मेडिकल कलेज सञ्चालकहरुलाई खुलापत्र

–शुन्य प्रकम्पित
पढाउने गुरु भन्दा जान्ने म होइन । घटनास्थलभन्दा टाढा रहेर आफ्नै अड्कलमा टिप्पणी गर्ने अधिकार पनि छैन । तर समाचार सुनेका बखतबाट बिचलित छु । आफैँ पढेको मेडिकल कलेजको सघन उपचार कक्षमा मरेका भाइ महादेव साहको अनुहारको झल्को आइरहेछ निरन्तर । अहिले पनि त्यही भैरहवा मेडिकल कलेजमा पढिरहेको थिएँ वा ‘इन्टर्न’का रुपमा काम गरिरहेको थिएँ भने सायद लेख्न सक्ने थिइनँ होला, जे म लेखिरहेको छु ।

अचम्मको डर हुन्छ हामी विद्यार्थीका मनमा । चुपचाप मौन बस्न बाध्य पारिन्छ, जतिसुकै अन्याय वा अत्याचार हामीमाथि नै हुँदा पनि । अरु विषयका विद्यार्थी भइदिएको भए हामीलाई त्यतिबिघ्न मानसिक तनाव हुन्थेन होला । सहेर बस्न पनि सकिन्थेन होला, तर हामी चिकित्साशास्त्र पढ्ने विद्यार्थीलाई चौतर्फी दबाब हुन्छ । परिवारको लगानी र अपेक्षा, आफ्नै कति संघर्ष र सपनाका कारण हामीलाई आँट नै आउँदैन, हामीलाई त्यति धेरै अन्याय गर्ने आफ्नै कलेज र पहुँचवाल पैसावाल कलेज सञ्चालकहरु एवम् उनीहरुकै मतियार बनेका प्रशासकहरुविरुद्ध आवाज उठाउने ।

यदाकदा उठेका आवाजहरु पनि दबाइन्छन् । कति सजिलो छ दबाउन । परीक्षा रोकिदिए पुग्यो, निरन्तर पास हुदाँ पनि पढाइ सकिन ६ वर्ष भन्दा बढी लाग्ने हामीलाई हाम्रो समय खाइदिने प्रतक्ष्य, अप्रत्क्ष्य धम्की आइहाल्छ । अनि फेरि परीक्षामा पास हुन कलेज र गुरुहरुको निगाह नभई नहुने, जे–जे हुन्छ, सहेरै यो ठाउँबाट छिटो निक्लन पाए हुन्थ्यो भन्ने हुन्छ सबका मनमा ।

अति भएर बेलाबेला स्वर निस्कन थाले घाँटी निमोठिइन्छ । हामी अन्तिम वर्षको परीक्षा तयारीमा भएको बेला अग्रजहरुले एउटा प्रयत्न गर्नुभएको थियो । धेरै दिनको संघर्षपश्चात् कलेजले सम्झौता त गर्यो तर यसरी निमोठिदियो कि घाँटी, फेरि कहिले शिर ठाडो नहुने गरी । त्यतिबेला संलग्न हुने सबैलाई मानसिक तनाव त दियो नै कलेजले । त्यसको अलावा, संघर्षअवधिको हाजिरीका निउँमा धेरैले अन्तिम परीक्षा नै दिन पाउनुभएन । अनि सबैको ‘इन्टर्नसीप’ अबधि पनि लम्बियो, जसले उहाँहरुलाई दिर्घकालीन असर पक्कै पर्यो होला । तर उठाइएका जाहेज माग पूरा भएनन् ।

फेसबुकको एउटा ‘क्लोज्ड ग्रुप’ (कलेजका विद्यार्थीहरुको समूह) मा आफू बस्ने छात्रबासबारे नकारात्मक टिप्पणी ९वास्तवमा जायज टिप्पणी० गरेको आरोपमा जरिवानासहित छात्राबास निकाला गरिदिने मेरो कलेज, एकै परीक्षामा आइओएमका विद्यार्थीहरुले ५० रुपैयाँ तिर्ने ठाउँमा दशहजार रुपैयाँ लिने मेरो कलेज, निगरानीका बेला मात्र भारतबाट कहिल्यै देख्दै नदेखेका प्रोफेसरहरु रातारात झिकाउने मेरो कलेज अनि त्यही कलेजको माथिल्लो ओहोदामा आसिन व्यक्तित्वहरु नैतिकरुपमा यति पतित हुनुहुन्छ कि सम्झँदै घिन लाग्छ ।

त्यही कलेजको नुन खाएर हो या आफ्नै व्यक्तिगत अभिलाषा स्वार्थका कारण हो । ठूलाठूला विद्वान अनि परिपक्व डाक्टर हजुरबा, अंकल, दाइ अनि दिदीहरु पनि मौन बसिदिनुहुन्छ । हामीले केही समस्या लिएर सम्बन्धित निकाएमा जाँदा अचम्मको उत्तर आउँथ्यो, ‘Can your parents fulfill all your demands ? And when your demands couldn’t be fulfilled, do you quarrel with your parents as well ? Or try to understand them?’

