जनकपुर । संविधान दिवस, सरकारले संविधान दिवस मनाउन भव्य तयारी गरिरहेका बेला प्रदेश नम्बर २ मा कालो दिवस मनाउने पूर्वतयारी थियो ।
प्रदेश २ मा मधेसी जनताको मागअनुसार संविधान संशोधन हुन नसकेको भन्दै असोज ३ लाई कालो दिवसका रुपमा मनाउने तयारी थालिएको हो । कालो दिवस मनाउन राष्ट्रिय जनता पार्टी नेपालले औपचारिकरुपमा निर्णय गर्दै आफना केन्द्रीय नेतालाई कालो दिवसका दिन मधेसको आठवटै जिल्लामा कमाण्ड गर्ने गरी जिम्मेदवारीसमेत दिएको छ । मधेसबाटै अभिमत प्राप्त गरेका अर्को दल संघीय समाजवादी फोरम नेपालले संविधान दिवस नमनाउने र तटस्थ बस्ने निर्णय गरेको छ ।
कालो दिवस मनाउने विषयमा फोरमको प्रदेश र केन्द्रबीच ‘विज्ञप्ति वार’
असोज ३ गते संविधान दिवस मनाउने विषयमा सत्तारुढ संघीय समाजवादी फोरम नेपालको केन्द्र र प्रदेश २ को प्रदेश समितिबीच विरोधाभाष देखिएको छ ।
प्रदेश २ का तर्फबाट आइतबार जारी प्रेस विज्ञप्तिमा असोज ३ गते संविधान दिवस मनाउने कुनै पनि कार्यक्रममा सहभागी नहुन पार्टीबाट निर्वाचित जनप्रतिनिधि लगायत सबैमा आग्रह गरिएको छ ।
[caption id="attachment_65941" align="alignright" width="150"]
-प्रमोद कुमार साह[/caption]
संविधान संशोधनमार्फत मधेसी, आदिवासी जनजाति, दलितलगायत सबैको अधिकार सुनिश्चित गर्ने सहमतिका साथ पार्टी सरकारमा गए पनि अहिलेसम्म त्यसको कार्यान्वयन नभएको भन्दै असोज ३ गते साँझ ७ बजेदेखि १५ मिनेट ब्ल्याक आउट गर्ने, दिनभर कालो पट्टि बाध्ने, सार्वजनिक स्थानमा कालो झण्डा झुण्ड्याउने विज्ञप्तिमा उल्लेख छ ।फोरमको मधेस प्रदेश कार्य सम्पादन समिति अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष रेणुकुमारी यादवद्वारा जारी प्रेस विज्ञप्तिमा पार्टीको कार्यक्रममा सहयोगका लागि सबैमा आग्रह गरिएको छ । यस्तै, सोमबार पार्टीका केन्द्रीय उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा कालो दिवस मनाउने कार्यक्रममा सहभागीका लागि पार्टीले निर्णय नगरेको भन्दै त्यस्ता कार्यक्रममा सहभागी नहुन आग्रह गरिएको छ ।
संविधानप्रति असहमति र फरक धारणा यथावत रहे पनि त्यसको कमी कमजोरी सच्याउँदै प्राप्त अधिकार संरक्षण र थप अधिकारका लागि संविधान संशोधन गर्ने सत्ता सहभागी दलबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
फोरमको केन्द्र र प्रदेशबीच फरक धारणा सार्वजनिक भएको फोरम नेपालका नेता तथा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले संविधान संशोधन गर्ने वर्तमान सरकारले भनिसकेको अवस्थामा संविधान संशोधन नभएसम्म संविधान दिवस मनाउनुपर्ने हो र त्यसरी नमनाएर तटस्थ बस्न निर्णय भएको बताए ।
