प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति माधव नेपालको असन्तुष्टी

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आफूहरुसँग कुनै छलफल नै नगरी योजना आयोगका पदाधिकारी नियुक्त गरेको भन्दै नेता नेपालले आक्रोश व्यक्त गर्नुभएको हो ।

जनता टेलिभिजनको कार्यक्रम द भ्यूमा कुराकानी गर्दै नेता नेपालले भन्नुभयो, “प्रधानमन्त्रीले ल्याउनुभएको हो हामीसँग कुनै सल्लाह परामर्श गर्नुभएको छैन । सबै जस अपजसको जिम्मा उहाँको टाउकोमा जान्छ हामीसँग सेयर गर्नुभएको छैन हामी त्यसको जिम्मेवारी लिँदैनौ । उहाँले आफूखुसी गर्नुभएको छ, हामीसँग सल्लाह परामर्श गर्नुभएन भने हामी वास्ता पनि गर्दैनौ ।”

प्रधानमन्त्रीको एकलौटी पनले सरकारप्रति को बिश्वास घट्दै जाने नेता नेपालको भनाई छ । प्रधानमन्त्रीको कार्यशैलीले बिरोधीहरु सलबलाउने मौका पाउने भएकाले एकलौटी नगर्न र समय मै सचेत हुन आग्रह गर्नुभयो । “खुबै बुद्धि पुर्‍याएर विचार मन्थन गरेर ल्याउनु भएको होला, समाजभित्रका जिनियस मान्छेहरु खोजेर ल्याउनुभएको होला कसैले नदेखेका हिरा मोतीहरु खोजेर ल्याउनुभएको होला थाहा छैन मलाई त ।” नेता नेपालले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले एकलौटी गरेर गलत परिपाटी बसाल्न खोजेको पूर्वप्रधानमन्त्री नेपालको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्