विद्यार्थीकालदेखि राजनीतिमा क्रियाशील शुक्रलक्ष्मी श्रेष्ठ काभ्रेको श्रीखण्डपुरमा जन्मिनु भएको हो । काभ्रे क्याम्पसबाट १२ सम्म अध्ययन पूरा गरी मीनभवन क्याम्पसमा स्नातक शुरु गर्नुभएकी श्रेष्ठको विभिन्न कारणवस पढाइ रोकियो । राजनीतिक जीवनको लामो भोगाई र विभिन्न आन्दोलन पार गरेर २० वर्षपश्चात् भएको स्थानीय निर्वाचनबाट शंखरापुर नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभयो । जनता समाचार डटकमको लागि कान्ति न्यौपानेले गरेको संक्षिप्त कुराकानीः
राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
विद्यार्थीकालमै राजनीतिमा प्रवेश गरेँ । त्यही समयदेखि सक्रिय भएर नेकपा एमालेको संघसंगठनमा भाग लिन थालेँ । राजनीतिमा सक्रियता बढ्दै गएपछि अखिल नेपाल महिला संघमा १० औँ वर्ष अर्थात् दुई कार्यकाल अध्यक्ष भएँ । नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै २०५४ मा धुलिखेल नगरपालिकामा महिला सदस्य भएर काम गरेँ । राजनीतिक सक्रियता बढाउँदै जाँदा शंकरापुर नगरपालिकाको उपमेयर भएर काम गर्ने अवसर पाएकी छु ।
के छन् जनताका अपेक्षा ? काम गर्दाको अनुभूति ?
विजयी भएपछि खुशी लाग्नु त स्वभाविकै हो, योसँगै आफ्नो शिरमा जिम्मेवारी थपिएको महसुस गरेँ । पहिलादेखि नै विभिन्न संघसंगठनमा आवद्द भई, थुप्रै आन्दोलनमा होमिई यहाँसम्म आइपुग्न थुप्रै चुनौति सामना पनि गर्नु परेको छ । यो जीत अवसर पनि हो । नमूनायोग्य काम गरेर देखाउने समय आएको छ । त्यसैले जनअपेक्षाअनुरुप कार्य गर्दै, समयको मागअनुसार दायित्व निर्वाह गर्नु नै छ ।
नगरका काम कसरी अगाडि बढेका छन् ?
नगरको मुख्य समस्यामा केन्द्रित छौँ । पूर्वाधार विकासमा परिवर्तन ल्याउन खटिरहेका छौँ । खानेपानी, शौचालय, रोजगार, शिक्षा, महिलामा चेतना अभिवृद्धि गराउनेलगायतका थुप्रै काम नगरपालिकाभित्र भइरहेका छन् । मानिसमा चेतना र ज्ञान कमी हुँदा परम्परागत सोच र कार्यशैली बदलिन सकेको छैन । कारण आधुनिक समाज निर्माणमा केही असर परेको छ । त्यसैले हामी यहाँका सम्पूर्ण समस्याको विस्तृत अध्ययन गरेर समाधान गर्नेमा जोड दिइरहेका छौँ । हामीले बाटोघाटो र शौचालय निर्माणलाई प्राथमिकतामा राखेका छौँ । पूर्वाधारको विकासका लागि सबैभन्दा महत्वपूर्ण बाटो नै हुनाले यसको विकासमा बढी जोड दिने र यात्रुलाई सहज यात्रा गराउने लक्ष्य छ । यसैगरी, शौचालय निर्माणमा पनि हामीले जोड दिइरहेका छौँ । प्रत्येक घरमा शौचालय निर्माण गराएर खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जोड दिइरहेका छौँ । जनजीवनमा प्रत्यक्ष सरोकार राख्ने पानी व्यवस्थापनमा पनि हामी लागिरहेका छौँ । सिञ्चाइँको राम्रो व्यवस्थापन गरेर किसानलाई उपलब्ध गराउने र कृषिलाई व्यावसायिकतातर्फ उन्मुख गराउन पहल गरिरहेका छौँ ।
नगरको प्रमुख समस्या चैँ के देखियो ?
