अस्मिता रिजाल
बिहान एयरपोर्टबाट दुईजना आफन्त दाइलाई बहराइन बिदाइ गर्दाको खिन्नता दिउँसो पूर्ण बासँगको भेटले थोरै बिर्सायो । तर यी दुई घटनाबाट जन्मिएका विचार र जिज्ञासा भने यति थुप्रिएर बसे कि बिर्सन त कहाँ सक्नु बरु सानोतिनो लेखकै अवतारमा उत्रिने चाह गर्यो ।
‘गाईफार्म कसको हो, को हुनुहुन्छ ?’अँध्यारो गोठभित्र गाईको स्याहारसुसारमा व्यस्त वृद्ध हेल्चेक्र्याइँ नजरमा जवाफ फर्काउँछन्ः गाईसाहु भरे दूध बेच्ने ‘बेलाँ’ मात्र आउँछन् हजुर, अहिले कामदार मात्रै छौँ ।
लगत्तै गोठछेउमै भाँडा माझिरहेकी वृद्धा बोलिन्ः के जिस्किरहनुहुन्छ, को हुन्, किन खोज्या हो, सुध्नुस् न । पत्रकारका झैँ एकैसाथ थुप्रै ‘क’ जोडिएका वाणी ।‘हामी मिडियाबाट ।’
बोली भूइँमा खस्न नपाउँदै वृद्ध हौसिए, हामीतिर लम्किए, भने, ‘यो फार्म हाम्रै हो, हामी बूढाबूढी नै यसका साहु । बसौँ न ।’नामः पूर्णप्रसाद भट्टराई । पेशाले भूतपूर्व सरकारी कर्मचारी । नेपाल बैँक लिमिटेडबाट अवकासप्राप्त । स्थायी घर सिन्धुपाल्चोक, बाग्मती किनारमा गाईफार्म सञ्चालन गरेर बसेकै ११ वर्ष भयो ।
‘११ वर्षअघि ९ हजारमा एउटा गाई आउँथ्यो, शुरुमा तीनवटा मात्रै थिए, पछि बढाउँदै लगेको,’ हामीले जिज्ञासा नपोख्दै एकै सासमा जवाफ आउन थाल्यो, ‘सपरिवार बसे पनि छोराछोरी फार्ममा काम गर्न भ्याउँदैनन्, श्रीमानश्रीमती मिलेर १० वटा गाई पालेका छौँ । ‘गौमाता’को सेवा पनि धर्म हो नि नानी ।’
उमेरले ६० कटेका वृद्धवृद्धाको ‘गौमातामोह’मा जिज्ञासा उम्रियो, ‘यति दुःख गर्दाको फल सोचेजस्तो होला कि नहोला ?’फुत्किए वाक्यः
सेवाअनुसार मेवा पाउनुएको छ त ?
बत्ती कात्न तयार पारिएका कपास झैँ सेताम्मे दाह्रीले मुहारभरि टाँसिएका वृद्ध मुख कानसम्मै तन्काएर खितिखिति हाँस्न लागे । नौमुजा परेको अनुहारमा देखिएको त्यो हाँसो सन्तुष्टिको विम्व मात्र थिएन, चरम सन्तुष्टिको सानोतिनो बाढी नै थियो, हामीजस्ता अस्तव्यस्त र देखिने अभ्यस्तमा हराएर हाँस्न पनि फुर्सद निकाल्नु पर्ने पुस्ताका लागि ।
गौमाताको दशक लामो ‘सेवा’बाट ‘मेवा’बारे बक्दै गए र अनायास फुत्कियो बोलीः महिनाको एक लाख रुपैयाँ चोखै । छोराछोरी पनि फार्मकै कमाइले पढाएको हुँ ।’ थपे, ‘खासै केही गर्नु छैन बुढेसकालमा, गाउँमा बस्ने गतिलो घर छँदैछ, काठमाडौैँ खाल्डोमा दुईचार घडेरी ।’ओ हो, जुन कामका लागि दुनियाँ घरपरिवार छाडेर धपेडी गरिरहेको छ । भट्टराई अर्थात् पूर्ण बाले सजिलै विस्तार लगाए धनदौलतको ।
स्वार्थमा जोडेको धन भए अख्तियार लाग्ला भनेर दुनियाँ सम्पत्ति लुकाउने होडमा छ, तर पूर्ण बा, हामीले नसोध्दै सम्पत्ति विवरण दिइरहेका छन् ।
