काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री के.पी ओलीकै सामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग्नु भएको छ ।
प्रधानमन्त्री निवासमा मंगलबार भएको त्रिपक्षीय छलफलमा प्रधानन्याधीशको राजीनामा मागिएको हो । प्रधानन्यायाधीश पराजुली एकपछि अर्को विवादमा फस्ने क्रम बढ्दाे छ । जन्ममिति र शैक्षिक प्रमाणपत्र विवादको झमेला खेपिरहेका प्रधानन्याधीश पराजुलीलाई सोमबारदेखि अर्को विवाद आइलागेको छ ।
सर्वोच्च अदालतका न्यायधीश चोलेन्द्रशम्शेर राणाले प्रधानन्याधीशको गत साउनै अवकाश भइसकेको जनाउँदै सोमबार इजलाश बहिष्कार गरेपछि पराजुलीलाई अर्को झमेला थपिएको हो ।
इजलाश बहिष्कार प्रकरणपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले पराजुलीलाई छलफलको लागि बाेलाउनु भएको हो । छलफलमा अध्यक्ष दाहालले समस्या समाधानका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्न पराजुलीलाई सुझाव दिएको वालुवाटार स्रोतले बताएको छ ।
स्रोतका अनुसार छलफलमा अध्यक्ष दाहालले इजलाश बहिष्कार बिषय गम्भीर भएको उल्लेख गर्दै प्रधानमन्त्रीलार्इ ‘यसमा केही त गर्नु पर्यो’ भन्नु भएको थियो । तर प्रधानन्यायाधीश पराजुलीले भने न्यायाधीश चोलेन्द्रले बेञ्च बहिस्कार गरेको घटनालाई केही वकिलले अनावश्क रुपमा ‘ठूलो घटना’ बनाएको उल्लेख गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले भने छिमेकीको हिसाबले ‘यसो चिया खान बोलाएको’ मात्र भन्नु भएको थियो । प्रधानमन्त्री निवास र प्रधानन्यायाधीश निवास बालुवाटारमासँगसँगै छ ।
प्रधानन्यायाधीश विभिन्न विवादमा पर्न थालेपछि वकिलहरुले राजीनामा दिएर जिम्मेवारीबाट बाहिरिन सुझाव दिएका छन् । अधिवक्ता भीमार्जुन आचार्यले प्रधानन्यायधीशले राजीनामा नै उत्तम विकल्प हुने बताउनु भएको छ । अधिवक्ता आचार्यले सामाजिक संजालमा पछिल्लो समय न्यायालय र मिडियाबीच बढी रहेको विवादको दुरी कम गर्नुपर्ने उल्लेख गर्नु भएको छ ।
‘हिजो सारा राजनीतिक भागवण्डामा नियुक्तिहरू गरिए । आज ट्रेड यूनियनका कर्मचारी र अदालतका न्यायाधीशहरु बीच भिन्नता छुट्याउन गाह्रो हुने अबस्था आयो। फेरि पनि अघि बढ्नुको विकल्प छैन। सम्यम होऔ र न्यायालय मिडिया जस्ता डेमोक्रेटिक इन्स्टिच्युसनहरू लाई जोगाउ।’ उहाँले उल्लेख गर्नु भएको छ ।
सर्वोच्च अदालगमा न्यायाधीशहरुले इजलाश बहिष्कार गर्ने क्रम जारी छ । मंगलबार ६ न्यायाधीशले इजलास बहिष्कार गर्नु भएको छ।न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गर्नु भएको हो । कार्की र मल्लको इजलास ८, श्रेष्ठ र सिन्हाको ९ र खतिवडा र भट्टराईको इजलास नम्बर १० छ ।सर्वोच्च प्रशासनले इजलास ८ र ९ को बेञ्च नबसेको जानकारी दिएको छ ।