ग्रामीण भेग र शहरी भेग मिश्रण भएको नगरपालिका हुनाले थुप्रै समस्या छन् । अशिक्षा, चेतनाको कमी, लैङ्गिक विविधता, छूवाछुत, अव्यवस्थित शौचालय, बिजुली, पानी, स्वास्थ्य, रोजगारी, परम्परागत सोच, परम्परागत कृषि र पशुपालन समस्या नै हो । ग्रामीण भेगका समस्या भिन्न किसिमका छन् भने शहरी भेगका फरक छन् । शहरमा उद्योग, कलकारखाना, रोजगारीका समस्यामा केन्द्रित हुनुपर्ने छ भने ग्रामीण भेगमा आधुनिक कृषि, पशुपालन, व्यवसाय र स्वरोजगारमूलक तालिममा जोड दिनुपर्ने देखिन्छ ।
अन्य नगरपालिकाको तुलनामा शंखरापुरको फरक योजना के छ ?
हाम्रो नगरपालिका भर्खरै विकासको गतिमा लम्कन खोज्दै छ । यो नगर अझै पनि अशिक्षा, चेतनास्तरमा कमी, आधुनिकताको कम प्रभाव र परपम्रागत कृषिमै निर्भर छ । कारणः यहाँ थुप्रै चुनौति र समस्या छन् । ग्रामीण भेग बढी हुनाले पूर्वाधार निर्माणदेखि शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रमा व्यापक परिवर्तन ल्याउनुपर्ने छ । सरकारले विकास बजेट छुट्याउँदा जनसंख्याका आधारमा छुट्याउने हुनाले ग्रामीण भेग बढी भएको र पूर्वाधारको विकास केही हदसम्म मात्र भएको नगरपालिकालाई काम गर्न बजेटको अभाव हुन्छ । त्यसैले अब जनसंख्याका आधारमा होइन, भूगोल र कति विकास निर्माण भएको अध्ययन गरेर सरकारले बजेट निकासा गर्ने हो भने हामी पनि अन्य नगरजत्तिकै समृद्ध हुन सक्थ्यौँ ।
अल्पकालीन र दीर्घकालीन योजना के के छन् ?
हाम्रा थुप्रै योजना छन् । कुनै तत्कालै पूरा गर्नुपर्ने छ भने केही योजना पछिसम्म पूरा गर्न बनाइएको छ । अल्पकालीन योजना त थुप्रै छन् । जुन मैले बताइसकेको छु । तीमध्ये केही योजना पूरा भइरहेका छन् भने कुनै पूरा हुने चरणमा छन् । त्यसैगरी दीर्घकालीन योजनामा नगरलाई पर्यटकीय नगरीका रुपमा विकास गर्नु हो । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नगरी पर्यटकीय आकर्षणको केन्द्र बन्नसक्छ । यहाँ वज्रयोगिनी मन्दिर, शालीनदीलगायतका धार्मिक स्थलको मर्मत सम्भारमा जोड दिदैँ जाने हाम्रो लक्ष्य छ । शालीनदीमा लाग्ने १ महिने मेलामा १० लाख मानिस यो स्थानमा आउँछन् । एकमहिनाका लागि मात्र नभएर वर्षभरि पर्यटक आउने केन्द्र बनाउनमा जोड दिनेछौँ ।प्रतिनिधिसभासदस्य र प्रदेशसभा सदस्यमा पनि हामीले असल, सरल र क्षमतावान नेता पाएका छौँ ।
प्रतिनिधिसभामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल हुनुहुन्छ । उहाँ जस्तो व्यक्तिलाई आफ्नो सांसद भन्न पाउनु यहाँका नगरबासीका लागि गौरवको कुरा हो । यो ठाउँको विकासमा उहाँको ठूलो योगदान छ ।
शंखरापुर नगरपालिकाभित्र पछिल्लो समय विकासमा ठूला योजना छन् । पूर्व प्रधानमन्त्रीको प्रयास र सक्रियतामा राष्ट्रिय महत्वका आयोजना समेत आइरहेका छन् । प्रदेशसभा सदस्य मणिराम फुयालले पनि शंखरापुर नगरपालिकाको विकास निर्माण प्राथमिकतामा राख्नुभएको छ । केही योजना हामी आफैँले पनि तय गरेका छौ । ५ नम्बर वडास्थित पञ्चलक्ष्मीको मन्दिर जहाँ शालिग्राम भेटिएको थियो, त्यसको मर्मतसम्भारमा जोड दिने र मनिचुडमा रहेको पोखरीको सम्वद्र्धनका साथै त्यसको विकासको लागि बजेट छुट्याउने योजना छ । यसैगरी, किसानलाई आधुनिक कृषिसम्बन्धी तालिम दिई कफी खेती, अर्गानिक खेती, बाख्रापालन, आधुनिक कृषितर्फ प्रोत्साहन गर्नेसाथै जेष्ठ नागरिक सम्मान कार्यक्रम, लैङ्गिक विभेद, असमानता र दलित उत्थानका लागि पनि पहल गर्ने योजना छन् ।
नगरको योजना र विकास निर्माणलगायतका कार्यक्रम तय गर्दा मेयर र उपमेयरबीच विवाद हुन्छ कि हुँदैन ?
