । तर उनको एउटा सपना भने अझै अधुरै थियो । त्यो सपना थियो चलचित्रको पाश्वर्य गायक बन्ने । कर्म गर्दै जानुपर्छ,फल आफैं फल्छ भने जस्तै निरन्तरको सांगीतिक कर्मपछि एकदिन किरण प्रधानको पाश्र्व गायक बन्ने सपना पनि पूरा भयो चलचित्र अर्को जन्मबाट । उक्त चलचित्रका लागि उनले टोलाउँदै हेर्छ विधाता बोलको गीत गाएका थिए । त्यसपछि उनले अरु थप चलचित्रहरुकालागि समेत पाश्र्व गायनको अवसर पाउँदै गए ।

त्यसबीचमा उनले चलचित्र मायाप्रीतिका लागि शीर्ष गीतसँगै अरु गीतहरु पनि गाए । गोपाल योञ्जनको संगीतमा रहेका ती गीतहरु खूबै मन पराइए । त्यसपछि चलचित्र सम्झनाकालागि पनि उनले एउटा गीत गाए । त्यो गीत थियो के सोचे मैले के भयो अहिले Þ । यो गीतको नारी संस्करणमा चर्चित भारतीय गायिका आशा भोसलेको स्वर थियो । तर किरणले गाएको यो गीत पनि आÞशा भोस्लेको जत्तिकै चर्चित भयो । जसलाई उनी आफ्नो करियरकै ठूलो सफलता ठान्दछन् ।

यसरी पाश्र्व गायनमा समेत जम्दै गएका उनले थुपै्र चलचित्रकालागि उत्कृष्ट गीत गाए। त्यसबीचमा उनको चलचित्रकर्मीहरुसँग बढी हिमचिम हुन थाल्यो । त्यसले चलचित्रमा उनको रस पस्दै गयो । फलस्वरुप उनले आफ्नै निर्देशनमा प्रयास नाम भिडियो चलचित्र बनाए । उनले निर्माण गरेको प्रयास नेपालको पहिलो भिडियो चलचित्र थियो । त्यसपछि भिडियो चलचित्रको लहर यस्तरी आयो कि त्यसले सेल्युलाइड चलचित्रलाई समेत छायाँमा पर्ने अवस्था थियो ।

यो पचासको दशकको शुरुवाती वर्षहरुसम्मै कायमै थियो । प्रयासपछि किरण ठूलो पर्दाकै चलचित्र निर्देशन गर्न कस्सिए । र, उनले आफ्नै निर्माण र निर्देशनमा कस्तुरी नामक चलचित्र बनाए । जुन युरोपको लण्डनमा छायांकन गरिएको पहिलो नेपाली चलचित्र थियो । गायनमा मज्जाले जमेका किरण चलचित्रमा भने उत्ति जम्न सकेनन् । त्यसैले उनले दोहोर्याएर चलचित्र बनाउने प्रयास गरेनन् । तर आफूलाई वहुआयामिक प्रतिभाका रुपमा चिनाउन भने उनी सफल भए ।

किरणलाई छेकिदिने ४७को त्यो कालो दिन

नेपाली कलाकारिता क्षेत्रमा छुट्टै पहिचान बनाईसकेका किरण प्रधानको जिन्दगीमा २०४७ साल दुखद सालका रुपमा रह्यो । त्यही साल उनको बुबाको निधन भयो । बुबा जगतनारायणको निधन पश्चात घरपरिवारको सम्पूर्ण जिम्मेवारी जेठो छोरा किरणको काँधमा आइपर्यो । त्यसपछि घरव्यवहार सम्हाल्दै जाने क्रममा उनको कलायात्रा छुट्दै गयो । कालान्तरमा उनको कलाकारिता क्षेत्रमा लगभग पूर्णबिराम नै लाग्यो ।

कलाकारिता क्षेत्रमा राम्रो पकड जमाई रहेको अवस्थामा बिक्रम सम्बत २०४७ सालमा किरणका बुबा नराम्रोसंग थला परे । १६ दिनको अस्पताल उपचारपछि वुवा जगतनारायणको निधन भयो । बुबाको निधनपश्चात घरपरिवारको सम्पूर्ण जिम्मेवारी घरको जेठो छोरो उनकै काँधमा आइपर्यो । अझ त्यसमाथि पनि बुबाको स्कुल सम्हाल्ने ठुलो जिम्मेवारी पनि उनैले लिनुपरयो । त्यसपछि उनले कलाकारिता क्षेत्रमा फर्केर हेर्न पनि भ्याएनन् । बिक्रम सम्बत २०३३ सालमा उनको बुबाले काठमाडौंको बालाजुमा स्थापना गरेको होली गार्डेन बोर्डिङ हाई स्कुलमा बुबाको निधनपश्चात २०४७ सालदेखि प्रिन्सिपलको पद सम्हाल्न थालेका उनी आजसम्म पनि त्यही कार्यरतछन् ।

एकदिन किरण आफ्नो साथीसँग कतै जाँदै थिए । बाटोमा जादै गर्दा उनको नजर बाटोमा हिडिरहेकी एउटी सुन्दर युवतीमा गएर अडिए । उनी सँगै गएका साथीले झक्झकाएपछि बल्ल झसङ्ख भए उनी । संयोगले ती युवती उनकै साथीका चिनजानका परेछन् । पछि तिनै साथी मार्फत किरण ती युवतीसँग नजिकिदै गए। उनलाई धेरैपछि मात्र थाहा भयो ती युवतीको नाम दिव्यलक्ष्मी श्रेष्ठ रहेछ।

स्कूलको व्यवस्थापन सम्हाल्दा सम्हाल्दै तीन दशक वितिसकेको उनले पत्तै पाएन । परिबन्धले गीत संगीतबाट टाढा बनाए पनि उनको मनमा भने सधैं गीत संगीतले नै डेरा जमाइरहन्थ्यो । भोलि गरौंला,अलि पछि गरौंला भन्दा भन्दै गायन क्षेत्रमा उनी आफैं पछि पर्दै गए । यसरी पछि पर्नुको तुष मनमा कता कता रहनु स्वभाविक नै हो । तर परिबन्दको चाङ आँखै सामुन्ने भएकोले ग्लानीबोध भने कत्ति पनि छैन उनमा ।

गायनक्षेत्रमा जसरी किरण प्रधानका रुपमा उनी दर्शक श्रोताको रोजाइका गायक थिए अहिले स्कुलमा पनि विद्यार्थी र सहकर्मी शिक्षकहरुका आदरणीय किरण सरका रुपमा परिचित छन् । यसैमा उनी सन्तोक मान्दछन् । अर्को कुरा उनलाई बच्चाहरुसँग बसेर रमाईलो गर्न खुबै मनपर्छ। त्यसैले त शिक्षण क्षेत्रमा तीन दशक कसरी र कतिखेर वित्यो, सम्झदा उनी आफैं दंग पर्छन् ।

डिएसपीका छोरीलाई फिल्मी शैलीमा भगाउँदा….

गायनक्षेत्रमा राम्रो ख्याती प्राप्त गर्दै चलचित्रमासमेत परिचय बनाई सकेका किरण प्रधानको जीवनमा चलचित्रको कथा जस्तै लाग्ने अनेक क्षणहरु आए । त्यसैमा पर्छ उनको विवाहको प्रसँग । शुरुमा सुन्दा सबैलाई कुनै रोमान्टिक चलचित्रको काल्पनिक प्लट जस्तै लाग्छ ।

गायनक्षेत्रमा लागेर किरण प्रधानले नाम,दाम र काम त पाए,जीवनसंगीनी समेत उनले गायन यात्रामा हिड्ने क्रममै भेटे । एकदिन किरण आफ्नो साथीसँग कतै जाँदै थिए । बाटोमा जादै गर्दा उनको नजर बाटोमा हिडिरहेकी एउटी सुन्दर युवतीमा गएर अडिए । उनी सँगै गएका साथीले झक्झकाएपछि बल्ल झसङ्ख भए उनी । संयोगले ती युवती उनकै साथीका चिनजानका परेछन् । पछि तिनै साथी मार्फत किरण ती युवतीसँग नजिकिदै गए। उनलाई धेरैपछि मात्र थाहा भयो ती युवतीको नाम दिव्यलक्ष्मी श्रेष्ठ रहेछ।

तर जुन परिवारमा प्रेममा तगारो हाल्ने आमा बुबा थिए, त्यही परिवारमा सहयोग गर्ने बहिनीहरु पनि थिए । किरण र दिब्यलक्ष्मीकी बहिनीहरु क्लासमेट थिए । चिठीपत्रको त्यो जमानामा उनीहरुको प्रेमपत्र ओसारपसार गर्ने हुलाकी ती बहिनीहरु नै थिइन् । उनीहरुकै सहायतामा अन्ततः बिक्रम सम्बत २०३२ सालको फागुनमा किरण र दिव्यलक्ष्मीले भागीबिबाह गरे ।

