अस्मिता रिजाल
असारै महिनामा...बाल्यकालदेखि नै सुनेको यो सदाबहार गीतका शब्दहरु मेरो कानमा गुञ्जिएको मात्रै होइन, मन मास्तिष्कमा पनि त्यत्तिकै अमिट बनेर बसेका छन् । जब जब मौसमले असार लागेको छनक दिन थाल्छ, तब मनमा बाल्यकालका स्मृतिहरु नाच्न थाल्छन्, नोस्टाल्जिक बनाउँदै....
हिल्याएर ठिक्क पारिएका टिलपिल फाँटहरु, आँखैअगाडि देखिने हरियो वन, बोट लर्किने गरी फलेका आल्चा र आरु, तुवाँलोले ढपक्कै ढाकेका पहाड अनि बादलका धब्बाहरु मडारिइरहेको मलिन आकाश । पालीको छिँडीबाट एकाबिहानै देखिने यी सबै दृश्यले त्यो सुन्दर पहाडी क्षेत्रमा असार निम्त्याएको संकेत दिन्थ्यो । हुन त यो बर्खे महिना हिलो, पानी–झरी अनि कामको चटारोले गर्दा उतिसारो सुखी महिना त होइन । तर माहोलले गर्दा होला असार आयो भनेपछि एक किसिमको उत्साह सबैमा देखिन्थ्यो । अगेनाको डिलमा बसेर खोस्टामा बेरेको सूर्तीको धुवाँ उडाउँदै मुखियाका कमैयाहरु गफ चुट्न थाल्थे, ‘फलानो मखियाको खेतमा यसपाली यति पाथीको बीउ राखेको छ, फलानो महाजनको खेतमा यति हल गोरुको मेलो छ, फलाना बार त यसको पर्म तिर्न जानु छ यस्तै यस्तै.....’
पेशाले जागिरे परिवार भएपनि असार र मसिंरमा भने खेतबारीको काम नगरी सुख थिएन हामीलाई । डाँडाको खेत, आकाशे पानीको भर, सानो परिवार, सजिलो थिएन बाली लगाउन । तर पनि आँट गरेर आमा भन्नुहुन्थ्यो, ‘प्रकृतिले हामीलाई जे भन्यो, त्यही दिएको छ, बेलामा अल्छी गर्नुहुँदैन ।'
बर्खे छुट्टी भन्दै गाउँका सरकारी स्कुलहरु पुरै एक महिना बिदा हुन्थे । घाम झुल्केदेखि नडुबुन्जेलसम्म खेल्न पाए पुग्ने हामी केटाकेटीलाई अरु के चाहिन्थ्यो र । तर नौ कक्षामा पगेपछि चाहिँ स्कुल बिदा भएको त्यत्ति निको लाग्न छोड्यो । कारणः विशेष साथीसँग भेट गर्न पुरै एक महिना कुर्नुपथ्र्यो, झन् उनीहरु बेँसी घर भएका मान्छे हाम्रोतिर चाहेर पनि आउने काम पर्दैनथ्यो, कताकता मनमा न्यास्रो लागिरहन्थ्यो ....
घरमा रोपाइँको दिन बिहानै माटोको दुई मुखे चुल्होमा बडेमानको पित्ले कसौँडी बसालिन्थ्यो । पहाडी अटे चामलको भात, लसुन झानेको मस्याङ्को दाल, गोठछेउमा फलेको गट्टाको लसक्कै परेको तरकारी, तेलमा डुबाएर ठूलो बयममा गालिएको आँपको अचार, अनि ठेकीमा जमाइएको एकराते दही, यही भान्सा हुन्थ्यो सबैलाई ।
उमेरले मभन्दा तीन वर्षमात्र ठूलो मेरो कान्छो दाइ घरको जिम्मेवार सदस्य भएर खट्थ्यो । हलो बोक्नेदेखि खेतमा आली लगाउनेसम्म, राति कुलो रुँघ्न जानेदेखि आमालाई सम्झाउनेसम्म । सबैभन्दा सानी मेरो भगमा आलीमा मास रोप्ने काम पथ्र्यो । बाउला काटिएको टि–सर्ट, मुस्किलले घुँडा छोप्ने स्कुलको पुरानो फ्रक, साइडमा कपडाको सानो झोला अनि हातमा हँसिया बोकेर रोपाइँमा जान तम्सिएकी बुथुर्की केटीलाई कस्तो देखिन्थ्यो होला कल्पना मात्रैले पनि मनमनै मुस्कान छुट्न थाल्छ ।
छङछङै बग्ने खहरे खोला.... पहाडी खेतका अग्ला अग्ला कान्ला, ती कान्लबाट खसेका समाहा, पारीपट्टी छङछङ आवाज निकाल्दै झरिरहेको सोबुवा झरना, अनि बाटोमा जताततै बगेका कुलेसाहरु । माथिदेखि तलसम्मै पानीले टिलपिल सबैका खेत, खेतमा भरिभराउ मान्छे, कोही गोरुको पछाडि कोही कोही बीउ ब्याडमा त कोही कम्मरसम्मै हिलोमा डुबेर आ–आफ्ना औजार चलाउन व्यस्त ।
