मिना बुढाथोकी सल्यान । सल्यानकी एक महिलाले च्याउखेतीबाट मनग्य आम्दानी गर्ने गरेकी छन् । च्याउखेतीबाट वार्षिक साढे तीन लाख कमाउने गरेको शारदा नगरपालिका–१३ साँघार बस्ने ४२ वर्षीया मुनि नेपालीले बताईन् ।
मासिक रुपमा ३० हजार रुपैयाँ आम्दानी गर्न सफल कृषक मुनी मिहिनेत गरे नाम र दाम स्वदेशमै कमाउन सकिन्छ, भन्ने उदाहरण बनेकी छिन् ।
पाँचवर्ष अघि विरामीपर्दा उपचारको लागी काठमाण्डौँ गएकोबेला त्यहाँ गरिएको च्याउखेती देखेर सल्यानमा च्याउखेती गर्न शुरु गरेको मुनीले बताईन । ‘काठमाण्डौमा च्याउ खेती गरेको देखेकी थिए, त्यही अनुसार सल्यानमा आएर च्याउखेती गर्न शुरु गरेकी हुँ’ उनले भनिन् ।
च्याउखेती शुरु गरेदेखि घरखर्च लगायतका काम गर्नको लागी अरुको मुख ताकेर बस्नु पर्ने बाध्यता हटेको उनले बताईन् । २०७० साल देखी च्याउखेती गर्न शुरु गरेकी उनलाई अहिले श्रीमान तारे सार्कीले पनि राम्रो साथ दिएका छन् ।
उमेर हुदाँ भारत गएर काम गरेको बताउदैँ तारे सार्कीले अहिले आफ्नै ठाँउमा च्याउखेतीबाट मासिक ३० हजार बढी रुपैयाँ आम्दानी भएको बताए । ‘पैसा कमाउनको लागी हाम्रा दाजुभाईले मरुभूमीमा पसिना बगाउछन् तर आफ्नै माटोमा मेहनत गरे राम्रो आम्दानी हुने उनले बताए ।
जुनसुकै समयमा च्याउखेतीका लागि उपयुक्त मौसम भएकाले च्याउखेती राम्रो भएको मुनीले बताईन् । मुनीले अहिले कन्ये (पराले) च्याउको खेती गर्दै आएकी छिन् । ‘शुरुमा ४ वटा घर बनाएर च्याउ खेती शुरु गरे, अहिले ९ वटा घर बनाएर च्याउ खेती गर्दै आएका छौँ, अब यसलाई अझ बढाएर लैजाने योजना छ’ उनले भनिन् ।
शुरुमा ५० हजार लगानी बाट च्याउ खेती गर्न शुरु गरेका उनीहरुले अहिले ३ लाख बढी लगानी गरी सकेको बताए । च्याउ खेतीका लागी उनलाई जिल्ला कृषि बिकास कार्यालयले यूवा लक्षित कार्यक्रम अन्र्तगत च्याउ खेतीको लागि ४० हजार अनुदान दिएको थियो ।
साँघारमा उत्पादित च्याउ अहिले जिल्लाको लुहामबजार, भोटेचौर, लान्तीबजार, श्रीनगर र खलंगासम्म लिएर उनीहरुले बिक्री गर्ने गरेका छन् । च्याउ उत्पादनस्थल बाटै पनि राम्रो च्याउ बिक्री हुने गरेको बताउदैँ उनीहरुले अहिले च्याउ प्रतिकिलो २ सयका दरले बिक्री गर्ने गरेको बताए ।