काठमाडौं । प्रत्येक दुई वर्षमा गरिने ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’बाट डोटीकी सरस्वती नेपाली पुरस्कृत हुनु भएको छ । पुरस्कार बुधबार प्रदान गरिँदैछ ।
सन् २०१८ का लागि बैतडीकी सामाजिक न्याय क्षेत्रको उदाउँदो अभियन्ताका रुपमा नेपालीलाई अवार्ड दिन लागिएको हो ।नेपालीसँगै डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुन्के, बर्दियाका दीलिप गन्धर्व र बाजुराका डा. रूपचन्द्र विश्वकर्मालाई समेत सम्मान गरिनेछ ।
सुदूरपश्चिमको दलित परिवारका सदस्य नेपाली भूमि अधिकार, शिक्षा, पत्रकारिताको क्षेत्रमा अगुवाइ गर्नुका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका खेल्ने महिला हुन् । सन् २००८ देखि २०११ सम्म भूमि अधिकार मञ्च, बैतडीको संयोजक रहेकी नेपालीकै अगुवाइमा भएको अभियानबाट ३७ परिवारले २ रोपनी जग्गा र लालपूर्जा प्राप्त गरेका थिए ।
नेपालीको नेतृत्वमा बैतडीलाई मार्च २१, २००७ मा हलिया प्रथा (बँधुवा श्रम) बाट मुक्त जिल्ला घोषणा गरिएको थियो । सन् २००९ देखि २०११ सम्म शान्ति समितिको जिल्ला संयोजक भएर काम गरेकी नेपाली शान्ति समितिको पहिलो महिला जिल्ला संयोजक पनि हुन् ।
नेपालीले बैतडीमा बलात्कार पीडित महिलाका न्यायका लागि, विशेष गरी मानसिक रूपमा कमजोर बालिकामाथि भएको बलात्कारविरुद्ध लामो संघर्ष गरेकी छिन् । नेपालीले चलाएको अभियानमै बलात्कारीलाई ११ वर्ष कैद सजाय भएको छ । सेप्टेम्बर २००७ मा डोटीको शैलेश्वरी मन्दिर प्रवेशका लागि भएको तेस्रो संगठित संघर्षका अगुवामध्येकी एक नेपाली सम्मानित हुँदैछिन् ।