भरतपुर । १२ वर्षीया छोरी बलात्कारमा परेको भन्दै आमाले गत कात्तिक २६ गते प्रहरीमा किटानी जाहेरी दिइन् । पीडक पक्षले आर्थिक प्रलोभन र धम्क्याएर बयान फेर्न लगाए । अहिले बालिकाकी आमा फेरि बकपत्र गर्न पाउनुपर्ने माग गर्दै अदालत पुगेकी छन् । कान्तिपुरमा समाचार छ ।
बालिकालाई रत्ननगर नगरपालिका–१ मा बालगृह सञ्चालन गरिरहेका भक्तिनी बगैंचाका ६१ वर्षीय गोविन्द ढकालले गत भदौ २५ गते राति बलात्कार गरेको दाबीसहित आमाले जाहेरी दिएकी थिइन् ।
पटक–पटक करणी गर्दा बालिकाको तल्लो पेट दुख्न थाल्यो । पीडा बढेपछि ढकालले उनलाई सुर्खेतस्थित घर पठाए । उनले बालिकाकी आमालाई फोन गरी ‘छोरी आउँछु भनेकाले पठाएको’ बताएका थिए । पढ्न पठाएकी छोरी अचानकआउने खबरले आमा छक्क परिन् ।
‘लालनपालन र अध्ययनका लागि पठाइएकी छोरी घर आउँदै छ भन्ने खबरले छक्क परें,’ उनले भनिन्, ‘छोरीले पटक–पटक जबरजस्ती करणीमा परेको सुनाएपछिपीडा भयो ।’ आमाले छिमेकीको सहयोगमा चन्दा उठाएर छोरीलाई तत्काल वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालमा परीक्षण र उपचार गराइन् । स्वास्थ्य परीक्षणमा योनिमा घाउ र खुलेको देखियो ।
अधिकारकर्मीले करणीविरुद्ध जाहेरी दिन सुझाएपछि न्यायका लागि बालिकाकी आमा चितवन आइन् । जिल्ला प्रहरीमा ढकालविरुद्ध कात्तिक २६ गते किटानी जाहेरी दर्ता गराइन् । प्रहरीले ढकाललाई तत्काल पक्राउ गर्यो । उनले अनुसन्धान क्रममा करणी स्वीकारेनन् । आफूलाई फसाउन खोजेको आरोप लगाए ।
बालिकाले अदालतसमक्ष ढकालले पटक–पटक करणी गरेको बयान दिएकी थिइन् । बालिका र उनकी आमाले दिएको बयानको भिडियो रेकर्ड सुरक्षित छ । ढकाललाई इलाका प्रहरी टाँडीले अनुसन्धानपछि जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले उनलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ ।
यसरी उल्ट्याइयो बयान
मुद्दाको नियमित सुनुवाइका लागि पुस १४ गते पीडितलाई अदालत झिकाइएको थियो । त्यसका लागि आमारछोरी १३ गते सुर्खेतबाट हिंडे । चितवन आउँदै गरेको खबर पाएपछि ढकालकै सहयोगी मोहन ठकुरीले बालिकाको आमालाई फोन गरेर आफू पनि कोहलपुरकै भएको बताए । उनले झट्ट विश्वास गर्न सकिनन् । त्यसपछि पीडक ढकालका छोराले ‘अन्यत्र बसेर छलफल गरौं । बयान फेर्नुस् २५ लाख दिन्छु’ भन्दै प्रलोभन देखाए ।
उनीहरूले ‘बाटोमा जे पनि हुन सक्छ’ भनेर चेतावनी दिए । ‘कतारकता मनमा डर पैदा हुन थाल्यो,’ बालिकाकी आमाले भनिन्, ‘फोन गरेको केही समयपछि भेटेर आदर्शगृह नजान भन्दै दबाब दिन थाले । म बसेकै होटलमा रामचन्द्र सापकोटा नामका वकिल आएर कागज बनाइदिए ।’ त्यही कागजमा सही गर्न लगाएको बालिकाकी आमाले बताइन् ।
अधिवक्ता सापकोटाले भने आफूलाई २५ लाखको कागजका बारेमा केही जानकारी नभएको बताए । ‘कहाँरकहाँ बसेर छलफल गरे, कागज बनाए भन्ने मलाई थाहा भएन,’ उनले भने, ‘मैले कुनै कागज गराएको छैन । उनीहरू मेरो कार्यालयमा पनि आएका छैनन् ।’ पीडितको बकपत्रपछि अदालतले क्षेत्रीय अस्पतालका चिकित्सकलाई झिकाएर बयान लिएको छ ।
आदर्शगृहले पीडितलाई कानुनी सहायता प्रदान गर्दै आएको छ । बालिका अहिले सोही गृहको आश्रयमा छिन् । ठकुरीमाथि विभिन्न प्रलोभन र त्रासमा पारी बयान फेर्न लगाएको आरोप छ । त्रासले गर्दा छोरीलाई ‘करणी गरेको होइन’ भन्ने बयान आमाले दिइन् । बालिकाले भने दोस्रो पटक पनि आफूलाई करणी गरेको बयान दिइन् । ‘आमाले झूट्टो बोल्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘मैले त्यसो गरिनँ । बयान दिंदा कसैको डर लागेन । ममाथि जे भयो त्यही बताएँ ।’
पीडितका आफन्तले पनि डरत्रासदेखाएर बयान फेर्न लगाएको बताएकाछन् । छिमेकीले पनि बालगृह सञ्चालक ढकालले घरमा कसैलाई जान नदिने गरेको बताए । ‘उनको घरमा मध्यरातमा बालबालिका रोएको सुनिन्थ्यो,’ एक छिमेकीले भने ।
जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीले यस्ता घटनामा प्रतिवादीले सकेसम्म बयान फेर्न लगाउने गरेको बताए । ‘बलात्कार मुद्दामा विभिन्न प्रलोभनमा पारेर पीडितलाई बयान फेर्न लगाउँछन्,’ उनले भने, ‘यो चितवनको मात्र समस्या होइन । देशभरिकै हो ।’ सञ्चालक ढकालले बालिका बलात्कार गरेको घटना सार्वजनिक भएपछि त्यहाँ रहेका अन्य ३ बालबालिकाको पनि उद्धार गरिएको छ । जिल्लामा रहेका अधिकांश बालगृहमा बालबालिका असुरक्षित रहेको भन्दै सरोकारवालाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।