नारायण भण्डारीकाठमाडौें । हनुमानढोका दरबार परिसरमा शुक्रबार विधिपूर्वक इन्द्रजात्राको लिङ्गो, इन्द्रध्वज ठड्याइएको छ । इन्द्रध्वज उत्थान गरेपछि वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा शुरु हुन्छ ।
भाद्रशुक्लपक्षको द्वितीयादेखि शुरुहुने इन्द्रजात्रा आश्विनकृष्णपक्षको चतुदर्शीसम्म मनाइन्छ । परम्पराअनुसार काभ्रेको नालास्थित वनमा तान्त्रिक विधिले मन्तरेर छाडिएको बोकाले छोएको रुख ढालेर लिङ्गो बनाई काठमाडौं ल्याइन्छ । काभ्रेदखि काठमाडौसम्म सडकमा लिङ्गो तानेर हनुमानढोका ल्याइपुर्याइन्छ । यसलाई सजाएर पूजा गरी शुभ साइतमा ठड्याउने चलन छ ।
लिङ्गो ठडयाउँदा नेपाली सेनाले हर्ष बढाइँ गर्दछन् । लिङ्गो ठड्याएको अवलोकन गर्न स्थानीय वासिन्दा र पर्यटक भेला हुने गर्दछन् । इन्द्रध्वजोत्थानपछि शुरु हुने इन्द्रजात्रा ८ दिनसम्म मनाइन्छ । लोकमा अब पानी पुग्यो जलवर्षा रोक्नु भनेर देवराज इन्द्रलाई सन्देश पठाउन इन्द्रध्वजोत्थान गरिएको कथन छ ।
देवराज इन्द्र आफ्नी आमा वसुन्धरालाई मनपर्ने पारिजातको फूल टिप्न कान्तिपुर नगरीमा आई नसोधी फूल टिप्ता पक्राउ परेको कथन छ । पक्राउ परेका पुत्रलाई छुटाउन देवराज इन्द्रकी आमा वसुन्धरा कान्तिपुर आई लोकवासीलीलाई अन्नवालीवृद्धिका लागि बादलको सट्टा कुहिरो दिएर गएकी हुनाले इन्द्रजात्रापछि वर्षा रोकिई कुहिरो लाग्ने गरेको बताइन्छ ।
हनुमानढोका क्षेत्रमा राजा गुणकामदेवले कान्तिपुर नगरको जग हालेको स्मरणमा इन्द्रजात्रा मनाउन थालिएको भन्ने पनि पाइन्छ । हनुमानढोका दरबारक्षेत्रमा तत्कालीन राजप्रासाद रहेको र राजालाई इन्द्रका रुपमा प्रतिष्ठित गरिएकोे हुँदा राज्यशक्तिको सम्मान र शान बढाउन इन्द्रध्वजोत्थानको परम्परा शुरु भएको उल्लेख छ ।
इन्द्रजात्राका अवसरमा हनुमानढोका परिसरमा गणेश,कुमारी इन्द्र,कालभैरव श्वेतभैरव, तथा आकाशभैरवको विशेष पूजाआजा गरिन्छ । पूजाआजा गर्दै रथहरु नगरपरिक्रमा गराइन्छ । यो जात्रा काठमाडौका साथै ललितपुर, भक्तपुर धुलिखेल तथा दोलखामा पनि मनाइन्छ ।