जब खेतको तल्लो भागबाट ‘बीउ सकियो है....’ भन्दै उर्दी आउँथ्यो, ब्याडबाट बीउका मुठाहरु जोडले फ्याँकिन्थे । उता आफ्नै सुरमा धान रोपिरहेका लिम्बूनी भाउजू–दिदीहलाई बीउका मुठाले छ्यापेको हिलोले अनुहारसम्मै हिलाम्मे बनाउँथ्यो । उनीहरुका गाला राता राता हुन्थे । त्यसमाथि मेलो सार्दै जाँदा बाउसेले जानीजानी पछाडि बनाइदिएका सानातिना खाल्डामा जब थचुक्कै बस्न पुग्थे, उनीहरुको रिसले सिमा नै नाघ्थ्यो क्यारे ‘च..छ..ज..झ’ सबै गालीले सरापिदन्थे । हामी भुराभुरीका लागी चाहिँ यी सबै दृश्य पेट मिचीमिची हाँस्ने विषय सिवाय केही हुँदैनथे ।
घडीको सुइले दिउँसोको ठ्याक्कै साढे दुई बजाएपछि खाजा आइपुग्थ्यो । हिलोमा काम गर्दा गर्दा फतक्कै गलेको बेला चपक्क परेको चाम्रे, सिमीको रस अनि साँधेको गुन्दु्रक सम्झिँदा मुखै रसाएर आउँथ्यो । खेतको एक छेउमा बसेर रंगै बदलेर उर्लिएको दोभान खोला अनि पारीपट्टिको हरियो गैरीखेत हेर्दै एक घण्टे खाजा समय बिताउनुको मज्जा बेग्लै हुन्थ्यो ।
मेलाबाट फर्किँदा अँध्यारोले आफ्नो अधिकार जमाइसकेको हुन्थ्यो । झ्याउँकीरीको झ्याउँझ्याउँले कानै खान खोज्थ्यो । घरमा कोही नभएर भित्र बत्तीको झुल्कोसम्म हुँदैनथ्यो बाहिर भने जूनकीरी आफ्नै लयमा नाचिरहेका देखिन्थे । रातको खानामा जे पाकेपनि एक चम्चा डल्ली भैँसीको घिउ भएपछि मलाई भने निन्द्रादेवीले च्यापीहाल्थिन् ।
एक्लो यो मेरो मन कसरी बुझाउने......असारसँगै जोडिएर आउने बिछोडको क्षण सम्झिँदा भने अहिले पनि मन कताकता अमिलो भएर आउँछ । एसएलसी पास भएर काठमाडौंसँग मित लाउने मेरो रहरलाई आमाको धरान बसेर पढ्ने आग्रहले रोक्न सकेन । जाने टुङ्गो लागेपछि एक दिन आमाले न्याउरो मुख लगाएर भन्नुभएको थियो, ‘तिमी एउटी त नजिकै बसेर पढेकी भए हुन्थ्यो, तीेनैजना छोराछोरी हिँडेपछि हामीमात्र कसरी मन बुझाएर बस्नु.....’ दुई दिन लगाएर आइपुग्नुपर्र्ने राजधानी सहर, घरबाट हिँड्ने बेलामा आमाको अनुहार त्यत्तिकै अँध्यारो देखेँ जति त्यो चार बजे बिहानीको समय थियो ।
आमाबुबाकी एक्ली छोरी, त्यसमा पनि दुई दाजु पछिकी कान्छी बहिनी परिवारको साथ कहिल्यै नछोडेकी आमाको मन कति बिरक्तियो होला ? म त्यसको हेक्का राम्ररी राख्न सक्थेँ । तर घर छोड्नु नै थियो, फर्केर नहेरी सरासर हिँडिरहेँ । जसै आफ्नो जिल्ला छुट्याउने काबेली खोला आइपुग्यो, मेरो मनमा बिछोडको नमिठो छाल उर्लिएर आयो तल खोलामा उर्लिएको बर्खे भेलझैँ । अब कहिल्यै साथीभाइ र आमाबुका सँग भेट हुँदैनकी जस्तो लाग्न थाल्यो । पुर्याउन आउनुभएका बुवा बसको सीटमा सँगै हुनुहुन्थ्यो । बुबाकै काँधमा टाउको अड्याएर स्वर दबाई दबाई रुन थालेँ । छोरी भनेपछि हुरुक्कै हुने बुवाले एक शब्द निकाल्न सक्नुभएन, सायद उहाँको मन पनि मेरो भन्दा बढी रोइरहेको थियो ।
यसरी तितामीठा सम्झनासँगै त्यो प्यारो पहाडी काख छोडेर सपनाको शहर काठमाडौं छिरेको ठ्याक्कै एक दशक बितेछ । यो अवधीमा राजधानी बसेर केके पाइयो केके गुमाइयो यसको लेखाजोखा त नगरेकै बेस होला । तर जन्मथलो छोडेपछि रोपाइँको त्यो मज्जा लिन फेरि कहिल्यै पाइएन ।
जनता समाचारकाे अार्काइभबाट -