नवलपरासी । गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा पर्ने र कटान भइरहेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँध निर्माण सुरु गरेको छ । राजधानीमा समाचार छ ।
नेपाली भूमि डुबानमा पार्ने गरी भारतले एकतर्फी बाँध निर्माण गरेको हो । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित नारायणी नदी ठोक्कर–१२ को पूर्वतर्फ नारायणी नदी पारी नेपालतर्फ करिब ३ सय मिटर भूभाग मिची बाँध निर्माण गरेको स्थानीय श्याम थापाले बताए ।
शक्तिकुमार कम्पनी पश्चिमी चम्पारण कम्पनीले बाँध निर्माण गर्दै आएको छ । भारतले नदीको भारतर्फ बहने पानीको बहावलाई नेपालतर्फ पठाउने गरी नेपाल भारत सीमाभन्दा ३ सय मिटर वर आएर उक्त बाँध निर्माण गरेको भन्दै नर्सहीका बासिन्दाले विरोध समेत जनाएका छन् ।
नेपालीहरू उक्त निर्माण कार्य रोक्न जाँदा भारतीय प्रहरी प्रशासनले नेपालीहरूलाई धम्क्याउने गरेको समेत थापाले बताए । भारतीय प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को निगरानीमा उक्त बाँध निर्माण कार्य भइरहेको छ । उनीहरूले नदीमा जेसीभी नै प्रयोग गरेर बाँध निर्माण गरेका छन् ।
सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले भारतले निर्माण गरको बाँधले नेपातर्फको निकै ठूलो क्षेत्र डुबान र कटानमा पर्ने बताए ।पाण्डेले गण्डक नहरमा निर्माणको काम गर्दा नेपाल–भारत दुवैको सहमतिमा मात्र गर्नुपर्नेमा भारतले एकतर्फी गरेको समेत बताए । उनले नदीले हरेक वर्ष धार परिवर्तन गर्दै नेपालतर्फ बहाव बढिरहेको फाइदासमेत भारतीय पक्षले उठाइरहेको छ ।
गाउँपालिका अध्यक्ष पाण्डेका अनुसार नदीले बहाव नेपालतर्फ बनाएपछि भारततर्फ काँस पलाएको र उक्त काँसभन्दा अगाडिबाट भारतले बाँध लगाउने कार्य गरिरहेको बताए । अहिले भारतले गण्डक ब्यारेजदेखि पूर्वतर्फ वाल्मीकि आश्रमसम्म र पश्चिमतर्फ ५ सय मिटरसम्म बाँधेको छ । निर्माण कार्य हेर्दा भारतले सुस्तासम्म बाँध लगाउने पाण्डेले बताए ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उक्त कार्य रोक्न सम्बन्धित निकायसँग छलफल गर्न सो क्षेत्रका प्रहरी प्रमुखलाई निर्देशन दिएको बताए । रानाले उक्त कार्य नरोकिए नेपालको ठूलो भूमि वर्षाको बेलामा कटान र डुबानको समस्यामा पर्ने भएकाले निर्माण कार्य रोक्नुपर्नेमा जोड दिए ।