राधिका जोशीकाठमाडौं । मोरङको पथरी, शनिश्चरेकी ४२ वर्षीया अनन्तश्री विभुषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरीलाई विश्वको ‘प्रथम महिला जगतगुरु शंकराचार्य’ उपाधि प्रदान गरिएको छ ।
भारत धर्म महामण्डल, काशी विद्वत परिषद् र वल्र्ड हिन्दू फेडेरेसनले १ हजार २ सयवर्षको इतिहासमा पहिलोपटक महिला साध्वी नेपाली चेली हेमानन्द गिरी नेपाली नारीलाई उपाधि दिइएको हो । विभिन्न धर्ममा महत्वपूर्ण पद मानिएको शंकराचार्यमा पुरुषलाई मात्रै चयन गरिएकामा यसवर्ष विश्वमै पहिलोपटक नेपाली नारीलाई जगतगुरु शंकराचार्य उपाधि प्रदान गरिएको हो ।
शंकराचार्यको नियुक्ति वैदिक सनातन हिन्दुत्वको केन्द्र संस्था भारत धर्म महामण्डल एवम् काशी विद्वत परिषद्ले गर्छ । भारत धर्म महामण्डलले आफ्नो संविधानका रुपमा आदिगुरु शंकराचार्यले लेखेको ‘महानुशासन’ नामक ग्रन्थलाई लिएको छ । महिलाहरु डण्डी स्वामी हुन नपाउने तर शंकराचार्य हुन डण्डी स्वामी हुन जरुरी भएकाले यसअघि महिला शंकराचार्यको विषयमा केही विवाद भए पनि वैदिक सनातन संस्कारको १ हजार २ सयवर्षको इतिहास तोड्दै नेपाली महिला शंकराचार्य बनेकी हुन् ।
झापा गौरीगञ्जमा रहेको वैजेश्वर सूर्य शिवालय मठकी महामण्डलेश्वर, हिमालयका गुफामा लामो समय बसेर तपस्या गरेकी हेमानन्द वेद र वेदान्तमा खारिएकी प्राज्ञका रुपमा प्रख्यात छिन् । आठौँ शताब्दीमा आदि शंकराचार्यले अध्यात्म अनि दर्शनका माध्यमले हजारौँ कोषसम्म आदि वेदान्तको धार चलाएका हुन् । उनलाई भगवान शिवको पुनर्जन्म अनि वैदिक सनातन संस्कारका एक आध्यात्मिक योद्धाका रुपमा चिनिन्छ । उनैले हिन्दू दर्शनका लागि चारवटा सर्वोच्च पद सृजना गरेका हुन् ।
जसमा १ हजार २ सयवर्षदेखि पुरुष साधक अनि विद्वानकै उपस्थिति थियो । विश्वको प्रथम महिला जगतगुरु शंकराचार्यको उपाधि प्रदान गरिएकामा गिरीले बाल्यकालदेखि नै अध्यात्मप्रतिको लगावकै कारण आफू यहाँसम्म आइपुगेको बताएकी छिन् । मुलुकमा धर्म परिवर्तन गरेर हिन्दु धर्मलाई विचलित गरिरहेको बताउदै उनले यो आँधीबेहरी रोकेर नेपालमा हिन्दुधर्म पुनःस्थापना गर्ने र यसका लागि सबैले आफूलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।
लामो आध्यात्मिक यात्रा र तपकै कारण दुई वर्षअघि उज्जैनमा महामण्डलेश्वरको पदवी दिइएको बताउँदै गिरीले महामण्डलेश्वरको पदवीलाई लाखौँ सन्यासीको सेनापतिका रूपमा लिन सकिने बताइन् । भनिन्, यो आचार्य पद हो, गुरु पद हो र यसलाई लाखौँ नागा सन्यासीका सेनापतिका रूपमा लिन सकिन्छ ।
शंकराचार्य अद्वैत परम्पराको मठको मुखियाका लागि प्रयोग गरिने उपाधि हो । शंकराचार्य हिन्दू धर्मको सर्वोच्च धर्मगुरुको पद भएको विकिपेडियामा उल्लेख छ, जुन बौद्ध धर्ममा दलाइ लामा, इसाइ धर्मका पोपजस्तै उच्च पद हो । यो पदको परम्पराको थालनी आदिगुरु शंकराचार्यले गरेका थिए । यो उपाधि आदि शंकराचार्य जो एक हिन्दू दार्शनिक एवम् धर्मगुरु थिए, साथै जसलाई हिन्दूत्वका महान प्रतिनिधिका रूपमा चिनिन्छ, उनकै नाममा यो पद रहेको छ ।
आदि शंकराचार्यलाई जगतगुरुका रूपमा पनि सम्मान गरिन्छ, जुन सम्मान त्यसअघि भगवान् कृष्णलाई मात्र प्राप्त थियो । आदि शंकराचार्यले सनातन धर्मको प्रतिष्ठाका लागि भारतको चार क्षेत्रमा चार मठ स्थापित गर्नुका साथै ती मठमा चारवटा शंकराचार्य पद सिर्जना गरेर आफ्ना उत्कृष्ट शिष्यलाई ती मठको प्रमुख बनाए । त्यतिबेलादेखि नै यी चार मठमा शंकराचार्य पदको परम्परा चल्दै आएको छ ।