उता दिव्यलक्ष्मीलाई भने पहिलो भेटले खासै असर परेन । किनभने त्यतिखेर उनको मनमा किरणप्रति त्यस्तो कुनै फिलिङ्स थिएन । पछि साथी साथी मार्फत दोश्रो भेटघाट भएपछि बल्ल उनले किरण प्रधान गायक भन्ने थाहा पाए । त्यसपछि किरणप्रति अलि आकर्षित भएकी उनी थाहै नपाई प्रीति बसेको बताउछिन् । किरण अनि दिब्यलक्ष्मीबिच बिस्तारै भेटघाट बढ्नथाल्यो । त्यतिखेर उनी किरणलाई दाइ भनेर सम्बोधन गर्थिन् । हरेक भेटघाटमा दिव्यलक्ष्मीले दाइ एउटा गीत सुनाउनुस् न भन्थिन् । उनको फर्माइसमाकिरण घन्टौंसम्म गाउँथें, सुनेर बस्थिन् दिव्यलक्ष्मी ।

हुन त एउटै समुदायका उनीहरुको मागी बिबाह गरेपनि सहजै हुनुपर्ने हो । तर प्रधान दम्पतिलाई त्यति सजिलो भएन आफ्नो प्रेमलाई पूर्णत दिन । दार्जिलिङ्गे केटालाई सजिलै छोरी दिन मानेनन् दिब्यलक्ष्मीका बुबा आमाले । काठमाण्डौ बाहिरको केटोले बिबाह गरेर छोरीलाई लगेर कतै अलपत्र पारिदिने हुन् कि भन्ने आशंका थियो दिव्य लक्ष्मीका आमा वुवाको मनमा । कतै छोरीलाई लगेर बेचिदिने पो हुन् कि भन्ने सोचेर उनीहरुले छोरी दिन पटक्कै मानेनन् । आमा बुबाले छोरी दिन नमानेपछि यी प्रेमजोडीले भागेर जाने निधो गरे । तर दिब्यलक्ष्मीलाई भगाउनु चानचुने कुरा थिएन । एक त उनी काठमाण्डौकी नेवार चेली छिसिक्क केही भयो कि हल्ला फैलिहाल्थ्यो । त्यसमाथि झन् दिब्यलक्ष्मीका बुबा त्यतिबेलाका नेपाल प्रहरीका डिएसपी ।

तर जुन परिवारमा प्रेममा तगारो हाल्ने आमा बुबा थिए, त्यही परिवारमा सहयोग गर्ने बहिनीहरु पनि थिए । किरण र दिब्यलक्ष्मीकी बहिनीहरु क्लासमेट थिए । चिठीपत्रको त्यो जमानामा उनीहरुको प्रेमपत्र ओसारपसार गर्ने हुलाकी ती बहिनीहरु नै थिइन् । उनीहरुकै सहायतामा अन्ततः बिक्रम सम्बत २०३२ सालको फागुनमा किरण र दिव्यलक्ष्मीले भागीबिबाह गरे ।

त्यसरी फिल्मी शैलीमा विवाह गरेका यी जोडीले विवाहको ४२ औ वसन्त पार गरिसकेका छन् । अहिले प्रधान दम्पतिका ३ सन्तान् छन् २ छोरी र एक छोरा । दुवै छोरी डाक्टर छन् । जेठी छोरी डा जोत्सना प्रधान र कान्छी छोरी डा ज्यास्मिन प्रधान । उनीहरु हाल अष्टेलियामाछन् । छोरा कुलदीप प्रधान भने युकेको एक युनिभसिर्टीमा पढाउछन् । तीनै जना छोराछोरीको घरजम हुनुको साथै अहिले किरण हजुरबुबासमेत भैसकेकाछन् ।

अहिले फर्केर हेर्दा किरण आफ्नो जिन्दगी सफलकै श्रेणीमा देख्छन् । यसमा श्रीमती दिव्यलक्ष्मीको ठुलो हात रहेको उनी स्वीकार्छन् । हरेक पलमा श्रीमानलाई होस्टेमा हैंसे गर्दै उनले असल श्रीमती हुनुको दायित्य पुरा गरिरहिन् । किरण प्रिन्सिपल हुदा उनी भाईस प्रिन्सिपल रहेर घर र बालबच्चासंगै अफिसको काममा समेत साझेदारी गरिन् । श्रीमान,बालबच्चा र अफिसको कामबाट पहिलै झन्झट मानिनन् उनले । त्यसैले त प्रधान दम्पति समाजकै लागि उदाहरणीय जोडी बनेका छन् ।

