आजको निर्वाचनमा कहाँ के भयो ? जान्नुस यी १३ रोचक घटना

काठमाडौँ । दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सोचेभन्दा शान्तिपूर्ण भएको छ । देशका ४५ पहाडी र तराईका जिल्लामा भएको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण भएको हो ।

तर, ती जिल्लामा मतदानका क्रममा केही रोचक घटना भएका छन् । कहीँ पैसा नपाएर मतदाता भोट हाल्नै गएनन् भने कहीँ मतदान गर्न जाँदा मतदाताले ज्यान गुमाए । आउन कहाँ के भयो विस्तृतमा चर्चा गरौँ ।

पैसा दिएपछि मत हाल्न गए गाउँले

दलहरुले पैसा बाँडेपछि जिल्लाको एउटा गाउँका मतदाता भोट हाल्न गएका छन् । पैसा नदिएसम्म भोट नहाल्ने अडानमा घरमै लुकेर बसेका जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाको देउवाना ‘ख’ मतदान केन्द्रका मतदाता भोट हालेका हुन् ।

दलका प्रतिनिधिले घर घरमा पुगेर पैसा बाँडेपछि उनीहरु ट्याक्टर चढेर भोट हाल्न निस्केका थिए । अल्पसंख्य र दलित समुदायको बस्ती रहेको देउवाना गाउँका अधिकांश मतदाता घरैमा बसेका थिए । उनीहरु जसले पैसा दिन्छ, उसैलाई मतदान गर्ने भन्दै मतदान केन्द्रमा गएका थिएनन् ।
यस्तो समस्या तराई मधेसका धेरै जिल्लामा रहेको छ । पैसा नपाएसम्म मतदान नगर्ने अडानमा बसेका देउवानाका मतदातालाई पैसा दिएर ट्याक्टरमा राखी मतदान गराउन लगिएको हो ।

११९ वर्षीयाबाट मतदान

डडेल्धुरामा एक सय १९ वर्षकी वृद्धाले मतदान गरेकी छन् । जिल्लाको अमरगढी नगरपालिका ६ भज्नेउटा मतदान केन्द्रबाट एक सय १९ वर्षीया पर्वतीदेवी खड्काले मतदान गरेकी हुन् । मतदानका लागि उनी घरपरिवारका सदस्यको सहायतामा मतदान केन्द्र सम्म पुगेकी थिइन् ।

११६ वर्षीयबाट मतदान

बर्दियाको मैनापोखरमा रहेको शारदा मावि मतदानकेन्द्रमा ११६ वर्षीय अगनी थारुले मतदान गरेको निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

कास्कीको मादी गाउँपालिका–८ स्थित ध्रुव मावि मतदान केन्द्रवाट १०२ वर्षीय वामदेव सापकोटाले मतदान गरेका छन् । डडेलधुराको अजयमेरू गाउँपालिका वाड नं २ सहश्रलिङ्गस्थित चमडा मावि मतदा केन्द्रमा १०३ वर्षीया बेलु देवी ऐरले मतदान गरेकी छन् ।

एउटै केन्द्रबाट तीन नेताको भोट

इलामको एउटै मतदान केन्द्रबाट तीन राष्ट्रिय नेताल मतदान गरे । इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रबाट तीन नेताले मतदान गरेका हुन् ।

एमाले नेता तथा पूर्वसभामुख सुवान नेम्बाङसहित तीन नेताले यहाँबाट मतदान गरेका हुन् । यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापाले पनि सोही केन्द्रबाट मतदान गरे ।

यसै केन्द्रबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङले पनि मतदान गरेका छन्।

मतदाता संख्याः ९६०, तर शून्य मतदान

सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ स्थित महादेवा गाउँपालिका २ का स्थानीयवासीले मतदान वहिस्कार गरेका छन् ।

सिके राउतको गाउँसमेत रहेको महादेवा गाउँपालिका २ स्थित आधारभुत विद्यालयमा रहेको मतदान स्थलका स्थानीय मतदाताले मतदान वहिष्कार गरेका हुन ।

जिल्लाका कुल २९५ मतदान स्थल मध्ये २ सय ९४ मतदान स्थलमा विहान ७ बजेदेखि नै शान्तिपुर्ण मतदान सुरु भएको छ । तर उक्त स्थानमा मतदान नै भएन ।

