नुवाकोटमा जन्म । तर ५ वर्ष नहुँदै परिवार भक्तपुरको दुवाकोट सरेपछि बिन्दु पुडासैनी सिम्खडाको बाल्यकाल दुवाकोटमै बित्यो । चाँगुनारायण स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि कान्तिपुर क्याम्पसमा उच्चशिक्षा अध्ययन । स्वास्थ्य स्वयम्सेविका अभियानसँगै राजनीतिमा सक्रियता बढ्यो । स्वास्थ्य सेवाका लागि गाउँबस्ती चाहर्नु भएकी सिम्खडाले समाजलाई नजिकबाट बुझ्नु भयो । २०७४ को स्थानीय तह निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिकामा उपमेयर विजित हुनुभयो । प्रस्तुत छ उहाँसँग जनता समाचार डटकमका लागि कान्ति न्यौपानेले गरेको संक्षिप्त कुराकानीः
समाजमा स्वास्थ्य क्षेत्रबाट क्रियाशील हुनुहुन्थ्यो, उपमेयर हुँदा भूमिका फरक हुन्छ, कस्तो अनुभूति भइरहेको छ ?
पहिलादेखि नै गाउँघरका दिदीबहिनी भेला पारी, घरघरमा गएर आफैँ सक्षम र सबल हुनुपर्छ भन्ने सोच निर्माण गर्ने, दिदीबहिनीका समस्या सुनिदिने र मिलेसम्म उपाय पनि खोज्ने कार्यमा लागिरहेको थिएँ । त्यसपछि म स्वास्थ्य स्वयंसेविका भएर गाउँघरमा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने काम गर्न थालेँ । त्यहीक्रममा २०४८ मा मदन भण्डारी थलीचौरमा आउनुभएको थियो । म पनि उहाँको भाषण सुन्न गएको थिएँ । भाषण सुनेसकेपछि मलाइ पनि आफूले केही गर्नुपर्छ भन्ने भावना जागृत भयो ।
अनि त्यसपछि नेकपा एमालेमा आबद्ध भएर सामाजिक र राजनीतिक जीवन पनि अघि बढाउन थालेँ । राजनीतिमा लामो क्रियाशीलतापछि उपमेयर बन्न्न सफल भएकी छु । पहिल्यैदेखि जनताको सेवामा रमाउँदै आएको व्यक्ति हुँ । अब उपमेयरको जिम्मेवारीबाट जनताको सेवामा लाग्ने मौका मिलेको छ । त्यो जिम्मेवारी पाउँदा अत्यन्तै खुशी छु ।
उपमेयर भएपछिको भूमिका र जिम्मेवारी कस्तो छ ?
शुरुमा त हामी अलि अन्यौलमा नै पर्यौँ । विस्तारै काम गर्ने प्रणाली बसाउन थाल्यौँ । अहिले नगरपालिकाका मुख्य समस्यामा केन्द्रित छौँ । साथै, दिदीबहिनी र बृद्ध बाआमालाई सहज हुने कार्यक्रम चलाउनेतर्फ केन्द्रित भएका छौँ । महिलाका विकासका लागि कसरी उनीहरुलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्नेमा बहस गरिरहेका छौँ र साथै नागरिकमा सचेतना जगाउने र त्यसबाट विकास निर्माणमा अझ सहयोग पुग्छ भन्ने अपेक्षा राखेका छौँ ।
अल्पकालीन र दीर्घकालीन योजना के के छन् ?