हाम्रो समस्या सुन्नेबेला सधैँ आफूलाई हाम्रो अभिभावक भन्ने उहाँहरुले कहिल्यै पनि आफ्नो आभिभावकीय दायित्वबारे सम्झिनुभएन । सधैँ लागिरह्यो, ‘विद्यार्थी होस् या बिरामी, उहाँहरुका लागि हामी पैसाको बिटो मात्र हो ।’ जसरी थुत्दा आउँछ, त्यसरी थुत्नुहुन्छ । परीक्षा फारम भर्न १० हजार लिने कलेजले फारम भरिसकेपछि मात्र परीक्षामा संलग्न हुन नपाउने विद्यार्थीहरुको नाम निकाल्थ्यो, पैसा पच ।

भ्रस्टाचारभित्र त्यो पर्छ कि पर्दैन । थाहा छैन तर मेरा लागि मेरो देशको सबै भन्दा भ्रस्टाचारी मेरै कलेज हो । हामी प्रथम वर्षमा पढ्दा टहरामा पढाइ हुन्थ्यो, अहिले कलेजको ठूल्ठूला बिल्डिङ छन्, ती बिल्डिङका प्रत्येक इँट्टामा मेरा, महादेव भाइका अनि हामीजस्तै हजारौँ विद्यार्थीका अभिभावकको पसिना मिसिएको छ । अनि हाम्रो आँसु पनि । बिल्डिङसँगै आफ्नो स्तर पनि सुधार्न उन्मुख भएको भए सायद अर्कै हुन्थ्यो होला, तर जति कलेज बाहिरबाट सम्पन्न र राम्रो बन्दै गयो, भित्रभित्रै झन्झन खोक्रो बन्दै गएको महसुस हुन्थ्यो ।

कलेजभित्रका बेथिति देख्दा दिक्दार लाग्थ्यो । चिकित्सा पेशा नैतिक एवम् सबैरुपमा निकै महान लाग्थ्यो तर कलेजको लामो बसाइमा मैले भोगेका, देखेका कुराले मलाइ धेरैपटक पछुतो पनि लाग्यो यो पेसा रोजेकामा । उमेरले परिपक्व ठूला मान्छेहरु पनि पैसाका लागि कति मरिहत्ते गर्ने, नैतिकरुपमा कति पतित हुने ? आफ्नै अघि कति घिनलाग्दा घटना भए । शुरुशुरुमा प्रतिकार गरियो पनि तर कोही सुन्न बुझ्न खोज्ने भए पो !

सबैभन्दा आफू लाचार महसुस भएको समय तब थियो जब सँगै पढ्ने साथीको हात भाँच्चिएको थियो र त्यही अस्पतालमै उपचाररत रही हातमा प्लास्टर रहेको कारणले उसले एउटा आन्तरिक परीक्षा दिन पाएन र त्यही कारण उसलाई अन्तिम परीक्षामा रोक लगाइयो र उसको एक वर्ष जफत । हदैसम्मको प्रयास विफल भयो उसको, परीक्षा धेरै नजिकिएको थियो, हामी कसैलाई पनि सयुंक्तरुपमा बिरोध गर्ने आँट आएन या भनौँ स्वार्थ र डरले हामीलाई रोक्यो । विद्यार्थी जीवनमा पछुतो लाग्ने थोरै कुरामध्ये यो कुराले अलि बढी नै पिरोल्छ बेलाबेला, जति ठूला कुरा सोचे पनि, बोले पनि, हामीले आफ्नै आगाडिका चरम अन्यायको बिरोधमा केही गर्न सकेनौँ । महादेवको मनमा पनि यस्तै घटनाले पैदा गरेको डर हुनुपर्छ जुन मेरो कलेजमा पढ्ने, हरकोही मेहेनति विद्यार्थीको मनमा हुन्छ ।

मेरो हाजिरी पुगेन भने ? आन्तरिक परीक्षा दिन पाइन भने ? अनि त्यही निउँमा मेरो अन्तिम परीक्षा पनि रोकियो भने ? यही डरले महादेव ग्रस्त भएको हुनुपर्छ, प्रायः सबै विद्यार्थीजस्तै । त्यो एउटा पाटो हो भने अर्को पाटो, रोगको जटिलता उसले बुझेन होला, बुझेको भए त्यस्तो हुने थिएन । तर किन बुझेन ? किन बुझाइएन ? आफूलाई हाम्रो अभिभावक बताउने कलेजले आफ्नै काखमा आफ्नो बच्चाको निधन हुँदा त्यसको जिम्मेबारी लिने कसले ? ऊ बस्ने होस्टेलको होस्टेल वार्डेनको जिम्मेवारी हुन्छ कि हुन्न ? कलेजको केही उत्तरदायित्व नै हुन्न ? लेख्दै गर्दा अत्यन्त बिचलित छु, उसका आमाबुबा कुन अवस्थामा हुनुहोला ?