फेरि किरण झुल्किने आशा

किरण प्रधान जति प्रतिभावान थिए,त्यसलाई उनको जागीरे जीवनले थिचिराखेकोमा उनका शुभचिन्तकहरुको सदैव गुनासो रहँदै आएको छ । जति नै व्यस्त भए पनि,जति नै जिम्मेवारी आइपरे पनि आफूभित्रको गायन प्रतिभालाई मर्न दिन नहुने उनीहरुको किरणलाई सुझाव छ । समय निकै घर्कीसकेको छ तर ढिला नै भैसकेको भने होइन । त्यसैले अब समय मिलाएर फेरि गीत संगीतमा सक्रिय बन्न शुभ चिन्तक र साथीहरुले किरणलाई दबाब दिइरहेका छन् ।

बहुमुखी प्रतिभाका धनी किरण प्रधान गायन, अभिनय,चलचित्र निर्देशनसँगै हस्तकलामासमेत उत्तिकै पोख्त छन् । यति धेरै प्रतिभाका धनी प्रधान विगत ३ दशकदेखि स्कूलको व्यवस्थापनमै व्यस्त रहे । यसले उनीभित्रको प्रतिभा खुम्चिन थालेकोमा उनका शुभ चिन्तकहरुको गुनासो छ । त्यसैले उनका शुभ चिन्तक,आफन्त र साथीभाइ उनलाई पुनः गायन क्षेत्रकालागि पनि केही समय छुट्याउन सुझाव दिन्छन् ।

शिक्षण पेशामा लागिसकेपछि किरणले गीत संगीत क्षेत्रलाई चटक्कै माया मारेका भने होइनन् । उनले बीचबीचमा ३ पटक एकल साँझमा उपस्थित भएर दर्शक र श्रोताहरुलाई आफ्नो गायकीले रिझाएर सम्बन्धको नवीकरण गर्ने कार्य भने नगरेका होइनन् ।

प्रधानकै निर्देशनमा बनेको चलचित्र कस्तुरीमा पहिलोपटक क्यामरा सम्हालेका बरिष्ठ छायाँकार गौरीशंकर धँजु किरणका बाल्यकालदेखिका साथीसमेत हुन् । गौरीशंकर किरणका बुबाका बिद्यार्थी थिए । त्यसैले गौरीशंकर किरणसंगै उनका परिवारसँगसमेत नजिकछन् । आफूलाई चलचित्र क्षेत्रमा डोर्याउन ८० प्रतिशत हात किरणकै रहेको गौरीशंकर बताउछन् ।

त्यस्तै अर्का अभिनेता रविन्द्र खड्का पनि किरणका सहकर्मी हुन् । रविन्द्रको पहिलो चलचित्र मायाप्रीतिका पाश्र्व गायक किरण थिए । त्यस यता दाजुभाइको जस्तै सम्बन्ध विस्तार भएको बताउने रबिन्द्रको नजरमा किरण मिलनसार साथी हुन् । साथै किरणलाई उनी बहुमुखी प्रतिभाका धनी ठान्दछन् । यस्तो बहुप्रतिभाशाली ब्यक्ति व्यवसायिक व्यस्तताको कारण जनाउँदै नेपथ्यमा खुम्चिरहेकोमा उनलाई पटक्कै चित्त बुझेको छैन । कमसे कम बर्षमा १,२ वटा भएपनि नयाँ गीत गाउन अनुरोध छ उनको किरण प्रधानलाई ।

त्यसो त शिक्षण पेशामा लागिसकेपछि किरणले गीत संगीत क्षेत्रलाई चटक्कै माया मारेका भने होइनन् । उनले बीचबीचमा ३ पटक एकल साँझमा उपस्थित भएर दर्शक र श्रोताहरुलाई आफ्नो गायकीले रिझाएर सम्बन्धको नवीकरण गर्ने कार्य भने नगरेका होइनन् । तर अझ यो भन्दा बढी सक्रिय भएर गीत संगीत क्षेत्रमा फर्केर आउन उनका श्रोता,दर्शक र शुभचिन्तकहरुले गरेको आग्रह र अपेक्षाले कुनै दिन किरणको मन पग्लेला कि ?

प्रतिक्रिया दिनुहोस्
विशेष

गणेश आचार्य दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको निर्वाचन मार्फत जनताले भारतलाई ठुल्दाइ मान्नेहरुलाई अस्वीकार गरेको…

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ।…

काठमाडौं । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी…

कैलाली । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा विजयी रेशम चौधरीका वारेसलाई निर्वाचन जितेको प्रमाणपत्र दिइएन । निर्वाचन आयोगाबाट उम्मेदवार…

काठमाडौँ । समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमालेले फराकिलो अग्रता बनाइरहेको छ । गणनाको सुरूवातमा कांग्रेससँग करिब १० हजारको मात्रै अग्रता…

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन् । यसअघि नेपाली कांग्रेसले निरन्तर…