–रामकुमार/पुष्पा/शिवकाठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन वाम गठबन्धनबाट एमाले उम्मेदवार गरिमा शाहलाई २० हजार ९ सय ३५ को फराकिलो मत अन्तरले पराजित गरेर विजयी चौधरीले अहिलेसम्म सांसद सपथ खान पाएका छैनन् ।
राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका चौधरी यतिखेर डिल्लीबजार कारागारमा पुर्पक्षमा छन् । उनी ०७२ भदौ ७ गते भएको कैलालीको टीकापुर नरसंहारमा प्रमुख भूमिका निभाएको आरोपमा फरार थिए र फरार हुँदै उम्मेदवार बने, विजयी भए फराकिलो अन्तरले । टीकापुरमा दुधेबालकसहित नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको घटनामा मुख्य आरोपी भनिएका चौधरी २६ मंसिरमा निर्वाचित भएर पनि सपथ खान नपाएपछि १४ फागुनमा कैलाली प्रशासनमा आत्समर्पण गर्न पुगे । त्यसपछि उपचारका लागि काठमाडौं ल्याइएका चौधरी डिल्लीबजार कारागारमा छन् ।
र, यिनै चौधरी यतिखेर फेरि नेपाली राजनीतिमा केन्द्रविन्दु बनेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस डा. गोविन्द केसीको १५ औँ अनशनलाई आफ्नो मुद्दा बनाएर संसद र सडकमा शक्ति प्रदर्शनमा उत्रिएको छ । सरकारले शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलाका राजनीतिक निर्णय र नियुक्ति खारेज गरेपछि ‘अधिनायकवाद’विरुद्ध आन्दोलनमा उत्रिएका बेला अर्को मसला कतै रेशम चौधरी बन्ने त होइनन् ? राजनीतिवृत्तको सूचना पत्याउने हो भने अब रेशम चौधरी कांग्रेसको आन्दोलनमा अर्को गरम मसला बन्ने दिन पर छैन ।बिहीबार राति प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली भेट्न पुगेको राजपा अध्यक्ष मण्डलको समाचारले सबैतिर स्थान पायो । संविधान संशोधनलगायतका मुद्दाबारे छलफल गर्न पुगेको अध्यक्ष मण्डलले ओलीसँग पुरानै राजनीतिक मुद्दामा नयाँ चियाका कप खपत गरे पनि यसको भित्री मक्सद रेशम चौधरीसँग पनि जोडिएको थियो । ओली सरकार रेशम चौधरीबारे मौन छ ।
र, बिहीबार दिउँसै संसद भवनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राजपा अध्यक्ष मण्डलका अध्यक्षहरुबीच गोप्य वार्ता भएको छ । वार्तामा राजपा अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव सहभागी थिए । कांग्रेस स्रोतका अनुसार, सभापति देउवाले भनेका थिए, ‘सरकार अधिनायकवादमा जान लाग्यो, तपाईंहरुले हामीलाई सहयोग गर्नुहोस्, मिलेर जाउँ ।’
सभापति देउवाको आग्रहमा राजपा अध्यक्ष मण्डलको एक स्वर थियो, ‘जेलमा रहेका सांसद निर्वाचितरेशम चौधरीबारे कांग्रेसको धारणा आओस्, हामी कांग्रेसलाई साथ दिन तयार छौँ ।’
राजपाका नेताहरुले दोहो¥याए, ‘यसअघि पनि तीनपटक कांग्रेसलाई सहयोग गरिसकेका छौँ । रेशमबारे कांग्रेस सकारात्मक भए सरकार छाडेर हामी कांग्रेससँग संसद र सडकमा सँगै हिँड्न तयार छौँ, चौथोपटक बोक्न तयार छौँ ।’
यसबारे सभापति देउवाले तत्काल कुनै प्रतिक्रिया दिएनन् । केहीदिनमा कांग्रेसले राय दिने र सरकारले संविधान संशोधनको मुद्दामा साथ नदिए कांग्रेससँग मिलेर सडक र सदनमा आन्दोलन चर्काउने तयारी राजपाको छ । राजपाका केही नेताहरुले कांग्रेस सभापतिसँगको भेट र छलफलसँगै अन्य मुद्दामा छलफल भए पनि रेशमबारे धारणा मागिएको बताए, औपचारिक रुपमा भन्न रुचाएनन् ।
कांग्रेसले आधिकारिक रुपमा रेशम चौधरीबारे केही बताइसकेको छैन । र, संसदबाट असोज ३ गतेसम्म एक सय भन्दा बढी कानुन बनाउनु पर्ने कार्यसूची छ । तेस्रोपटक संसद अवरुद्ध पार्ने काममा कांग्रेसका लागि गरम मसला बनेको थियो, गोविन्द केसीको मुद्दा अर्थात् चिकित्सा शिक्षा विधेयक २०७५ । कांग्रेस र गोविन्द केसीले विधेयक परिमार्जनको विपक्षमा छन् भने सरकार हुबहुका पक्षमा छैन । कतै कांग्रेसको अबको आन्दोलनमा राष्ट्रिय जनता पार्टी चौथोपटक सारथि बन्ने त होइन ?
उसै पनि सरकारले काममा गति लिन सकेको छैन । संसद अवरुद्ध भइरहेको छ । गोविन्द केसी प्रकरण लम्बिएको छ । यतिमात्र होइन, शुक्रबार राजपाका नेताहरुले गोविन्द केसी भेटेर संसदमा केसीको मागका पक्षमा आवाज उठाउने बताएका छन् । यसले कांग्रेसलाई थप बल पुग्ने छ । सरकारलाई गलाउने कांग्रेसको अभियानमा राजपा काँध थाप्न तयार देखिन्छ । तर कांग्रेस रेशम चौधरीका विषयमा कहिले बोल्ला, प्रतीक्षाको विषय बनेको छ ।
फरार अवस्थामै रेशम चौधरीसँग २०७४ वैशाखमा गरिएको कुराकानी हेर्नुहोस्:
https://www.youtube.com/watch?v=8eO4iszQvas&t=489s