मतदानको सम्पुर्ण तयारी गरेर बसेपनि एकजना पनि मतदाता नआएको मतदान अधिकृत धनेश्वर साहले बताए ।

आधारभुत विद्यालय मतदान स्थलमा ९६० मतदाता छन् । मतदाताहरुले पटक–पटक भएका निर्वाचन र ति निर्वाचन मार्फत चुनिएका प्रतिनिधिले विकास निर्माण र नागरीकको जीवनस्तर सुधारमा चासो नदिएकाले मतदान वहिस्कार गर्ने निष्कर्षमा पुगिएको प्रतिक्रिया दिए ।

यहाँ सिके राउतले उर्दी जारी गरेपछि मतदाता भोट हाल्न नगएका बताइए पनि स्थानीयबासीले भने त्यसबारे मुख खोल्न चाहेनन् ।

मतदान गर्न जाँदा गयो ज्यान

डोटीमा मतदान गर्न जानेक्रममा एकजना बृद्धा महिलाको मृत्यु भएको छ । खापरमाण्डौं आधारभुत बिद्यालय कोटसलेना रहेको मतदान केन्द्रमा मतदान गर्न जानेक्रममा पुर्विचौकी गाउँपालिका ठ तिमुरदहकी ७६ वर्षीया मुनादेबी कामीको मृत्यु भएको हो ।

मृतक महिला दमको रोगी भएकाले उकालोबाटो हिँड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

किरियापुत्री उम्मेदवारबाट मतदान

आमाको मृत्युपछि किरियामा बसेका नयाँशक्ति नेपालका तर्फबाट कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदावार उम्मेदवार सौगात पोखरेलले मतदान गरेका छन् ।

उनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६–बिजयपुरस्थित भवानीकालिका मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

एउटै मतदान केन्द्रमा १२ किरियापुत्रीबाट मतदान

सुनसरीमा किरियापुत्रीमा बसेका मतदाताले पनि भोट हालेका छन् । सुनसरीको क्षेत्र नम्बर १ स्थित धरान उपमहानगरपालिकाको वडा नम्बर ६ को मतदान केन्द्रमा किरियापुत्री बसेका १२ जनाले मतदान गरेका छन् ।

सरस्वती उच्च मावि मतदान स्थलमा एकै गाउँका ३ घरका १२ जना किरियापुत्रीले मतदान गरेका हुन् । नयाँ संविधान कार्यान्वयनको लागि ऐतिहासिक रुपमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भएकोले मतदान गर्न आएको किरिया पुत्री बसेका मतदाताहरुको भनाई छ । मतदानमा सहभागि बिदोन विश्वकर्माले भने, ‘यो ऐतिहासिक घडी हो । हाम्रो अधिकार सुनिश्चित गर्न, संविधान कार्यान्वयन गर्न र उपयुक्त प्रतिनिधि पठाउन पनि मतदान गर्न आयौं ।’

किरिया पुत्री बसेका विनोद विश्वकर्मा र उनकी श्रीमति देविका विश्वकर्मा, रणध्वज लोहार र उनकी श्रीमति माया विश्वकर्मा हुन् । विनोद र रणध्वजका बुबा रामबहादुरको मंसिर १६ गते देहान्त भएपछि उनीहरु किरिया पुत्री बसेका हुन् ।

यस्तै, आमा रुक्मिणादेवी अधिकारीको मृत्यु भएपछि किरिया पुत्री बसेका छोरा हरिकृष्ण अधिकारी र श्रीमति जमुना अधिकारीले पनि मतदान गरेका हुन् । यसैगरि, आमा यशोदा कट्वालको किरियापुत्री बसेका नैनबहादुर कटवाल र श्रीमति हर्कमाया कटवाल, चन्द्रबहादुर कट्वाल र श्रीमति दुर्गा कट्वाल, शिव कटवाल र श्रीमति कमला कट्वालले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए ।

मतपत्र च्यातियो, मतपेटिका फुटाइयो

मतदान अधिकृतले हस्ताक्षर नगरी मतदान गराएको भन्दै दलका प्रतिनिधिले विरोध जनाएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित एउटा केन्द्रमा मतदान स्थगित भएको छ ।

