काठमाडौं । काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीका चालक तथा सह–चालकले आगामी चैत ६ गतेदेखि विशेष पोशाक (ड्रेस) लगाउन पर्ने भएको छ ।
शरुमा उपत्यकाभित्रका माइक्रो बसका चालकहरुले विशेष पोशाक लगाउने र यसलाई विस्तारै बाहिरी जिल्लामा पनि लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यातायात मजदुरको पहिचान झल्किने गरी विशेष ड्रेस तोकिएको र त्यसको सुरुवात माइक्रोबसबाट गर्ने महाशाखाको भनाई छ ।
चैतको ६ देखि माइक्रो बसका चालकले पहेँलो र सहचालक हरियो रंगको पोशाक लगाउनेछन् । गर्मी सुरु भएकाले उनीहरुले पातला ‘विन्ड चिटर’ लगाउने बताइएको छ ।
सार्वजनिक सवारीका चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै ड्रेसको व्यवस्था गर्न केही महिनाअघि देखि महाशाखाले प्रयास थालेको थियो ।
यातायात मजदुरको पहिचान सहज बनाउन र उनीहरुको बानी व्यवहारमा सुधार ल्याउन ड्रेस तोकिएको महाशाखाले जनाएको छ ।उपत्यकामा झण्डै ३२ हजार सार्वजनि सवारी चल्ने गरेका अनुमान छ । केही समयपछि बस, ट्याक्सी, टेम्पोका चालकले पनि युनिफर्म लगाउने व्यवस्था गरिने महाशाखाले जनाएको छ ।
अहिले साझा यातायात, केही ट्याक्सी सेवा प्रदायक कम्पनी, एयरपोर्टको प्रिपेड ट्याक्सीले चालकका लागि पोशाक तोकिएको छ ।