आफ्नै अंगालोमा साथी गुमाउनुपर्दा सँगै हुने साथीहरुमा के बित्यो होला ? जुनसुकै परिस्थितिमा यो घटना भएको होस्, पक्कै सामान्य छैन, सामान्य हुनै सक्दैन । गहिराइमा पुगेर वास्तविक तथ्य बुझेर समस्या समाधान नभएसम्म, न्याय नमिलेसम्म महादेवको आत्माले शान्ति पाउला ? यतिदिन बितिसक्दा पनि कलेजका तर्फबाट मैले कुनै कुरा वा जानकारी आधिकारिकरुपमा प्रकाशमा आएको थाहा पाएको छैन । यो आफैँमा गैरजिम्मेवारी होइन र ?

उपचारक्रममा लापरबाही भयो या भएन, पर्याप्त ध्यान दिइयो दिइएन, थाहा छैन र यति टाढा बसेर मैले केही टिप्पणी गर्न मिल्दैन । तर मेरो कलेजको वातावरण राम्रोसँग थाहा छ । राज्यले नै उपहास गरेको चिकित्साक्षेत्रमा चरम लापरबाही छ र सबैतिरबाट मारमाचाहिँ हामी युवा चिकित्सक एवं विद्यार्थीहरु पर्ने गरेका छौँ । आफैँ मेरो कलेजको ‘आइसियु’मा ‘इन्टर्न’का रुपमा काम गर्दा विरक्त लाग्थ्यो । मेरो कलेजको आइसियुले बिरामी बचाएको जस्तो कहिलै लागेन, मेरो सीमित ज्ञानका कारण त्यो नबुझेको पनि हुनसक्छु, तर मलाइ लाग्थ्यो, जति बिरामी आइसियुबाट सकुशल फिर्ता हुन्थे ।

आफ्नै भाग्य बलियो भएर मात्र । हरेक कुरा खोतल्दै जाँदा भित्र ठूलो खाडल नै भेटिन्छ, कुराहरु अहिले खोतलिरहन सान्दर्भिक ठानिनँ, खोतलेर पनि के गर्नु ? आफूलाई अप्ठ्यारो परेको बेला मात्र मान्ने भगवानसँग बारम्बार प्रार्थना गरेको छु, मेरा कलेजका मान्छेहरु साँच्चै पापी हुन् भने तिनको सर्वनाश होस्, जुवामा पैसा लगानी गरे जसरी अस्पतालले आम्दानीको बाटो मात्र बनाउनेहरुको पैसा डुबोस्, बर्बाद हुन् उनीहरु, पीडित सबैको आँशुले पिरोलोस् उनीहरुलाई !

अस्पताल नै बन्द होस् ! तर फेरि झस्किन्छु, अस्पताल नै बन्द भयो भने त टाढाबाट आउने बिरामीले के गर्लान् ? जस्तोसुकै भए पनि अस्पतालले सेवा पक्कै दिएको छ, विकृति त सर्वत्र छ । अञ्चल अस्पतालले पनि बिरामी रेफर गरेर पठाउने मेरो कलेजले समाजलाई सेवा पक्कै दिएको छ र त्यो सेवा निरन्तर हुनुपर्छ, तर स्वास्थ्य जस्तो संवेदनशील सबालमा अझै धेरै गम्भीर हुनु आवश्यक छ, म भन्दा कैयौँ गुणा ज्ञान अनुभव र परिपक्वता भएका ठूल्ठूला व्यक्तिलाई त्यो ज्ञात नै होला ।

म अहिले सरकारी जिल्ला अस्पतालमा कार्यरत छु र अहिले म कार्यरत अस्पतालभन्दा म पढेकै अस्पतालको सेवा राम्रो छ, बिरामीको चाप पनि धेरै छ, अनि यहाँ मृत्युवरण गर्ने बिरामीको संख्या नि कम छ, त्यहाँ जटिल रोग लागेका र अन्यत्र उपचार हुन नसकेका बिरामी धेरै आउने कारण पनि त्यहाँको मृत्युदर बढी हुनु स्वभाभिक होला, तर भाइको मृत्युले ठूलो प्रश्नचिन्ह लगाइदिएको छ । स्वास्थ्यउपचारको स्तर र गम्भीरतामाथि ।