पूर्ण बा भनेपछि अब आमा नै भनौँ, अर्को कुनमा दूध लिन आएकालाई दिन भ्याइनभ्याइमा थिइन् । अचेल खानामा भेटिने मिसावटले आजित राजधानीबासीलाई गोठबाटै दूध भरेर ल्याउन पाए अरु के चाहिन्थ्यो र ? पूर्ण बाको शान्तिनगरस्थित पंकज दूग्ध संकलन केन्द्रमा दूध लिन आउनेको बिहान बेलुका सानोतिनो लर्को त थियो नै, लर्कोमा मिसिनेहरु टाढा–टाढाका पनि थिए ।
पूर्ण बाको सक्रियता, अग्रसरता, मेहेनत अनि सुनमा सुगन्ध भने झैँ देखिएको लोभलाग्दो सफलता अनुभूत गरिरहँदा मनमा बिहानै मात्रै एयरपोर्टबाट बिदाइ गरिएका दाइहरुको झल्झली उग्राए । रोजगारीका लागि बहराइन हिँडेका उनीहरुमध्ये एकले चलिरहेको पसल बेचेका थिए । अर्काले भर्खरै अंशबण्डामा परेको गैरीखेत बन्धकी राखेका थिए । सोचेँ, त्यही बन्धकीबाट आएको पैसा पनि सानोतिनो व्यवसायमा लगानी गरेको भए .....। अनि राम्रो मुलुक भन्दै केही महिनाअघि क्यानडा पुगेको छोराबारे मुख अमिलो पार्दै मामाले सुनाउनु भएको खबर पनि सम्झिएँ र आफैँ पनि अमिलो भएँ । ‘भान्जी मान्छेभन्दा ठूल्ठूला डिक्ची माझ्नुपर्छ र त्यो पनि भित्रैसम्म छिरेर, के गर्नु, नेपालमै राम्रो रेष्टुरेन्ट खोलेर बस्, लगानी गरौँला भन्दा मानेन आदि–इत्यादि । जताबाट पनि निरासा, पीडा र तनावका मात्र फोहोरा ।
पूर्ण बाको गाईफार्मको धुरीबाट सफलताको धूँवा उडिरहँदा ती तमाम नेपाली दाजुभाइलाई पटक–पटक सम्झिएँ । जो आफ्नो जिउनी बाँझो राखेर–बैंकमा धितो राखेर–साहुकहाँ बन्धकी राखेर पराया भूमिमा रगतपसिना बगाइरहेका छन् ।
नौनारी खियाइरहेका छन् । आखिर विदेश काढिने ऋण आफ्नै भूमिमा व्यवसाय गरेर बसे ‘करोडपति’ कुन ठूलो कुरा रहेछ र, पूर्ण बाले उदाहरणको झापडै हाने आज ।
सरकारले स्वदेशमै व्यवसाय गर्ने युवाका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ । अब बाँकी छ त युवा मानसिकतामा परिवर्तन देखिन, विदेशमा डलरको बोट नै छ भने झैँ बुझाइ हट्न । जुन काम विदेशमा वषौँ वर्ष गर्दा लाज हुँदैन, त्यही काम नेपालमा गर्दा ‘लज्जा’ महसुस गरिन्छ ।
‘रोजगारी’का नाममा विदेश जानै पर्ने लहड त्यागेर एकपटक आफ्नै माटो सुम्सुम्याउँदै बगाउँ पसिना, रोपौँ सपना र फलाउँ समृद्धि । साउदी, कतार, कुवेत, बहराइनका रियाल र रिंगेट भन्दा पूर्ण बाले जस्तै गाईफार्मबाटै कमाएको रुपैयाँ डलर होइन ‘हीरा’ मा पनि एक नम्बरको ‘कोहिनूर’ कसो नहोला ? घर पुग्दासम्म मानसपटलबाट पूर्ण बा ‘साइन आउट’ नै भएनन्, दिमागमा झुण्डिरहे अर्थात् हीरा फलाउने पूर्ण बा ।