गणेश आचार्य
२०७३ भदौ ७ गते तुलसीपुर उद्योग वाणिज्य संघले ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अर्थात् साप्ताहिक बजार सरसफाई अभियान चलायो । दिन, हप्ता, महिना हुँदै वर्ष बितेर शानदार ‘१००’ औं हप्ता पार भयो मंगलबार । अभियान उद्घाटनमा पूर्व मुख्य सचिव एवं बाग्मती सरसफाई अभियन्ता लिलामणि पौङेलले भनेका थिए, यदि सरसफाईबारे नगरबासीको आनीबानीमा परिवर्तन आएन भने अभियानले सार्थकता पाउने छैन ।’
पौडेलले यसो भनिरहँदा अभियानको सार्थकतामा मोसो दलिन्छ कि भन्ने आशंका झल्किन्थ्यो । पौडेलले त्यतित्रै अभिव्यक्ति दिएका थिएनन् । तात्पर्य थियो, ‘यदि नगरबासीमा सरसफाई आफैँ गर्नुपर्छ भन्ने सोच विकास भएन भने सरसफाई अभियान व्यर्थ हुनेछ ।’ अभियान शुरु भएसँगै बजारका व्यापारी दुई समूहमा खण्डित भए । तुलसीपुर उद्योग वाणिज्य संघ नेतृत्व कांग्रेसकै हातमा थियो । तर, कांग्रेसनिकट व्यापारीकै अर्को समूह नेतृत्वको खिलापमा थियो । संघइतर समूहले सरसफाई अभियानलाई उद्योग वाणिज्य संघको चुनावी एजेन्डा दाबी गर्दै असहयोग गर्यो ।
कांग्रेस निकट व्यापारीको साझा संस्था प्रजातान्त्रिक उद्योग व्यापार संघ तुलसीपुरका अध्यक्ष जनकप्रसाद खरालले स्थानीय सञ्चारमाध्यममा अन्तर्वार्तामा भनेका थिए, ‘सरसफाइ अभियान हाम्रै पार्टी निकटको एउटा झुण्डले चुनाव प्रभावित पार्न अघि ल्याएको नारा हो ।’अभियान शुरु गरेको केही महिनामै संघको चुनाव आयो र सरसफाइ अभियान थालेको समूहले तत्कालीन एमाले र माओवादीको आशीर्वादमा नेतृत्व पोल्टामा पार्न सफल भयो । चुनाव सकिँदासम्म त संघलाई सरसफाई अभियान घाँडो भइसकेको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि संघले सरसफाइ अभियानबाट हात धुँदै अभियानको ५२औँ हप्ता पुग्दा २०७४ साउन ३१ गते तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गर्यो ।
उपमहानगरपालिकाले जिम्मा लिए पनि अभियान प्रभावकारी हुन सकेन । अभियान सातामा पुग्दा उद्घाटनका दिन पौडेलले गरेको आशंका सत्यतामा परिवर्तन भयो । सरसफाइ अभियानको साता पूरा हुँदा तुलसीपुर बजार सरसफाइका दृष्टिकोणले अभियान सुरु हुँदाको जस्तै छ । बजार सफा देखिन्छ त केवल सेना, प्रहरी र विद्यार्थीले सफा गरेको प्रत्येक साता को मंगलबार मात्र ।
उपमहानरगपालिकाले सरसफाइ अभियानमा टोलबासी आफैँ सक्रिय बन्नुपर्छ भन्ने अभियान थाल्नुको साटो हरेक साता मंगलबार बजारका केही व्यापारी, सेना, प्रहरी र विद्यार्थीको सहयोगमा देखिएका फोहोर उठाउँदै आएको छ ।