सत्यतथ्य छानबिन गर्ने तटस्थ समिति बनोस्, कसैको प्रभावबिना, दबाबबिना छानबिन होस्, न्याय मिलोस् ! तर परिणाम जे सुकै आओस्, मनले सधैँ यही भनिरहनेछ, ‘आफ्नै कलेजले निलिदियो महादेवलाई, ब्यापारीहरु फेरि उम्किए ! लाचार बनेर एउटा कम्प्युटर अगाडि बसेर आफ्नो मनको बह पोख्दैछु, सायद यसले चुपचाप मूल्यांकन नगरी कुरा सुनिदिने भएर होला ! तर पनि मनमा उकुसमुकुस कम छैन । भाइको मुस्कानसहितको त्यो निर्दोष अनुहार आँखाअघि आइरहन्छ । प्रश्न गर्न मन लागेको छ, बारम्बार अनि सबैलाई ! हामी सबै मौन किन ? के यो सामान्य घटना हो ?

एनएमसीको ध्यानाकर्षण भएको छ कि छैन ? कुनै औपचारिक कदम वा प्रतिक्रिया किन आएको छैन ? एनएमए, एनडिएको केही उत्तरदायित्व छैन ?

डिएएसओएनः फेसबुकका भित्तामा न्याय फल्छ ?
वाइडिएः केवल एउटा शोक मन्तब्य ? पुग्छ ?

युसिएमसीः आधिकारिक जानकारी खोइ ? अलिकति पनि उत्तरदायित्वको आभास छ ? बिन्ति न्याय दिनुहोस् । अलिकति पनि नैतिकता छ भने ।

प्रेस, मिडियाः तटस्थ भर्इ समाचार सम्प्रेषण गरिदिनुहोस, पैसा र पहुँचको कर र दबाबमा नपरिकन !

अन्त्यमा, त्यहाँ के भयो वास्तविकता थाहा छैन, तर भाइको निधन हुनुगावै राति नै आइसियुमा रहेका विद्यार्थी र इन्टर्नहरुले अस्पतालका प्राध्यापक, ठूला चिकित्सकलाई गुहार माग्दा पनि किन केही ठोस कदम चालिएन ? अनि एकाबिहानै भाइको निधनपश्चात सबै भेला भएपछि कलेजका ठूला मान्छेहरुबाट आइसियु भित्र छिरेर ढोका बन्द गरेर के प्रयास गरियो ? किन अरुलाई त्यहाँ छिर्न दिइएन ? किन नाटक गरियो ?

किन त्यहाँ उपस्थितले जायज प्रश्न गर्दा पनि उत्तर दिइएन ? आधिकारिक जानकारी नआएसम्म यो घटना नियाल्ने हरेक व्यक्तिका मनमा यी प्रश्नहरु ठोकिइरहन्छन् । त्यतिबेलाको त्यो माहोल कस्तो थियो र किन भाइबहिनी तोडफोडमा उत्रे भन्ने कुराको अनुमान गर्न मात्र सक्छु । कसैले पनि त्यो बेलाको स्थिति फितलोरुपमा लिन मिल्दैन, तोडफोड हुनु नराम्रो हो तर जहाँ आवाज सुनिन्न, दबाउन मात्र खोजिन्छ, साथ दिने, सम्झाउने कोही हुन्न, भावनाहरु कसरी पोखिउन् त ? आवेशको हूल बढ्दा कलेजका भित्ताहरुले दुःख पाउने नै भए ।

(शून्य प्रकम्पित भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा अध्ययन गरेका पूर्व विद्यार्थी हुन् । उनले थुप्रै पीडित विद्यार्थीको अनुभव समेटेर खुलापत्र लेखेका हुन् । नेपालका मेडिकल कलेज हाताभित्र हुने अनियमितता, बदमासीबारे आमजनताले थाहा पाउनुपर्छ भन्ने मान्यता राखेर खुलापत्र लेखिएको हो । २० साउनमा कलेजमै अध्ययनरत विद्यार्थी महादेव साह (बिडिएस चौथो वर्ष, जनकपुरनिवासी) को उपचारक्रममा मृत्यु भएपछि यो खुलापत्र छाप्न योग्य ठानेका हौँ । गुप्ताङ्गमा पिलो जस्तो खटिरा देखिएपछि आफ्नै कलेजको अस्पतालमा भर्ना भएका साहको अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै कलेजमै अध्ययनरत विद्यार्थी र आफन्तले आरोप लगाएका छन् ।–सं.)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…

काठमाडौं । युक्रेनबाट पर्यटक भिसामा आएर काठमाडौंमा पिपुल वर्क ग्रुप सञ्चालन गरी एकजोडीले ६ सय भन्दा बढी युवालाई ठगी प्रयास…

रञ्जन भण्डारी महोत्तरी । ‘५ वर्षीय छोरा अझै पनि बुबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छ,’ थमन विककी पत्नी शोभाले भन्नुभयो, ‘मसँग…

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…