खेम बम
काठमाडौं । गएको असार १९ गते करेन्ट लागि गम्भीर घाइते भएका आदर्श गाउँपालिका–१ चाँसी बस्ने नारायण खडकाको काठमाडौंस्थित किर्तिपुर अस्पतालमा शनिबार उपचारका क्रममा निधन भएको छ ।
घर नजिकै विद्युतको पोल स्थानान्तरण गर्ने क्रममा करेन्ट लाग्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने नारायणको दुवै हातखुट्टा, ढाड र टाउकोमा गम्भीर चोट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका नारायणलाई दिपायलको शैलेश्वरी अस्पताल हुँदै सेती, भेरी अञ्चलबाट असार २० गते काठमाडौं ल्याइएको थियो ।
उपचारका क्रममा दुवैहातसहित गुमाएका नारायणको ढाडको समेत अप्रेसन भयको थियो । परिवारिकस्थिति कमजोर रहेका कारण उपचारमा समस्या भएपछि मृतक नारायणका गाँउले तथा होटल व्यावसायी संघ डोटिका अध्यक्ष दिपक बहादुर खड्काले उपचारका लागि नारायण बचाउ अभियान जेठ ३१ गते शुरु गर्नुभएको थियो । अभियान सुरु गरेको ३ दिनमै सहयोगीहरुबाट २ लाख ६४ हजार रुपैयाँ मृतककी श्रीमतीको नाममा जम्मा भैसकेको थियो ।
सो अभियान अन्तरगत शनिबारसम्म डोटी, धनगढी, काठमाडौं, भारत, कुबेत, मकाउ, कोरिया, दुबई र मलेसियाबाट समेत सहयोग प्राप्त भैरहेको थियो । सहयोग रकम जुटेपनि नारायण भने रहेनन् । शुक्रबारसम्म स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र शुक्रबार राति एक्कासि स्वासप्रस्वाशमा समस्या भएपछि भेन्टिलेटरमा राखिएको थियो ।
सानो उमेरमै बुवा गुमाएका नारायणको काँधमा ठुलो जिम्मेवारी थियो । २ बर्ष अगाडि रोजगारीका सिलसिलामा मलेसिया पुगेका नारायण घटना हुनु केहि दिन अगाडि मात्रै घर फिर्ता भएका थिए । आमा , बहिनी, श्रीमती र नाबालक २ बर्षे छोराको जिम्मेवारी थियो उनको काँधमा ।शनिबारबाट उनी सधैँका लागि बिदा भएका छन् ।
शनिबार नारायणको शव टिचिङ अस्पताल महाराजगञ्जमा राखिने र आइतबार पोस्टमार्टमपछि दाहसंस्कार गरिने भएको छ ।