काठमाडौं । उसो त चीन नास्तिक देश हो । तर पछिल्लो ४० वर्षमा चीनमा धार्मिक गतिविधि बढेपछि यसको चर्चा विश्वभर छ । संविधानमा सबै धर्मालम्वीलाई आफूखुसी धर्म मान्ने छुट छ । यति हुँदाहुँदै पनि चीनमा धार्मिक मार्गमा धेरै प्रकारका प्रतिबन्ध बढ्दैछन् ।
पछिल्ला वर्षहरुमा चीन सरकार इस्लाम धर्मप्रति आक्रामक देखिएको छ । चिनियाँ सरकारको कदम हेर्दा इस्लाम धर्म जरैबाट समाप्त पार्न खोजे जस्तो पनि देखिन्छ । चीनमा यतिबेला मुस्लिम बालबालिकालाई इस्लामिक शिक्षाबाट टाढा रहन सचेत पारिएको छ ।
मुस्लिम समुदाय अल्पसंख्यक छन् । सिन्जियाङ प्रान्तका बहुसंख्यक मुस्लिम समुदायमाथि चिनियाँ सरकारले पहिल्यै धेरै प्रतिबन्ध लगाइसकेको छ । शिन्जियाङपछि गान्सू प्रान्त (जसलाई लिटिल मक्का भनिन्छ) मा पनि चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले इस्लाम धर्म र इस्लामिक शिक्षाबाट बालबालिकालाई टाढा राख्न प्रतिबन्धात्मक आदेश दिएको छ ।
विद्यालय बिदा भएका बेला हजारौँ मुस्लिम बच्चा मस्जिद तथा मदर्सामा कुरान शिक्षा लिन पुग्छन् । र, चीन सरकारले यसमा पनि प्रतिबन्ध लगाएको छ । लिटिल मक्कामा १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई नमाज पढ्न र इस्लामिक शिक्षा नलिन आदेश दिइएको छ । बालबालिकाका लागि धर्मनिरपेक्ष पाठ्यक्रम तयार पार्न भनिएको छ । यसबाट बालबालिकालाई नै फाइदा पुग्ने चीन सरकारको भनाइ छ ।चीनमा वयस्क मुस्लिमले पनि धेरै प्रतिबन्ध खेप्नु परेको छ ।
शिन्जियाङ प्रान्तमा मुस्लिम महिलालाई हिजाब (बुर्का) लगाउन, पुरुषलाई दाह्री राख्न र रमजानका महिनामा रोजा बस्न (उपबास बस्न) समेत मनाही गरिएको छ । ध्वनि प्रदुषण रोक्ने बहानामा स्थानीय ३ सय ५५ मस्जिदका लाउडस्पिकर हटाउन लगाइएको छ । मस्जिदमाथि गजुरमा अनिवार्य रुपमा चीनको राष्ट्रिय झण्डा झुण्ड्याउन आदेश दिइएको छ ।
चीनको कुल जनसंख्या १ अर्ब ३८ करोड छ, तीमध्ये मुस्लिम समुदायको जनसंख्या मात्र २ करोड १० लाख छ । चीनका पहिलो कम्युनिष्ट नेता माओत्से तुङले नै चीनबाट धर्मलाई नष्ट गर्ने प्रयत्न शुरु गरेका थिए । (एजेन्सीको सहयोगमा)