कान्ति न्यौपाने
काठमाडौ । प्रधानमन्त्री के.पी ओलीले वाम गठबन्धन सरकारले मुलुकको स्वाधिनता, लोकतन्त्र, एकता, शान्तिको स्थायित्य र विकासमा जोड दिने बताउनु भएको छ ।
‘सरकारको जोड यी ५ कुरामा छ’ प्रधानमन्त्री ओलीले बुधबार नेपाल उद्योग बाणिज्य महासंघको ५२ औ साधारण सभा उद्घाटन गर्दै भन्नुभयो, ‘स्वाधिनता अर्थात् राष्ट्रको रक्षा गर्नु हामे पहिलो कर्तव्य हो । त्यसपछि राष्ट्रिय एकता र विकासको कुरा आउछु । हामीलाई मुलुकको विकास गर्नु छ । विकासको लागि शान्ति चाहिन्छ । शान्ति र स्थायित्व बिना विकास संभव छैन ।’
प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा उद्योग बाणिज्य महासंघका प्रतिनिधिहरु सँग पनि छलफल गर्ने बताउनु भयो ।
उहााले आफ्नो राजनीति मुलुकको समृद्धिको लागि भएको उल्लेख गर्नुभयो । ‘मैले राजनीतिको लागि राजनीति गरेको छैन’ उहाँले भन्नुभयो, राजनीतिज्ञहरुले राजनीति बाहेक अरू कुरै गर्दैनन्, अर्थतन्त्रको कुरै गर्दैनन्, पर्यटनका कुरै गर्दैनन, कृषिका कुरै गर्दैन भन्ने प्रभाव परेको छ । तर मैले देशको लागि राजनीति गरेको हुँ । सडक निर्माणको लागि राजनीति गरेको हुँ । मैले जुन ठाउँमा पुग्छु त्यही ठाउँको ,त्यही सन्दर्भकै बारेमा कुरा गर्छु ।’
प्रधानमन्त्री ओलीले गणतन्त्रसम्म आइपुग्नको लागि मुलुकले ठूलो संघर्ष गर्नु परेको स्मरण गराउनु भयो ‘नेपाली जनताले जहानियाँ राणा शासन पनि बिर्से, अरु ४ शासन पनि बिर्से ’ उहाँले भन्नुभयो, ‘जो देशभक्त बन्दछ, देशको लागि केही गरौ भन्छ, तिनीहरु षड्यन्त्रको शिकार भए, दमनका शिकार भए । अत्याचारको शिकार भए । त्यस्ता शासनहरु हामीले उहिल्यै भोग्यौ, राणाकाल, पंचायतकाल, शाहकाल गजबका काल थिए ।’
प्रधानमन्त्री ओलीले मुलुक चरण गरिबीमै रहेको उल्लेख गर्नुभयो । ‘गरिबीको रेखामुनि हुन् १२ सय ४१ डलर चाहिन्छ’ उहाँले भन्नुभयो, ‘तर हाम्रो औसत आय ८ सय डलर मात्र छ । हामी गरिबीको रेखामुनि पनि पुग्न सकेका छैनौ, निरपेक्ष गरिबीको रेखामुनि छौ ।’