कालो दिवसबारे फरक मतअसोज ३ गते कालो दिवस मनाउने विषयमा प्रदेश २ सरकारमा दुवै पार्टीका मन्त्रीहरुको फरक मत देखिएको छ । प्रदेश २ का भौतिक योजना राज्यमन्त्री तथा राजपा नेपालकी प्रवक्ता डा. डिम्पल झा मधेसीको चिता जलाइँदै गरेको समयमा संविधान निर्माण गरिएको र यो संविधान अपूर्ण तथा मधेस हितमा नरहेकाले संविधान दिवस मनाउनु कुनै तुकै नरहेको बताइन् । उनले मुख्यमन्त्रीको अभिव्यक्तिका विषयमा आफूलाई केही थाहा नभएको बताउदै मुख्यमन्त्रीले संविधान दिवस मनाए आफूहरुको अनुपस्थिति रहने बताइन् ।
यता, प्रदेश २ सरकारकै आन्तरिक मामिला तथा कानुन मन्त्री तथा फोरम नेपालका नेता ज्ञानेन्द्र यादवले संविधानलाई आंशिकरुपमा नै मानेर प्रदेश सरकारमा सामेल भएको बताउदै उनले संविधान संशोधन आवश्यक रहेको र संशोधन नभएसम्म अधिकार प्राप्ति हुने नभएको संविधान दिवस जसरी मनाउनुपर्ने हो, त्यसरी नमनाएर तटस्थरुपमा वस्ने वताए ।
के भन्छन पत्रकारहरुजनकपुरका वरिष्ठ पत्रकार वृजकुमार यादवका अनुसार राजनीतिक दलले आफनो सुविधा अनुसार व्याख्या गरेको बताउँनुहुन्छ । संविधानमा रहेको त्रुटि सच्याउन मधेसवादी दलले भन्दै आएको र सोहीअनुसार प्रधानमन्त्रीले संविधान संशोधन गर्ने प्रतिवद्धता दिइसकेको अवस्था छ । उनले प्रदेश सरकारमा सामेल दुई दलमध्ये एकले कालो दिवस नमनाउने विषय कुनै ठूलो कुरा नभएको बताए ।
त्यसैगरी, जनकपुरधामका अग्रज पत्रकार वीरेन्द्र रमणले कालो दिवस संविधानमा रहेको असन्तुष्टिका कारण भएको बताए । संविधानमा पनि उल्लेख भए अनुसार आफना असन्तुष्टि समेटेर विरोध गर्न पाउनुपर्ने अधिकार भएकाले मधेसवादीले कालो दिवस मनाउनु गलत नरहेको बताए ।
कालो दिवसमा सिके राउत
असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउन स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले पनि आह्वान गरेका छन् । सिके राउत विभिन्न पर्चा पम्प्लेट, सामाजिक सञ्जालमा ‘चलु जनकपुर भरु जनकपुर’ नारा दिएर प्रचार गर्दै आएका छन् । सिके राउतले दिएको पछिल्लो केही अभिव्यक्तिका कारण उनको समर्थन गर्नेमा कमी देखिए पनि राजपा नेपालले पनि कालो दिवस मनाउने आह्वान गरेका कारण असोज ३ गते कालो दिवसमा विशाल सहभागिता हुने अनुमान छ । सिके राउतले कालो दिवस मनाउने घोषणा गरेदेखि नै प्रहरीले उनलाई खोजी गर्दै आएको छ । जनकपुरधामस्थित उनको डेरामा २४ सै घण्टा प्रहरीको पहरा रहे पनि अहिलेसम्म उनी फेला पर्न सकेका छैनन् ।
२०७२ असोज ३ गते संविधान जारी भइरहँदा मधेसमा आन्दोलन भइरहेको थियो । संविधान जारी भएपछि काठमाडौंमा दीपावली मनाउँदा मधेशका ब्ल्याक आउट भएको थियो ।
तस्बिरः सरकारले जारी गरेको नयाँ मुलुकी ऐनको विरोधमा कालो पट्टि बाँधेर समाचार लेखनमा सक्रिय पत्रकारहरु ।