नगरको योजना र विकास निर्माण लगायतका कार्यक्रम तय गर्दा हामीबीच कहिल्यै पनि विवाद हुने गरेको छैन । मेयर सुवर्ण श्रेष्ठ यसअघि २०५४ सालमा यसै इन्द्रायणी गाविसको अध्यक्ष हुनुहुन्थ्यो । गाविस अध्यक्षको जिम्मेवारी सम्हालिसकेकाले उहाँलाई स्थानीय तह कसरी सञ्चालन गर्ने भन्ने राम्रो अनुभव छ । पार्टी राजनीतिमा पनि उहाँ जिल्ला कमिटी सदस्य र क्षेत्रीय कमिटीमा अध्यक्षको जिम्मेवारी कुशलता पूर्वक बहन गर्नुभएको व्यक्ति हुनुहुन्छ । उहाँ जनतामा असाध्यै घुलमिल भएको, मिलनसार र सरल व्यक्तित्व हुनुहुन्छ । विभिन्न सामाजिक सेवा र संघसंस्थामा आवद्द हुनुभएको हुँदा उहाँ म भन्दा धेरै अनुभवी हुनुहुन्छ । त्यस्तो व्यक्ति मेयर हुँदा हामीलाई काम गर्न एकदमै सजिलो भएको छ । हरेक कार्यक्रममा जाँदा र कार्यक्रम निर्माण गर्दा एकआपसमा सल्लाह गरेर, योजना बनाएर मात्रै हामीले कामलाई निरन्तरता दिने गरेका छौँ । त्यसैले अहिलेसम्म हाम्रोबीच बेमेल र असमझदारीको स्थिति देखापरेको छैन र त्यस्तो स्थिति आउने अवस्था पनि छैन ।
महिला हकहितको लागि कस्ता कार्यक्रम ल्याउनुभएको छ ?
नगरसभा माघमा हुँदैछ । त्यसमा महिलालाई प्राथमिकतामा राखेर छुट्टै कार्यक्रमहरु निर्माण गर्नेछौँ । महिलाको नेतृत्व सीपमा वृद्धि, प्रस्ताव लेखनसम्बन्धी तालिम, सहकारीसम्बन्धी तालिम, महिलालाई प्रत्यक्ष लाभ हुने तालिम, विभिन्न अन्तक्र्रिया, लोकसेवा तयारी कक्षा तालिम, महिला स्वास्थ्य र सरसफाइसम्बन्धी तालिम, कृषि र पशुपालन पनि महिलासँगै जोडिने हुँदा यी कुरामा पनि विशेष जोड दिइरहेका छौँ । त्यसैगरी माला बुन्ने, अचार बनाउने, जुस, लप्सी क्यान्डी बनाउने कार्यमा पनि हामीले जोड दिइरहेका छौँ । यसका साथै महिलाले उत्पादन गरेका सामान बजारसम्म पुर्याउने र त्यसको उचित मूल्य दिलाउनेमा पनि हामी केन्द्रित छौँ ।