कोरिया जाने नेपाली युवा भाषा, औद्योगिक ज्ञान र सीपको कमीका कारण निरास बनेको पाइएको छ । निरास जीवनले आत्महत्या पनि रोज्न सक्छ । अत्यधिक मदिरा पिएर सुत्दा अनि कोठामा अक्सिजन कमी हुँदा पनि मृत्यु भएको पाइएको छ ।
काठमाडौं । धन कमाउने सुन्दर सपना लिएर सात महिनाअघि कोरिया पुगेका महोत्तरी बर्दिबासका २५ वर्षीय प्रकाश थापा मगर आठदिन अघि अर्थात् जनवरी १० मा कार्यरत कम्पनीकै पछाडि झुण्डिएको अवस्थामा मृत भेटिए ।
कोरिया पुगेपछि गम्भीर बिरामी परेका मगर घर फर्किने तयारीमा थिए । टिकट पनि काटिसकेका थिए । तर उनले स्वदेशको होइन, मृत्युको पनि टिकट काटे । उनको आत्महत्या भनिए पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
इपिएस नेपालको तथ्यांक २००८ मा इपिएस प्रणाली शुरु भएदेखि दक्षिण कोरियामा मर्नेको संख्या ८१ पुगेको छ । नौ वर्षका अवधिमा ज्यान गुमाएकामध्ये सुतेको समयमै मृत्युवरण गर्ने १८ छन् । आत्महत्या गर्नेको संख्या पनि उत्तिकै छ । आत्महत्याबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।
कम्पनीमै काम गरिरहँदा भएको भवितव्यमा १०, दुर्घटनामा ७, आपसी झगडामा २, स्वाभाविक रुपमा १ को मृत्यु भएको तथ्यांक छ । २६ को मृत्युबारे कारण खुलेको छैन ।
कोरिया जाने नेपाली युवा भाषा, औद्योगिक ज्ञान र सीपको कमीका कारण निरास बनेको पाइएको छ । निरास जीवनले आत्महत्या पनि रोज्न सक्छ । अत्यधिक मदिरा पिएर सुत्दा अनि कोठामा अक्सिजन कमी हुँदा पनि मृत्यु भएको पाइएको छ ।
कमाइ र सुविधाका दृष्टिले जति आकर्षक गन्तव्य बनेको छ कोरिया, त्यस्तै कामदारका लागि कालघर बन्दै छ कोरिया ।
सन् २००८ देखि २०१७ सम्ममा वैधानिक रुपमा रोजगारीका लागि कोरिया जाने नेपाली ५० हजार १ सय ९८ छन् । २०१७ मा भएको भाषा परीक्षामा १२ हजार १ सय ८ उत्तीर्ण भएका थिए । उनीहरुमध्ये १० हजार २ सयले कोरियामा रोजगारी पाउनेछन् ।