पैसा नपुग्दा मुलुकभर ९ सय पुल अलपत्र

काठमाडौं । मुलुकभर निर्माणाधीन अवस्थामा रहेका ९ सय ११ वटा पुल बजेट अभावले सम्पन्न हुन नसकेर अलपत्र परेको छ । निर्माण ठेक्का संझौता अनुसार रकम विनियोन नहुँदा पुलमा समस्या आएको हो ।
सडक विभाग पुल महाशाखाका अनुसार मुलुकभरका पुल निर्माणको लागि करिब ६२ अर्बको ठेक्का लगाइएको छ तर सरकारले चालु आर्थिक वर्षमा त्यसको लागि ३ अर्ब रुपैयाँ मात्र छुट्याएको छ ।
विभागका उपमहानिर्देशक एवं पुल माहाशाखाका प्रमुख अर्जुनजंग थापाले पुल निर्माणको लागि रकम अत्यन्तै कम विनियोजन हुँदा समस्या आएको बताए । ‘पुल निर्माणको लागि वर्षेनी कम्तीमा १६ अर्ब रुपैयाँ आवश्यक पर्छ’ उनले भने, ‘तर यस वर्ष बजेट अत्यन्तै कम आएको छ ।’
प्रमुख थापाका अनुसार राजमार्गमा मात्र २ सय ७६ वटा पुल निर्माण भइरहेको छ । त्यसको लागत १५ अर्ब रुपेैयाँ छ । ५० वटा पुल यसै वर्ष निर्माण सम्पन्न हुने अवस्थामा छन् । ठेक्का सम्झौताअनुसार तीनदेखि चार वर्षमा सबै पुल निर्माण गरिसक्नुपर्ने हुन्छ । पुल निर्माण सम्पन्न गरेका व्यवसायीहरु भुक्तानीको लागि दिनहुँ महाशाखा धाउने गरेता पनि रकम नहुँदा हिसाब चुक्ता गर्न नसकिएको थापाले सुनाए ।
महाशाखाका अनुसार मुलुकमा अहिले २ हजार ९ वटा पुल निर्माणधीन अवस्थामा छन्। नयाँ निर्माण भएका सडकमा मात्र ५ सय पुल बनाउनु पर्ने अवस्था छ। पुल निर्माणमा नेपाल सरकारको भारतीय, चीन, एशियाली विकास बैंक, विश्व बैंक लगायतको सहयोग गर्दै आएका छन् ।