काठमाडौं । सम्बन्धित मन्त्रीको अनुपस्थितिको कारण केही बेरको लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सुचारु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका साांसदहरुले मन्त्रीको उपस्थिति नभएको भन्दै अवरुद्ध गरेपछि बैठक स्थगित भएको थियो । सम्बन्धित मन्त्री आइपुगेपछि बैठक पुन संचालन भएको हो ।
बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय , गृह र परराष्ट्र मन्त्रालयमा विनियोजित बजेटमाथि छलफल भइरहेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरुले तराईका जिल्लामा नदी नियन्त्रणका लागि प्रभावकारी तटबन्ध बनाउन, सबै जिल्लामा सिंचाई सुविधा पुर्याउन तथा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनमा आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसका सांसद देव प्रसाद तिमलसेना आफुहरुले माग गरे अनुसारको कार्यक्रम योजना समावेश नभएकोको आपत्ती जनाउदै काग कराउदैछ पीना सुक्दैछ भने जस्तो गरेको सरकार अघि बढेको आरोप लगाउनुभयो । सरकारले प्रतिपक्षी दलका सांसदले भनेका योजना समावेश नगरेको गुनासो पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो“ ठुला ठुला नेताको क्षेत्र मात्रै विकास गरेर सम्वृद्ध नेपाल र सुखी नेपाली कसरी हुन सक्छ ?” तराईका जिल्लामा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको भन्दै उहाँले मुलुकका सबै क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभुति दिन गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
नेकपाका सांसद नवराज सिलवालले सुरक्षा संयन्त्रको पुनसंरचना गर्नुपर्ने बताउनुभयो । सुरक्षा नै विकासको मूल मेरुदण्ड भएको भन्दै उहाँले सुरक्षा संयन्त्र चुस्त र दुरुस्त राख्न समग्र सुरक्षा संयन्त्रको पुनसंरचना गर्दै राजधानीको ट्राफिक व्यवस्थापनमा पनि उपयुक्त कार्ययोजना सहितको बजेट विनियोजन गर्न सुझाव दिनुभयो ।
नेकपाका सांसद पुष्पा कुमारी कर्ण कायस्तले सडक दुर्घटनाकम गर्दै सुरक्षित सडक यात्रा , एकिकृत ट्राफिक व्यवस्थापन कार्यक्रममा बजेट नभएको भन्दै त्यसबारे सदनलाई स्पष्ट पार्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कांग्रेसका सांसद पदम नारायण चौधरी प्रहरी प्रशासनको विकेन्द्रिकरण हुन नसक्दा प्रहरीहरु अन्यौलमा रहेकाले शान्ति सुरक्षाको अवस्था प्रभावित भएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । स्थानीय तहका प्रहरीहरुमा केन्द्रको आदेश मान्ने वा प्रदेश वा स्थानीय सरकारको आदेश मान्ने भन्ने अन्यौल देखिएकाले तत्काल प्रहरी प्रशाशनको तहगत चेन अफ कमाण्ड स्पष्ट गर्न माग गर्नुभयो ।
नेकपाका सांसद मोहन बानियाले जलविद्युत्का आयोजनाहरुमा जनताको अनिवार्य लगानी गराउनुपर्ने धारणा राख्नुभयो । नेपालको पानी जनताको लगानी भन्ने नारालाई पछ्याउन पनि उहाँले सरकारलाई सुझाव दिनुभयो । कृषि क्षेत्र नै मुलुकको सम्वृद्धिको आधार हो भन्ने नारा सहित सबै जिल्लामा सिंचाई सुविधा पुर्याउने विषयलाई नीतिगत रुपमा अघि बढाउनुपर्ने र त्यो केन्द्रबाट संञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले तटबन्धनका आयोजनालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।