–खेम बमराधा चौधरी प्रकरण । जुन अहिलेसम्म सामाजिक सञ्जालमा मात्र होईन, आमजनमानसका मनमष्तिकमा भिजेको छ । त्यो भिडियो, हेर्दा आङ नै सिरिंग हुन्छ । ६ घण्टा निर्घात कुटपिट र मानसिक यातना । सम्पूर्ण समाज रमिते बन्दै राधामाथिको अत्याचारको दर्शक बनेर बसेको दृष्य कम कहाली लाग्दो थिएन ।
समाज अझै पनि यतिसम्म अन्धो रहेछ भन्ने कुरा उक्त भिडियोले चरितार्थ गर्यो । एक पिपाशु कथित भोलेबाबा (यसअघि चटपटे व्यापारी) कसरी त्यस्ता दार्शनिक बने र त्यत्रो जमातलाई चकित तुल्याए । अचम्मको त्यो दृश्य, फेरी भन्दै थिए मोबाईलमा भिडियो नखिच, मोबाईल नै गायब बनाईदिन्छु । कतिले त डरले भिडियो खिच्ने साहस समेत गरेनन् ।
कमाई खाने भाँडो बनेको तिनको तान्त्रिक शक्ति जब त्यो भिडियो सार्वजनिक भयो तब, कर्तुत बाहिरियो राधा त देखिने पात्र मात्रै रहिछन् । पछि त कथित भोलेबाबाले उपचार गरेकी महिला त उल्टो अस्पतालमा उपचार गराउन जानुपर्ने रहेछ । यतिसम्मको निर्दयीपन कसरी पलायो ती ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीमा गम्भीर बिषय बनेको छ । बिसौं वर्ष ध्यानमा बसेका महात्मा, साधु, शन्तमा पनि त्यत्रो शक्ति छैन ती एक भर्खरैका युवा, व्यापारी कसरी बने भोले ?
प्रश्नः हाम्रो समाजले कस्ता मानिसलाई प्रोत्साहन गरिरहेको छ ? यस्तो खेती कहिलेसम्म चल्छ ? को छ यसको जिम्मेवार ? कसले उस्कायो यस्ता भोले बाबालाई ? को हुन् यिनका संरक्षक ? छानबिन हुनुपर्छ की पर्दैन् ? एक्लै रामबहादुरले यत्रो आँट गरेका होलान् त ? गम्भीर बिषय छ ।
समाजमा व्याप्त अन्धविश्वास र कुरितिको शिकार बनेकी राधा चौधरीको पिडामा मल्हम लगाउने प्रशासनले देखाएको तदारुकता सहारनीय त छ नै, आगामी दिनमा हुने यस्ता घटनाका बिषयमा समेत चाँसो दिनु स्थानीय सरकार र प्रदेशको काँधमा जिम्मेवारी थपिएको छ । जब राधा बोक्सीको आरोपमा समाजका अगाडी निर्घात कुटिंदै थिईन् र त्यही समाजमा बस्ने मानिस भोलेबाबा, पार्वती बनेका थिए र बाँकी सबै रमिते बनेका थिए ।
समाजलाई बदल्न र परिवर्तनको झण्डा बोकेर विदेशी डलर पचाउनेहरुलाई भन्न मन लागेको छ तपाईँहरुका साइनबोर्ड टाँसेका कार्यालयहरु त्यहीँ छन् र त्यही समाजलाई सुधार्नका निम्ति तल्लिन हुनुहुन्छ । प्रश्न गर्न म छ ‘के समाजलाई फेरी भाँडेर फेरी परिवर्तको मुद्धा उठाएर विदेशी डलर ल्याउन खोज्नु भएको त होईन् ?’ ती विदेशी बालबालिकाले आफू खाने खाजामा केही रकम कटाएर पठाएको रकममा कहिलेसम्म आश गर्छौ ? समाज सुधार्नु छ– ‘आफैबाट र आजैबाट शुरु गर, हैन भने नौटंकी नगर ।’
राधा एक प्रतिनिधि पात्र मात्रै हुन्, त्यस समाजको भित्र पसेर नियाल्ने हो भने विभिन्न जाति विभिन्न वाहानामा पीडित बनेका छन् । एउटा किशोरावस्थामा प्रवेश गरेकी नारी जतिबेला उसलाई आफ्नो समाजसँग घुलमिल गर्न र दौतरीसँगको नयाँ अनुभव सँगाल्ने चुनौति थपिएका बेला त्यही नारी विभिन्न बाहानामा अमानवियताको शिकार बन्छिन्, यो भन्दा बरबरतापूर्ण अन्याय अर्को के हुनसक्छ ? सार्वजनिक स्थलमा उसले आफूलाई कसरी स्थापित गर्न सक्छ । एउटा फरक भाषा, धर्म, भेषभुषा समेटिएको समुदायकी राधालाई आगामी दिन कति कष्टप्रद होलान् या सहज होलान्, यसमा उहाँलाई परामर्श र उन्मुक्ति गर्ने निकाय जिम्मेवार छ ।
दोषीलाई कारबाहीको दायरामा उभ्याइएको छ, तर त्यही समाज दोषीलाई छुट्कारा दिलाउँछ र फेरी झुट बोल्छ हामीले गरेका होइनौ । प्रहरीको अप्रेशनमा हस्तक्षेप गर्ने त्यही समाजका उच्च ओहोदाका जिम्मेवार व्याक्ति लज्जास्पद झुट बोल्न पछि पर्दैनन् । प्रहरी भन्छ, समाजका मानिस आएर मिलापत्र गराएर लगिएको हो र त्यहाँका जनप्रतिनिधि भन्छन् प्रहरीले झुट बोलेको हो हामीले त्यस्तो गरेका छैनौ । यो दोहोरी कहिलेसम्म ? समाज परिवर्तन गर्न दुवै पक्ष उत्तिकै जिम्मेवार छन् । कसलाई दोषारोपण गर्नु र, फेरी सम्मुन्नत समाजको परिकल्पना गर्न खोज्नु ।
यस्ता तत्वलाई प्रसय दिने जो कोहीलाई कारबाहीको दायरामा ल्याइनुपर्छ । हैन भने एकको टाउकोमा दोष थुपारेर उम्किन खोज्ने शक्ति मौलाउँदै जानेछ । देशले परिवर्तन र स्थिर सरकार पाइसकेको अवस्थामा यस्ता झिनो बिषयले सबैको ध्यान एकिकृत होइन विकास र समृद्धिमा ध्यान एकिकृत बनाउने समय आएको छ । अबका दिनमा हाम्रो समाजले यस्ता छोरी चेलीको अस्मितामा नखेलोस् र यी हातहरु र मुखले त्यस्तो शब्द लेख्न र उच्चारण गर्न नपरोस् ।