अहिलेको मुख्य समस्या बाटो र खानेपानी हो । बाटो व्यवस्थित नहुनाले सर्वसाधारणदेखि लिएर अन्य नागरिकलाई आवतजावतमा समस्या परेको छ । हामी बाटो मर्मतसम्भार र पिचका कार्यमा जोड दिइरहेका छौँ । त्यसमा ढल व्यवस्थापन, पानीको स्रोत जोगाउने, प्राकृतिक सम्पदा विनाश हुनबाट जोगाउने पनि पर्दछ । शहरीकरण बढिरहेकाले जग्गा प्लानिङ र प्लटिङ दिनहुँ भइरहेको छ । र, पानीका मुहान सुक्दै गइरहेका छन् । मेयरसाबले पनि तपार्इं खानेपानीमै जोड दिनु भन्नुभएकाले यसैमा बढी केन्द्रित छु । हामी जनतालाई छिटो खानेपानी वितरण गर्नेतर्फ केन्द्रित छौँ ।
अन्य नगरपालिकाको तुलनामा कागेश्वरीले फरक के योजना बनाएको छ ?
अब, यसमा कस्तो छ भने कतिपय नगरपालिका विकट र कतिपय नगरपालिका पहिले नै घोषणा भइसकेकाले अरु नगरपालिकाका तुलनामा फरक होजस्तो लाग्छ । किनकी यो नगरपालिकामा गाउँ उन्मुख र शहर उन्मुख दुवै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने छ । यसका कतिपय वडा अझै पनि कृषि पेशा, गाईबस्तु पालन, दहीदूध उत्पादनमा निर्भर छन् भने कतिपय वडा व्यावसायिकतातर्फ उन्मुख छन् ।
त्यसैका माध्यमबाट हामीले कृषि र गाईबस्तुपालनमा आधारित रहेका जनतालाई कृषितर्फ उन्मुख योजना निर्माण गरेका छौँ । बाख्रापालन, माछापालन, आधुनिक तरकारी खेती, मलबिउबिजनमा अनुदान भने व्यवसायतर्फ उन्मुख जनतालाई व्यावसायिकरुपमा नै अघि बढ्ने योजना निर्माण गरेका छौँ । जसअन्तर्गत नगरउन्मुख कार्यक्रम पनि सञ्चालन गर्ने जस्तै मन्टेश्वरी तालिम, माला बुन्ने, लोकसेवा तयारी कक्षा, विभिन्न भाषाका कक्षा पर्दछन् ।
नगरलाई समृद्ध पार्न के कस्ता योजना छन् ?
हामीले यो नगर समृद्ध बनाउन १० वर्षे ‘भिजन कागेश्वरी’ भनेर दीर्घकालीन योजना बनाएका छौँ । त्यसअन्तर्गत पर्यटकीय स्थल बनाउने, कागेश्वरी गागल सहिद पार्कलाई पिकनिक स्पोर्ट र पर्यटकीय आकर्षणको केन्द्र बनाउने र अहिले हामीले तत्काल गर्ने कार्य भनेको नगर हराभरा बनाउन वृक्षारोपण गर्ने, नजिकै रहेको कान्तिभैरव स्कुल वरिपरि घेरेर वृक्षारोपण, साथै यही नजिकै रहेको पाटेचउरलाई ग्रिनरी गर्ने सम्बन्धमा सर्भे भइरहेको छ । यी हाम्रा तत्कालीन योजना हुन् । सम्भवतः यी योजना तत्काल शुरु हुन्छन् ।
यसका साथै हाम्रा दीर्घकालीन योजना धेरै छन् । त्यसअन्तरगत प्रत्येक घर–एक धारा, एक घर एक बिरुवा भन्ने नाराका साथ अघि बढ्ने लक्ष्य छ । यसका लागि हामीले खानेपानी व्यवस्थापन छिट्टै गर्ने र गमलामै भए पनि केही बिरुवा रोप्न जनतालाई उत्प्रेरित गर्नेछौँ । साथै, फोहोर व्यवस्थापन पनि हामीले जटिल समस्याका रुपमा लिएका छौँ । त्यसका लागि नगरपालिकाले कुहिने फोहोर व्यवस्थापनका लागि डस्टबिन राख्ने र फोहोर कुहियाएर त्यसलाई कम्पोस्ट मलका रुपमा प्रयोग गर्ने र नकुहिने फोहोरलाई नगरपालिकाले नै व्यवस्थापन गर्नेतर्फ ध्यान पुर्याउन खोजेका छौँ । यसका साथै नगरपालिकालाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्नेतर्फ पनि हाम्रो ध्यान गइरहेको छ ।
