काठमाडौं । केन्द्रीय बहिरा उच्च मावि नक्साल काठमाडौंको बार्षिक कार्यक्रम र सम्मान समारोह विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
बार्षिक कार्यक्रममा शैक्षिकसत्र २०७४ को एसईई परिक्षामा सहभागी भई उतिर्ण हुन सफल ३२ जना बहिरा बिद्यार्थीहरूलाई सम्मान तथा बिदाई गरिएको विद्यालय व्यवस्थापन समिति सदस्य टेक बमले जानकारी दिनुभयो ।
एसईई परिक्षामा सहभागी भएका मध्ये छात्रा तर्फ ३.४५ जिपिए ल्याई उतिर्ण हुने अलिसा कोईराला र छात्र तर्फ ३.३५ जिपिए ल्याई उतिर्ण हुने सागर केसीलाई नारायण भक्त श्रेष्ठ (रायन) द्वारा स्थापना गरिएको अक्षय कोषको रकमबाट पुरस्कृत गरिएको थियोे ।
पुरस्कार वितरणकै क्रममा सोही स्कुलकी पूर्व बिद्यार्थी स्व. सुष्मा जिम्वाको सम्झनामा आमा शर्मिला श्रेष्ठले ६ हजार रुपैयाँका दरले सर्बोत्कृष्ठ अंक ल्याएर एसईईमा पासभएका दुई जना छात्र र छात्रा लाई नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा शैक्षिकसत्र २०७४ मा विभिन्न कक्षाको परिक्षामा प्रथम, द्वितिय, तृतीय भएका बिद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो । कक्षा १ देखि ५ मध्ये कक्षा २ का साहाना खातुङ ९० प्रतिशत र कक्षा ६ देखि ९ सम्म मध्ये कक्षा ७ का निमा गुरूङ ले ८२.३० प्रतिशत सबैभन्दा बढि अंक ल्याई २०७४ को परिक्षामा उतिर्ण भएकाले निजहरूलाई पनि पुरस्कार वितरण गरिएको थियोे ।
अनुशासित बिद्यार्थी पुरस्कार कक्षा ९ का श्याम अर्याल र कक्षा ५ कि सुजिता नेपालले प्राप्त गरेका थिए । त्यस्तै उत्कृष्ट समुह नेताको पुरस्कार अपार भटराई र अन्जु गुरूङले प्राप्त गरेका थिए । हिरो अफ द स्कुलको उपाधि कक्षा १० का छात्र निरज आचार्य लाई प्रदान गरिएको थियो ।
समारोहमा बहिरा छात्राहरूको नृत्य प्रतिभा समेत प्रस्तुत गरिएको थियोे । कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुलीले हालसम्म भएका गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियोे भने कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वार्ड नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठले बिद्यालयलाई स्थानीय सरकार वडा कार्यालयका तर्फबाट सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
मन्तव्य दिने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका पूर्व प्रधानाध्यापक तथा कार्यक्रमका सभाध्यक्ष नारायण भक्त श्रेष्ठ (रायन)ले २०२३ सालमा स्थापना भएको विद्यालयले २०५५ साल बाट एस.एल.सीमा सहभागीता जनाएकोमा हालसम्म ३२३ जना बहिराले उतिर्ण गरिसकेको र २०६६ बाट विद्यालयमा उच्च माध्यमिक कक्षा सञ्चालन भइरहेको बताउनु भयो ।
यो स्कुल हाल बहिराका लागि देशको एक मात्र स्नातक तहसम्मको पढाइ हुने विद्यालय बनेको समेत जानकारी गराउनु भएको थियोे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरू, पुर्व र वर्तमान शिक्षक तथा शिक्षिका, अभिभावक र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।