सन्धिखर्कस्थित मथुरा निमावि ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतले १३२ वटा मतपत्रमा हस्ताक्षर नगरी भोट हाल्न लगाएपछि विवाद हुँदा मतदान स्थगित भएको हो ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीको हस्ताक्षरविना १३२ जनाले मतदान गरेको थाहा पाएपछि स्थानीयबासी विरोधमा उत्रिएका थिए ।

विरोधमा उत्रेका स्थानीयबासीले मतपेटिका फुटाएर मतपत्र समेत च्यातेका छन् भने मतदान केन्द्रका फर्निचर पनि भाँचेका छन् ।

निर्वाचन अधिकृत रामचन्द्र पौडेलका अनुसार स्थानीयबासीले मतदान केन्द्र तोडफोड गरेपछि मतपत्र, मतेपटिका र अन्य निर्वाचन सामग्रीसहित निर्वाचन टोलीलाई कार्यालयमा फिर्ता बोलाइएको छ ।

अछाममा कांग्रेसको यस्तो हर्कत

चौरपाटी गाउँपालिका–५ लुंग्रामा रहेको दयापिपलतोला मावि मतदान केन्द्रमा झडप भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले फर्जी मत हाल्न खोज्दा झडप भएको स्थानीय धिराजन खड्काले जानकारी दिएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउण्ड अस्रुग्यास प्रहार गरेको छ । उक्त स्थानमा अहिले नेपाली सेनाको हेकिप्टरले हवाई गस्ती गरिरहेको छ ।

अहिले धेरैजसो मतदाता स्थानीयको घरमा लुकेर बस्न बाध्य भए । उक्त मतदान केन्द्र अछाम क्षेत्र नं १ प्रदेशसभा क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्काको मतदान केन्द्र हो ।

मतदान केन्द्रमै भोजभतेर

पाल्पाको क्षेत्र नम्बर २ तानसेन नगरपालिका–५ स्थित जनहित प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदातालाई मासुभात खुवाउने प्रतिस्पर्धा चलिरहेको छ ।

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले आ–आफ्नो पार्टीलाई भोट दिएबापत मासुभात खुवाउने व्यवस्था गरेका हुन् ।

नेपाली कांग्रेसले आफ्नो पार्टीलाई भोट दिने मतदातालाई मासु भात खुवान सुरु गरे लगत्तै नेकपा एमालेका तर्फबाट पनि मासुभातको व्यवस्था गरिएको हो ।

बारामा पनि कांग्रेसले यसो गर्यो

नेपाली कांग्रेसका कार्यकर्ताले निर्वाचन आचारसंहिता विपरित मतदातालाई मतदान केन्द्र नजिकै खाजा नास्ता बाँडेका छन् ।

मतदान गर्न जाने र मतदान गरेर आउनेहरुलाई बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१२ को फत्तेपुरमा मतदान केन्द्र अगाडि कांग्रेस कार्यकर्ताले खाजा बाँडिरहेका हुन् ।

निर्वाचन आचारसंहितामा मददान केन्द्र नजिक मतदातालाई प्रभावित गर्ने कुनै पनि गतिविधि गर्न पाइँदैन ।

जनकपुरबाट सिके राउत पक्राउ

प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा मधेसमा राष्ट्र विखण्डन अभियान चलाइरहेका सिके राउतलाई पक्राउ गरेको छ ।

राउतलाई जनकपुरस्थित डेराबाटै पक्राउ गरी हिरासतमा लिइएको धनुषाका प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले बताए ।

सिके राउतको अगुवाईमा सप्तरीको महादेवा मतदान केन्द्रमा अहिलेसम्म पनि मतदान हुन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गणेश आचार्य दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको निर्वाचन मार्फत जनताले भारतलाई ठुल्दाइ मान्नेहरुलाई अस्वीकार गरेको…

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ।…

काठमाडौं । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी…

कैलाली । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा विजयी रेशम चौधरीका वारेसलाई निर्वाचन जितेको प्रमाणपत्र दिइएन । निर्वाचन आयोगाबाट उम्मेदवार…

काठमाडौँ । समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमालेले फराकिलो अग्रता बनाइरहेको छ । गणनाको सुरूवातमा कांग्रेससँग करिब १० हजारको मात्रै अग्रता…

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन् । यसअघि नेपाली कांग्रेसले निरन्तर…