नगरलार्इ पर्यटकीय स्थल बनाउने, कागेश्वरी गागल सहिद पार्कलाई पिकनिक स्पोर्ट र पर्यटकीय आकर्षणको केन्द्र बनाउने
तत्कालका लागि काम भएको नदेखिए पनि १० वर्षे अवधिमा धेरै काम हुने देखिएको छ । कागेश्वरी संरक्षणका लागि गएको कागतिहारमा पञ्चधातुबाट निर्मित ५ सय किलोको कागको मूर्ति स्थापना गरेका छौँ र त्यस क्षेत्रको अझै विकास गर्ने कार्यमा पनि हामी लागिरहेका छौँ । त्यसलाई पनि पर्यटकीयस्थलका रुपमा विकास गरी होमस्टे चलाउन प्रयास गरिरहेका छौँ र पुरानो बस्तीलाई पुरानै शैलीमा ढाल्न प्रयासरत छौं । अर्कातर्फ कागेश्वरी मनोहरा नगरपालिकाका पर्ति जग्गा के कति छन् भनेर नापी कार्य शुरु गरिसकेका छौँ । ती जग्गा नापी भइसकेपछि कुन स्थानमा कस्तो व्यवसाय र संघसंस्था सञ्चालन गर्ने भन्नेतर्फ हाम्रो ध्यान जानेछ र यसबाट उद्योग व्यवसाय फस्टाउन मद्दत पुग्नेछ ।
पुरातात्विक बस्तुबारे के हुँदैछ ?
यसको खोज र अन्वेषणका लागि जेष्ठ नागरिकबाट जानकारी लिएर अभिलेख राख्ने काम गर्दैछौं ।
महिलाका हकहित विषयमा के के हुँदैछ ?
म पहिला पनि सामाजिक क्षेत्रमा लागिरहेका हुनाले यसमा सक्दो पहल गरिरहेको छु । यसका लागि सबैभन्दा पहिला त महिलामा चेतना जगाउनु आवश्यक छ । त्यसका लागि महिलालाई आत्मनिर्भर बन्नसक्ने तालिम प्रदान गर्ने हाम्रो योजना छन् । महिला आफैँले पनि २–४ पैसा कमाउने बन्नसक्नु पर्छ । त्यसका लागि विभिन्न अभिमुखीकरण तालिम, सिप सिकाउने र घरव्यबहारका काम सकेर बचेको समय कुनै न कुनै सिपतिर लाग्न प्रेरित गर्नुपर्छ । त्यसो भयो भने महिलामा जागरण आउँछ र आफूले पनि केही गर्नुपर्छ भन्ने भावना विकास हुन्छ । यसका साथै विभिन्न बाध्यतावश एसएलसीसम्म परीक्षा दिनबाट वञ्चित दिदीबहिनीलाई एसएलसी दिने व्यवस्था मिलाउनेतर्फ पनि हाम्रो ध्यान केन्द्रित भइरहेको छ ।
५ वर्षका अवधिमा बनाउनुभएका योजना पूरा होलान् त ?
५ वर्षका लागि जति योजना बनाइएका छन् । ती सबै योजना पूरा नहुन पनि सक्छन् । नगरपालिकाको आयस्रोत, बस्तुस्थितिका आधारमा नगरपालिकाभर विकासका कार्य अघि बढाउनुपर्ने हुनाले ५ वर्षमा लाग्छ, बाटोसाथै जनचेतना जगाउने र केही विकास निर्माणका काम हुनेछन् । यसका लागि आत्मनिर्भरतासम्बन्धी तालिम जगाउन सकिन्छ र यसको माध्यमबाट नागरिकहरु आफै सचेत हुनेछन् र विस्तारै विकास निर्माणका कामहरु अघि बढाइनेछ । तर हामीले बनाएका योजना अनुसार नै काम हुनेछन् । हाम्रो प्रयास रहिरहनेछ ।