पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ
–इच्छा गुरुङउबेलाको कुरा हो, कक्षा ९ मा पढ्थेँ । कक्षामा राम्रै विद्यार्थीमा गनिएको थिएँ । अनि त्यो दिनको कुरा हो, म सबैभन्दा पहिलो बेन्चमा बसेर नेपाली विषयका ‘गुरू’ले पढाइरहनु भएको ध्यान दिएर सुनिरहेकी थिएँ । एक्कासी सुस्तरी गुरूले प्याट्ट टाउकोमा हिर्काउनु भएपछि झसंग भएर गुरूतिर हेरेँ । उहाँले अलि सुस्तरी ‘छोरी मान्छे भएर यसरी खुट्टा हल्लाउनु हुन्छ, सोमत नभा’की केटी’ भन्नुभयो । यसो हेरेको खुट्टा त मज्जाले हल्लाइरहेको रहेछु । गुरूको हप्काइ पछि सम्हालिएँ । त्यो दिन गुरूले नेपालीको कुन शीर्षकमा पढाइरहनु भएको थियो, अहिले याद छैन । तर उहाँले भन्नु भएको त्यो ‘सोमत नभा’की केटी’ आमरण सम्झनेछु ।
अरुको त जान्दिनँ, मेरो सन्दर्भमा कुरा गर्दा जब म बस्दा सहज महसुस गर्छु वा शरीरलाई सहज बनाउन मन लाग्छ तब अनायासै मेरा खुट्टा हल्लिएका हुन्छन् । तर नैतिक शिक्षामा यो कार्य अशोभनीय मानिन्छ भनेर क्रमशः ठूली हुदै गर्दा थाहा पाउँदै गएँ । अझै पनि छोरी मान्छेले कतै बस्दा खुट्टा हल्लाउन हुँदैन, उपरखुट्टी लगाएर बस्न हुँदैन । अन्य पनि धेरै सीमा निर्धारण गरिएको पाइन्छ । यदि त्यसो गरे कस्तो सोमत नभएकी केटी भन्ने गरेको त प्रायः हामी सबैलाई थाहा नै छ ।
उदाहरणका लागि खुट्टा हल्लाउने कुरा मात्र होइन । अरु धेरै प्रसंग छन् जसले महिलाका लागि छुट्टाएको नैतिक सीमाबोध गराउँछ । एकपटक घरमा सासुआमाले भन्नु भएको कुरा स्मरण गरेँ, ‘उहिले छोरी मान्छेहरुले खित्का छोडेर हास्न पाइँदैनथ्यो, हास्न परे मुख छोपेर आवाज ननिकाली हास्नु पर्थ्यो, अहिले यो उमेर भइसक्दा पनि अझै पनी मेरी जेठानी दिज्यू त आवाज ननिकाली खुसुखुसु हास्नु हुन्छ ।’यति लेखिरहँदा पुरुषलाई चाहिँ नैतिक सीमा छैन भन्न खोजेको होइन । तर पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ । नीतिका कुराहरु सबै गलत हुन् भन्न खोजिएको कदापि होइन । ती पावन्दीहरु कति गलत वा सही त्यो त सबैको आआफ्नै मूल्यांकन होलान् तर ती सीमाहरुले पक्कै सबैलाई संयमित हुन सिकाउँछ भन्नेमा दुईमत नहोला । जुन कुरा जीवनभर हामीलाई उपयोगी पनि हुन्छ । कुन स्थानमा कसरी बोल्ने, शिष्टाचार कसरी राख्नेदेखि खाने, हिँड्ने, बस्ने पाटोमा स्वयम् विचार गर्नु आवश्यक छ । जीवनशैलीलाई अनुशासित बनाउन सहयोग गर्छ ।
अर्को सत्य, अहिलेको सोचले पुराना ती नीतिका कुरालाई परिमार्जन गर्दै ल्याएको छ । हरेक घरमा सानैदेखि छोरीलाई मात्र होइन छोरालाई पनि सकारात्मक संस्कारमा हुर्काउने, सानैदेखि रचनात्मक, आत्मनिर्भर बनाउने, बिनासंकोच स्पष्ट मिठो बोल्न सिकाउने वातावरण बन्न जरुरी छ । सभ्य समाज निर्माण गरी नकारात्मक सोमत होइन सकरात्मक सोमत विकास गर्नु जरुरी छ । यति लेखिरहँदा एक वाक्य अझै थप्न मन लाग्यो । हाम्रो समाजभित्र पुरुषलाई सधैँ छुट दिने महिलालाई मात्र नैतिक सीमा निर्धारण गर्ने प्रवृति सुधार गर्ने कि ?