ललितपुर । बल्खुबाट तीन साताअघि १५ वर्षीया एक किशोरी हराइन् । तीन–चार दिनसम्म फेला नपरेपछि अभिभावकले बालबालिका खोजतलास केन्द्र काठमाडौंमा निवेदन दिए । टेलिभिजनमा किशोरी हराएको विज्ञापन दिए । सार्वजनिक स्थानमा किशोरीको तस्बिर र हुलिया खुलाई टाँसे । तर कुनै पत्तो लागेन । ११ दिनपछि किशोरी स्वयम्भूमा फेला त परिन् तर कराउने, तर्सने र बर्बराउने हालतमा । कान्तिपुरमा समाचार छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गत फागुन १७ गते साँझ उनी घरबाट बल्खुतर्फ निस्केकी थिइन् । परिसरका प्रवक्ता डीएसपी मोहन थापाले भने, ‘हराएको दिन किशोरीलाई चक्रपथमा चल्ने बा४ख ३८५१ नम्बरको बसका चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलाले भेट्टाए । ललाइफकाई वसुन्धरास्थित ग्यारेजमा लगेर पालैपालो जबर्जस्ती गरे । भोलिपल्ट चालक घिमिरेको हरिसिद्धिस्थित कोठामा लगेर ६ दिनसम्म बन्धक बनाई बलात्कार गरे ।’
प्रहरीका अनुसार किशोरीलाई पिसाबसमेत कोठाभित्रै गर्न लगाई पालैपालो बलात्कार गरेको देखिन्छ । किशोरी फागुन २४ गते थुनिएको कोठाबाट भागिन् । भागेको दिन अर्को बसका चालक सुदीप बजगाईंले भेटेर रातभर बलात्कार गरे । किशोरीको खोजीमा लागेका सहचालक गड्तौलाले त्यसको भोलिपल्ट फेरि उनलाई फेला पारेर चालक घिमिरेलाई जिम्मा लगाए । र, घिमिरेले पुनः कोठामा लगेर जबर्जस्ती गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चालक घिमिरेले २७ फागुनमा किशारीलाई सातदोबाटोबाट चक्रपथ गुड्ने बा२ख ४१९५ नम्बरको गाडीमा चढाइदिएका थिए । उक्त गाडीका चालक भोला तामाङ र सहचालक चन्द्र सापकोटा मिलेर दिनभर गाडीमा घुमाए । राति स्वयम्भूस्थित ग्यारेजमा पुर्याई दुवैले पालैपालो बलात्कार गरे । उनको स्वास्थ्य बिग्रँदै गएपछि चालक तामाङ र सहचालक सापकोटाले गर्भ निरोधक औषधि र २ सय ५० रुपैयाँ दिएर २८ फागुनमा स्वयम्भू लगेर छाडेको प्रहरीको भनाइ छ ।
प्रहरीले हरिसिद्धिस्थित चालक घिमिरेको कोठाबाट गर्भनिरोधक औषधिको खोल, दुई बोतल पिसाब र कन्डम बरामद गरेको छ । प्रहरीले बालिका बलात्कारको आरोपमा घिमिरे, गड्तौला, बजगाईं, तामाङ र सापकोटालाई पक्राउ गरेको छ । पाँचै जनालाई जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ । बलात्कार गरेको पुष्टि भएमा मुलुकी ऐनको महल १४ अनुसार ६ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनेछ ।