काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेका दलहरुसँगको सहकार्य राष्ट्रियसभा निर्वाचनमा पनि कायम राख्ने भएको छ ।
लामो समयपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले लोकतान्त्रिक गठबन्धनसँग तालमेल गर्ने निधो गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित भएको छ । बैठकमा अधिकांश नेताले राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनसँग तालमेल गर्ने विषयमा सहमति जनाएका छन् ।
लोकतान्त्रिक गठबन्धनमा आवद्ध राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लगायतका दलसँग चुनावी तालमेलका लागि कार्यदल नै गठन गर्ने तयारी रहेको कांग्रेस पैवक्ता विश्वप्रकाश शमाले जानकारी दिए । कांग्रेसले राष्ट्रियसभामा प्रदेशसभा र प्रतिनिधिसभाबाट उम्मेदवार बनेकालाई उम्मेदवार नबनाउने मापदण्ड तय गरेको शर्माले बताए ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अवसर नपाएका जुझारु र प्रखर नेतालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउन अधिकांशको नेताहरुको धारणा छ । बैठकमा नेताहरुले निर्वाचनको गम्भिर समिक्षा गरी पार्टीलाई सुदृढ बनाउन तत्काल केन्द्रिय समिति र महासमिति बैठक बोलाउन पनि पार्टी नेतृत्वसँग माग गरेको नेता बालकृष्ण खाँडले बताए ।
केन्द्रिय समितिले अर्को केन्द्रिय समिति बैठक र त्यसपछि बस्ने महासमिति बैठकको मिति तोक्नुपर्ने माग गरिएको युवा नेता प्रदिप पौडेलले जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबारबाट सुरु भएको केन्द्रिय कार्य समिति बैठक आजै सम्पन्न गर्ने काँग्रेसको तयारी छ ।
बैठकमा धेरैजसो नेताहरुले निर्वाचनमा पराजय हुनुको पछाडि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य दोषी रहेको औल्याएका छन् ।
देउवा पक्षले भने निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयनमा महत्वपूर्ण काम सम्पन्न गराएको भन्दै सभापति देउवाको बचाउ गरेका छन् ।