डा. विजयकुमार पौडेल
अमिताभ बच्चनको ट्विट मैले ‘रिट्विट’ गरेपछि आएका प्रतिक्रियाबारे युवा मित्रसँग छलफल गर्न मन लागेर यो सानो टिपोट लेख्दैछु ।
भारतीय चलचित्र उद्योगका महानायकका रुपमा ख्यातिप्राप्त वरिष्ठ कलाकार अभिताभ बच्चनले हिजो राति १० बजे गरेको ट्विटमा एकाबिहानै आँखा प¥यो र प्रतिक्रियासहित यस्तो ‘रिट्विट गरेँः
प्रतिक्रिया जनाउँदै मेरा ट्विटरका केही असल मित्रहरुले देशमा कामै नपाइएको, विदेश जान बाध्य हुनु परेकोतर्फ ध्यानाकर्षण गराउनु भयो । उहाँहरुको आशय ‘मिहिनेत गर्ने ठाउँ नै नपाएपछि के गर्नु ?’ भन्ने हो । उहाँहरुको गुनासो धेरै मात्रामा जायज छ तर यसमा छलफल पनि उत्तिकै आवश्यक छ ।
अमिताभ बच्चनको जन्म ११ अक्टुबर सन् १९४२ मा भएको थियो । यस हिसाबले अहिले उनी ७६ वर्षमा चल्दैछन् । हाम्रो पुस्ताका लागि उमेरका हिसाबले पनि उनी हाम्रा बाहरुका समकालीन छन् । यो उमेरमा पनि रातको २ बजेसम्म काममा घोटिन सक्ने कुरा नै अहिलेको युवा पुस्ताले सिक्नु पर्ने कुरा हो । अमिताभ बच्चनलाई नपुग्दो के होला र ? यहाँ सवाल ‘पुग्ने वा नपुग्ने’ कुरासँग सम्बन्धित छैन । यहाँ त कुरा कामप्रतिको प्रतिबद्धता र समर्पणको छ । किन लामो समयसम्म चलचित्र क्षेत्रको ‘समिट लेभल’मा अमिताभ बच्चन टिकिरहेका छन् भन्ने कुराको एउटै उत्तर हो, ‘कामप्रतिको प्रतिवद्धता र समर्पण’ । अमिताभ बच्चनका समकालीन कलाकारहरु कति आज विस्मृतिको कुहिरोमा हराएका छन् तर उनी सधैँ तरोताजा छन्, फुर्तिला छन्, मिहिनेती छन् । श्रमप्रतिको यस्तै समर्पण र लगावले मात्रै व्यक्तिगत उन्नतिका साथै राष्ट्रको उन्नति पनि गराउँछ ।
समाज सुधार अभियानमा अहोरात्र डो¥याइरहने अग्रज, गुरू अनि वरिष्ठ मित्र तथा दार्शनिक गोपीरमण उपाध्यायज्यूको संगतले सानैदेखि देशी–विदेशी फिल्मी, पत्रिका पढ्ने बानी प¥यो । सन् १९८० को नोभेम्बरमा अमिताभ बच्चन र धर्मेन्द्र अभिनित ‘राम–बलराम’ फिल्म रिलिज भएको थियो । त्यो फिल्म सुपरडुपर हिट भएको थियो । त्यसै प्रसंगमा ‘मायापुरी’ पत्रिकामा अमिताभ बच्चनको अन्तर्वार्ता छापिएको थियो । त्यसमा उनले आफ्नो संघर्षको कथा बताएका थिए ।
अमिताभ बच्चनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ (सन् १९६९) थियो । त्यो चलेन । त्यसपछिका उनका हरेक फिल्म लगातार असफल भए । उनले काम पाउन छोडे । त्यतिखेरै जया भादुडी (हाल जया बच्चन) हिट नायिका भइसकेकी थिइन् । उनको विशेष अनुरोधमा वरिष्ठ निर्देशक प्रकाश मेहराले ‘अन्तिम मौका’ भन्दै ‘जञ्जिर’ (सन् १९७३) फिल्ममा काम गर्ने अवसर दिए । त्यो फिल्म सुपरडुपर हिट भयो । त्यसपछि उनको सफलता यात्रा शुरु भयो । ‘जञ्जिर’मा खेल्नुअघि निरास भएर उनी आफ्नो घर इलाहावाद फर्किने विचार बनाएका रहेछन् । एकजना मित्रले हिम्मत बढाइदिएछन्, ‘अझै संघर्ष गर’ भनेर ।
