डोटी । दुईचार ओटा कुर्चि छन्, एक दुई टेबलहरु, चल्दै नचल्ने कम्प्युटर, अनि खुल्दै नखुल्ने दराजहरु चार जना कर्मचारीहरुले धानेको कार्यालय जो विकासका लागी खोलीयो तर कार्यालयको नै विकास हुन सकेको छैन्, कार्यरत कर्मचारी नै तलब नपाएको दश महिना भयो ।
प्रशंग हो डोटी जिल्लामा २०६३ सालमा स्थापना भएको खप्तड क्षेत्र विकास समितिको । अहिले चर्चाको विषयमा रहेको प्रदेश नम्वर ७ को गतिलो आम्दानीको श्रोत बन्न सक्ने र हरेक निर्वाचनहरुका बेला विकास हुने आशा बोक्ने डोटीको सिलगढीमा रहेको खप्तड क्षेत्र विकास समितिको वास्तविक अबस्था हो ।
पर्यटन व्यवसायबाट प्रदेशको विकासमा टेवा पुग्छ भन्दै निर्वाचानबाट निर्वाचित जनप्रतिनिधिहरुको मिठा मिठा भाषण गर्दै हिडिरहेको समयमा खप्तडको विकास गर्नका लागि स्थापना भएको कार्यालयको दुर्दशा हेर्दा लाग्छ खोक्रा भाषणहरुले विकासको सम्भावना कहिले भन्ने प्रश्न उब्जाएको छ ।
संसार आधुनिक प्रविधिमा अघि बढिरहेको समयमा सञ्चारसँग जोडिने पहिलो माध्यम टेलिफोन हुन्छ तर क्षेत्र विकासको कार्यालयमा टेलिफोन लाईन काटिएको बर्षौ भयो अहिलेसम्म जोड्नका लागि कहिकतै पहल हुन सकेको छैन । कार्यालयले आफ्नै वेवसाईट तयार पारेको छ तर ईन्टरनेट सेवा पनि नहुँदा वेव अपडेट हुदैँन । कार्यालय संंचालनमा सहजता ल्याउन कम्प्युटरहरु राखिएका छन् तर महिनौदेखि कार्यालयको विद्युत कटौती हुँदा कम्प्युटरहरु पनि बन्द रहेका छन् ।
कार्यकारी निर्देशक, शाखा अधिकृत, नायब सुब्बा, लेखापाल, सव ईन्जीनियर एक एक जना र कार्यालय सहयोगी ३ जना गरी जम्मा ८ जना कर्मचारीहरुको दरबन्दी रहेको उक्त कार्यालयमा कर्मचारीहरुले तलब नपाएको १० महिना वितिसकेको छ तर कहिकतैबाट तलब पाउने विषयमा कुरा भएको छैन ।
कार्यालयमा कार्यकारी निर्देशक नभएको बर्षौ भयो । लेखापालले जागीर छोडी सकेका छन् । शाखा अधिकृत प्रायः कार्यालयमा भेटिनु हुदैँन, कार्यालयमा रहेका एक जना नायब सुब्बा र ३ कार्यालय सहयोगीहरु आफुहरुको कुरा कसैले नसुन्ने गुनासो गर्छन् । नायब सुब्बा पदमा कार्यरत कर्मचारी गिता श्रेष्ठका अनुसार कार्यकारी निर्देशकको अवकास २०७३ आषाढ २० गते भए पश्चात कार्यालयमा नयाँ निर्देशक आएनन् । २०७४ भाद्रदेखि टेलिफोन महसुल भुक्तानी गर्न बाँकी रहदाँ टेलिफोन लाईन काटिएको हो भने फागुन महिनादेखि विद्युत लाईन काटिए पछि कार्यालयमा कुनै प्रकारको काम नहुने गरेको हो ।