भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५, ७६ का लागि १ अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक गर्दै आयतर्फ बाह्य स्रोत ९८ करोड ८६ लाख ८३ हजार तथा आन्तरिक स्रोततर्फ पर्यटन शुल्क, जग्गा बिक्री, विभिन्न कर दस्तुरबाट ५४ करोड ५३ लाख १७ हजार संकलन हुने बताउनुभयो ।
व्ययतर्फ युवा तथा खेलकूद समितिका लागि १ करोड ८० लाख, महिला तथा बालबालिका समाज कल्याणका लागि ३० लाख, वातावरण तथा पर्यटनतर्फ १ करोड, कृषितर्फ ८५ लाख, आर्थिक समिति लागि ७८ लाख, निर्माण समितिका लागि १२ लाख, खानेपानी व्यवस्थापनका लागि ३५ लाख, विधेयक समितिका लागि २ लाख, न्यायिक समितिका लागि १० लाख र शिक्षा, स्वास्थ्य तथा सांस्कृतिकतर्फ २ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
चालू खर्चमा ८७ करोड ९३ लाख ८८ हजार र पूँजीगततर्फ ८५ करोड ४६ लाख १२ हजार रुपैयाँ छ । क्रमागत योजनाका लागि १६ करोड ७३ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
नगरपालिकाले भूकम्प पीडितलाई नक्सामा छुटमा निरन्तरता दिएको छ । कर प्रणालीमा सुधार, उपभोक्ता समिति वा अमानतबाट विकास निर्माणलाई प्राथमिकतामा राखेको छ । ५५ झ्याले दरबार सर्वसाधारण र पर्यटकका लागि खुला गर्ने र परम्परागत शैलीमा घर बनाउनेलाई ३५ प्रतिशत अनुदान दिने नगरको योजना छ ।