काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् आज अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो (अक्षय तृतीया बाहेक हरिबोधनी एकादशी, वसन्त पञ्चमी तथा आषाढ शुक्ल नवमीलाई पनि अबुझ मुहूर्त मानिन्छ) ।
अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुन्छ । यसकारण यो तिथिलाई दानधर्मका लागि अचुक काल मानिएको छ । यसलाई चिरञ्जीवी तिथि पनि भनिन्छ किनभने यसै दिन ८ चिरञ्जीवीमध्ये एक भगवान् परशुरामको जन्म भएको थियो । यो दिनलाई कुनै पनि शुभ कार्यका शुभ सिद्ध मुहूर्त मानिन्छ ।शास्त्रअनुसार वैशाख महिनालाई विष्णुको महिना मानिन्छ र यो महिना विष्णु भक्तिका लागि शुभ हुन्छ । पौराणिक मान्यता अनुसार अक्षय तृतीया तिथिमै परशुरामका साथै नरनारायण तथा हयग्रीव आदि विष्णुको अवतार भएका थिए । त्यसैले यो दिन परशुराम एवं नरनारायण जयन्ती मनाइन्छ । त्रेतायुगाको सुरुवात पनि यसै तिथिमा भएको मानिन्छ । यो दिन महालक्ष्मीको पूजा गर्नु पुण्यदायक एवं महामंगलकारी हुने शास्त्रीय वचन छ ।
हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।
गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ । हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने ।
पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ ।
चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ ।
भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण गरिन्छ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ ।
दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ ।
शास्त्रीय विधानअनुसार आज दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।