जञ्जिर फिल्मबाट अमिताभ बच्चनको सफलता शुरु भयो तर पछि पनि अनेकौँपटक उनको व्यावसायिक यात्रामा अनेकन उतारचढाव आए । ती सबैलाई जित्ने उनको एउटै उपाय थियो, ‘मिहिनेत, निरन्तर मिहिनेत ।’ त्यत्ति कुरा हाम्रा युवाहरुले सिक्न सकुन् भनेर उनको ट्विट रिट्विट गरेको हुँ ।
हाम्रो देशको अव्यवस्थाले युवा विदेशिनु परेको सत्य हो । आजसम्म देशको राजनीतिक नेतृत्वले सही दिशाबोध गराउन नसकेर नै यस्तो भएको हो । यसमा राजनीतिक काम गरिटोपल्ने, अझ कम्युनिष्ट पार्टीमा बस्ने हामीहरुकै दोष छ भन्नेमा कुनै शंका छैन । महात्मा गान्धीका पालामा समस्या थिएनन् र ? उनका समयमा पनि आफ्नै प्रकारको उपभोक्तावाद अगाडि आइसकेको थियो, अहिलेजस्तो नभए पनि । उनले यसरी आव्हान गरे कि आम भारतीय युवाले सस्तो र गुणस्तरीय बेलायती कपडा नलगाएर आफैँ बुन्दा महँगो पर्ने खस्रो–मोटो खद्दर (खादी)को कपडा लगाउन तयार भए । गान्धीको ‘खादी अभियान’ले एकातिर बेरोजगारी कम गर्न सहयोग ग¥यो भने अर्कातिर युवालाई वैचारिक रुपमा स्वतन्त्रता आन्दोलनसँग जोड्यो । मानिसबाट सकारात्मक कुरा सिक्ने हो, गान्धी कम्युनिष्ट थिएनन् तर भारतका राष्ट्रपिता हुन् ।
एकैपटक धेरै पैसा कमाउने चाहनाले नै हाम्रा युवालाई विदेश धकेलेको छ । मरिमेटेर काम गर्ने हो भने हाम्रा भिर–पखेरामा के फल्दैन र ? आवश्यकता छ, धस्सिएर काम गर्ने तथा आफ्ना निजी आवश्यकतालाई सीमित गर्ने कुरामा । हाम्रा युवा उपभोक्तावादबाट मुक्त हुने हो भने बाँच्न पुग्ने आयस्ता हाम्रा खेतबारीले दिन्छन् । यही देशमै मिहिनेत गर्ने हो भने राष्ट्रिय आय पनि बढ्छ । यहाँको उत्पादनसँग नजोडिइकन यहाँको बेरोजगारी समस्या समाधान गर्न पनि सकिन्न । जबसम्म विदेश गएका अनौपचारिक तथ्यांकअनुसार चानचुन ५० लाख युवा स्वदेश फर्किन्नन्, तबसम्म बेरोजगारी समस्या समाधान गर्न यहाँको राजनीतिक नेतृत्वलाई दबाब पनि पर्दैन । कल्पना गरौँ, जब ५० लाख युवा विदेशको रोजगारी छोडेर ठूलो संख्यामा यहाँ फर्किनेछन्, तब यहाँको अवस्था के होला ? त्यति ठूलो जनशक्ति बेरोजगार राख्न सम्भव नै हुने छैन । त्यतिखेर ‘काम चाहियो’ भनेर सबै युवा सडकमा जुलुश लगाउन पक्कै जाने छैनन्, उनीहरुले विदेशमा सिकेको सीप प्रयोग गर्न थाल्ने छन् । अनि शुरु हुनेछ रोजगारी वृद्धि र पुनरउत्पादन चक्र ।
सफल र असफल दुवै व्यक्तित्वबाट सिक्न सकिन्छ । अमिताभ बच्चन सामान्य मध्यमवर्गीय परिवारमा जन्मिएका मानिस हुन् । उनीबाट निरन्तर मिहिनेतको गुण सिक्न सकिन्छ ।
प्रश्न उठ्छ, यहाँको सरकारले काम गर्ने मौका दिएन भन्नेबारे । सरकारलाई काम गर्न बाध्य पार्ने जिम्मा युवाहरुकै हो । अब कसैलाई दोष दिने मात्र नभै आफैँ देश बनाउन लाग्नुपरेको छ । अरबको प्रचण्ड गर्मी हुने स्थानमा दैनिक १६ घण्टा मिहिनेत गर्ने युवाले त्यहीँ श्रम यो ठण्डा मुलुकमा लगाउने हो भने कुनै सरकार कुर्नु पर्दैन भन्ने लाग्छ ।