उपमहानगरले सरसफाइ आफैँले गर्नुपर्छ भन्ने जनचेतना फैलाउन सकेको कहाँबाट प्रमाणित हुन्छ भने यहाँका व्यापारी र घरधनीले मंगलबार उपमहानगरले बजार सफा गर्छ भनेर सोमबार बेलुकी सबै फोहोर बाटोमा थुपार्न थालेका छन् । विश्वास लाग्दैन भने अरु बार बिहानमा बजारमा देखिने फोहोर र मंगलबार बिहान देखिने फोहोर हेरे पुग्छ । उद्योग वाणिज्य संघबाट सरसफाइ अभियानको जिम्मा लिएको उपमहानगरले ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियान झारा टार्ने अभिप्रायका साथ कछुवा गतिमा सञ्चालन गरिरहेको छ । अभियान उपमहानगरलाई पनि ‘गलपासो’ भएको छ । जिम्मा लिइसकेपछि छोड्न पनि गाह्रो । निरन्तरता दिँदा पनि प्रभावकारी हुन नसक्नु । अझ बुझ्ने भाषामा भन्ने हो भने उपमहानगरलाई ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियान उपमहानगरपालिकालाई ‘नखाउँ त दिनभरिको सिकारः खाउँ भने कान्छा बाबुको अनुहार’ भएको छ ।
‘क्लिन तुलसीपुरः ग्रिन तुलसीपुर’ नारा खासमा भारतबाट आयातित नारा हो । भारतको सिक्किम सरकारले ‘क्लिन सिक्किम ग्रिन सिक्किम’ अभियान सञ्चालन गरेर सिक्किम राज्यलाई नमूना शहर बनाएको थियो । त्यही नारा चोरेर तुलसीपुर उद्योग वाणिज्य संघले ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियान अघि बढाएको थियो । तर, यो अभियानको सुरुवात नै उद्योग वाणिज्य संघको चुनावलाई लक्षित गरेर गरिएकाले सबै तुलसीपुरबासीको सहयोग भएन । अभियानमा आधा तुलसीपुरबासीको ‘इगो’ कायमै छ । र त, उपमहानगरले जिम्मा लिए पनि अपेक्षाअनुरुप सर्वसाधारण अभियानमा सहभागी छैनन् । अभियानमा तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, उपमहानगरपालिकाका केही कर्मचारी, सेना, प्रहरी र स्कुलकजेलका विद्यार्थी मात्र सहभागी हुन्छन् । अनि केही सेल्फी प्रेमीको सहभागिता थपिन्छ । मंगल बिहानको दृश्य हेर्ने हो भने सेना र प्रहरी बाहेकका अधिकांश सेल्फी अभियान चलेको जस्तो देखिन्छ ।
‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’को अभियान सञ्चालन गरिनु राम्रो हो । तर, अभियानले सार्थकता नपाउँदा सोच्ने बेला भएको छ । तुलसीपुर उपमहानगर स्थानीय सरकार हो । स्थानीय सरकारसँगै उपमहानगरपालिका सबैको अभिभावक हो ।
अभिभावकको दायित्व सन्तान आपसमा लड्न थाले भने मिलाउने पनि हो । त्यसैले एउटा समूहले निहीत स्वार्थ पूरा गर्न थालेका अभियानलाई जिम्मा लिएर सार्थकतामा पु र्याउन पनि नसक्नु कदापि राम्रो होइन ।
सरसफाइ अभियानकै कारण बजार दुई चिरा परेको थाहा पाएपछि उपमहानगरले जिम्मेवारी लिनु हुँदैनथ्यो । आफैँले जिम्मेवारी लिनुको सट्टा उपमहानगरपालिकाले आफू मातहतका टोल विकास संस्थालाई जिम्मा दिएको भए उत्तम हुने थियो । हुन् त अझैँ पनि केही बिग्रेको छैन, साता न बितेको हो । सरसफाइ जिम्मेवारी टोल विकास संस्थालाई दिने र सरसफाइ अवस्थाको अनुगमन गरी सफा टोललाई पुरस्कृत र आफ्नो टोल सफा नगर्ने टोललाई दण्डित गर्ने हो भने सार्थक बन्ने छ ।