काठमाडौं । अघिल्ला वर्षहरुझैं यो वर्ष पनि लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो । २०५९ जेठ ८ गतेदेखि तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिएको संसद् २०६३ वैशाख ११ गते दलहरुलाई सुम्पिएका थिए । यो अवधिमा राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शङ्ंखला जारी रह्यो ।
राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो । २०६२ मंसिरमा १२बुँदे समझ्दारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा उत्रिए ।
जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनःस्र्थापना गरी आफूले लिएको कार्यकारी अधिकार फिर्ता गरेको दिन हो, वैशाख ११ गते । २५ जना नेपालीले जनआन्दोलन सफल पार्नेक्रममा बलिदान गरेका थिए भने थुप्रै घाइते भए । २०६३ जेठ ४ गते पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती ग¥यो ।
बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । कसैले यसलाई नेपाली म्याग्नाकार्टा पनि भने । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको विसं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २ सय ४० वर्षीय राजसंस्थाको विधिवत् अन्त्य ग¥यो ।
जनआन्दोलनको सफलताको जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो । यही दिनको स्मरण गर्दै हरेक वर्ष सरकारले बैशाख ११ मा सार्वजनिक विदा दिने गरेको छ ।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो । २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।
संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्न भएको छ । सोअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।