शव बोकेर रातभर जंगल हिँडिरह्यौँ

–भीमलाल भट्टराई डिएसपी, नुवाकोट

नेपाल प्रहरीमा जागिर खाएको १९ वर्ष भयो । धेरै संर्घषपूर्ण रह्यो १९ वर्षे सेवा अवधि । विगत १९ वर्षमा राष्ट्रसेवक सिपाहीका हैसियतले धेरै घटना दुर्घटनामा जोखिमपूर्ण उद्धार कार्यमा भाग लिएँ । तर, नुवाकोट हेलिकोप्टर दुर्घटनाको उद्धार कार्यमा निकै मेहनत गरियो । एउटै घटनामा उद्धारका लागि लामो समयसम्म खटिएको यो पहिलो अवसर हो ।

बिहान १० बजेतिर दुर्घटनाको खबर आयो । प्रहरी टोलीको नेतृत्व गर्दै घटनास्थलतर्फ कुदेँ । वर्षाको समय, भीरपाखा पानीले गर्दा ठाउँठाउँमा भत्किएर बाटो अवरुद्ध भएको थियो । जंगलबीचमा खसेको हेलिकोप्टर कहाँ र कसरी खोज्ने ठूलो चिन्ता थियो । कुन बाटो कता पुगिन्छ भन्ने ज्ञानै थिएन । नहुनु दुर्घटना त भइसकेको थियो । टारेर टार्न नसकिने । तर, हेलिकोप्टरमा सवारको अवस्था के छ भन्ने पनि थाहा थिएन । सकेसम्म चाँडै पुग्न पाए घाइतेलाई बचाउन सकिन्थ्यो कि भन्ने मनमा कुरा खेलिरहेको थियो । मसँग रहेको प्रहरी टोली सकेसम्म बेगमा हिँड्यौँ । मौसम ज्यादै खराब थियो । हुस्सू र कुहिरोले बाटोसमेत नदेखिने । घना जंगल अनि चिप्लो बाटो । निगालाको बोट र बनमाराको झार समाउँदै भिरालो उकालो चढ्दै गयौँ । जुका लागेर हैरान बनायो ।

लगभग ५ घण्टा लम्किएर हिँडेर पछि दुर्घटना भएको स्थानमा पुग्यौँ । दुर्घटनाग्रस्त हेलिकोप्टर क्षत्विक्षत भएको रहेछ । दुर्घटनाग्रस्त हेलिकप्टरको टुक्राटाक्री यत्रतत्र छरिएको थियो । हेलिकोप्टरमा सवार यात्रु को कता उछिट्टिएका छन्, नजर त्यता दौडायौँ । हेलिकोप्टर बजारिएको ठाउँदेखि लगभग ६० मिटर तल भीरमा अड्किएको महिलालाई देख्यौँ । उनी जीवित थिइन् र पानी मागिरहेकी थिइन् । टोलीको एक प्रहरीले सुनाएपछि भीरमा ओर्लिँदै घाइतेसम्म पुग्यौँ । उनी थिइन् आनी डोल्मा डिकी र अहिलेसम्म जीवितै । बोकेर माथि ल्याइयो । घाइते भेटिएकी आनीलाई सबैभन्दा पहिले उपचार खाँचो थियो । घटनास्थलमा अर्को हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था थिएन । मौसम अनुकुल थिएन । घाइते आनीलाई डोकोमा बोकेर २ घण्टा बाटो हिँडयौँ । त्यसपछि हेलिकोप्टरमा उपचारका लागि काठमाडौं पठायौँ । उद्धार टोलीमा रहेका प्रहरीहरु अन्य यात्रुलाई खोजिरहेका थिए । त्यसपछि जो भेटियो सबै मृत भेटिए । यत्रतत्र लडिरहेको र मृत्यु भइसकेको अवस्थामा शव मात्र फेला पार्न सकियो । सबै शव बोकेर माथि सडकमा ल्याउन शुरु गरियो । भीरको बाटो भएका कारण शव बोकेर ल्याउन निकै कठिनाइ भयो । तर पनि समाज र राष्ट्रप्रतिको कर्तव्यपालनबाट किञ्चित विमुख भइएन । रातैभर शव बोकेर सडकसम्म ल्याइयो । सबै शव बाटोसम्म ल्याउँदा बिहान ५ बज्यो । ८ बज्दा त्रिशुली आइपुग्यौँ । ९ बजे सबै शव हेलिकोप्टरबाट काठमाडौं पठाएपछि हामी कार्यथलोतिर फर्कियौँ । नुवाकोटको म्यागङ गाउँपालिका १ बसुन्केतको मैलुङ पाखा जंगलमा शनिबार हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएकाको शव व्यवस्थापन गर्न २४ घण्टा लाग्यो ।

५ घण्टा हिँडेर चिप्लो भीर पाखा छिचोल्दै दुर्घटनास्थल पुगेका थियौँ । रातभर शव ओसा¥यौँ । भौतिक शरीर थाकेर क्लान्त भए पनि आत्मसन्तुष्टि छ । समाज र राष्ट्रप्रतिको उत्तरदायित्व पूरा ग¥यौँ । दुर्घटना र ६ जनाको मृत्युप्रति दुःखी छौँ तर एक जना भएपनि आनीलाई बचाउन सकेकोमा खुशी छौँ । यो काममा खटिएका मेरा टोलीका सुरक्षाकर्मीको सहयोग जहाँ पुगे पनि सम्झिरहनेछु ।
(जमुना गजुरेलसँगको कुराकानीमा आधारित)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…