विश्वमा सन २००८ मा क्यान्सर रोग निदान भएका रोगीको संख्या १ करोड २६ लाख अनुमान गरिएको थियो । सोही वर्ष ७५ लाख ६० हजार मानिसको यसै रोगका कारण मृत्यु भएको थियो । क्यान्सर शरीरको जुनसुकै अंगमा लाग्ने भए पनि बाहुल्यता फोक्सो, महिलाको स्तन, ठूलो आन्द्रा–मलद्धार र आमाशय क्यान्सरमा देखिन्छ । नेपालमा महिलामा पाठेघरको मुखमा क्यान्सर, मुख, टाउको तथा घाँटी क्यान्सर अत्यधिक छ । क्यान्सरबाट प्रभावित हुने बिरामीको संख्या विश्वमा औषत १ लाख जनसंख्यामा १८८ प्रतिवर्ष भन्दा धेरै छ ।
बदलिँदो जीवनशैली, जनसंख्या वृद्धि, औषत आयु वृद्धिले क्यान्सरको प्रकोप बढिरहेको छ । विश्व स्वास्थ्य संगठनले सन २००८ मै क्यान्सर, मुटुरोग, स्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मधुमेहलाई २१ औँ सताब्दीका लागि मानव स्वास्थ्यको सबैभन्दा ठूलो खतरा किटान गरिसकेको छ ।
संसारमा मृत्युको कारकमध्ये १४ प्रतिशत क्यान्सर हो । सबभन्दा कम कम्तीमा ५ प्रतिशत अफ्रिकी देशमा र बढी २७ प्रतिशत बेलायतमा छ । तर संख्याका हिसाबले संसारका क्यान्सर बिरामीमध्ये ४८ प्रतिशत एसियामा छन् ।क्यान्सरको विश्वव्यापी समस्या समाधान गर्न विश्व स्वास्थ्य संगठनले ३ वटा बाटो सुझाएको छ । ती बाटोमा तथ्यमा आधारित क्यान्सर हुनै नदिन रोकथामका उपाय अपनाउने, समयमै क्यान्सर निदान गर्ने व्यवस्था मिलाउने र क्यान्सर भएका बिरामीको उचित उपचार हुन् । सन २०११ मै विश्व स्वास्थ्य संगठनले २१ औँ सताब्दीका निम्न र मध्यम आय भएका देशमा क्यान्सरसँग जुध्ने कार्य एजेण्डामा नै बनेको छ ।
नेपालमा पनि अन्य विकासोन्मुख देशमा जस्तै धेरै स्वास्थ्य समस्या र समाधानका लागि साधनस्रोत कमी छ । विगतमा नेपालको स्वास्थ्य क्षेत्रमा राम्रै उपलब्धी भए पनि अझै समस्या छन् । मातृ मृत्युदर, बाल–शिशु मृत्युदर उच्च छ, पोषणको समस्या जटिल छ । सामान्य झाडापखाला, दादुराका कारण सिकिस्त हुने–मर्नेको संख्या ठूलै छ । उपरोक्त स्वास्थ्य समस्याका साथै जीवनशैलीजन्य रोगः क्यान्सर, मुटुरोग, मधुमेह संक्रमण दिनानुदिन बढ्दैछ ।
नेपालमा क्यान्सर लाग्नेको अनुपात १ लाख जनसंख्यामा १०० देखि १२० प्रति वर्ष र करिब ५५ हजार क्यान्सर रोगी रहेको अनुमान छ । नेपालमा निदान भएका क्यान्सरमध्ये फोक्सो, पाठेघरको मुख, स्तन, मुख, टाउको तथा घाँटी, आमाशयको क्यान्सर प्रमुख छन् । यीमध्ये रोकथाम गर्न सकिने तथा समयमा पत्ता लागे वा लगाएर उपचारबाट निको गराउन सकिने खालका छन् ।
नेपालमा क्यान्सरको रोकथाम, नियन्त्रण तथा उपचारका लागि केही प्रयास भएका छन तर यसले पर्याप्त गति लिन सकेको छैन । सरकारले यो कार्य गर्न ऐनबाट स्वशासित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना गरेको दुई दशक हुनलागेको छ, मन्त्रालयमा पनि जीवनशैलीजन्य रोग नियन्त्रण कार्य गर्न पेन कार्यक्रम (प्याकेज अफ इसेन्सल ननकम्युनिकेबल डिजिजिज्) शुरु भएको छ । लामो प्रयासपछि सूर्तिजन्य पदार्थ नियन्त्रण ऐन पारित भए पनि पूर्णरुपमा कार्यान्वयन हुनसकेको छैन । केही गैरसरकारी संस्था पनि यो काम गर्ने मनसायले स्थापना भएका छन् । अन्तर्राष्ट्रिय दातृसंस्थाले पनि चासो देखाएका छन् । तर भरपर्दो र सबैलाई समेटने कार्यक्रम लागु हुन सकेको छैन ।
यो रोग नियन्त्रणका लागि सबै साझेदार संस्थाले सक्रियतापूर्वक काम गर्न जरुरी छ । जसमध्ये केही काम निम्न छन्ः राष्ट्रियस्तरमा क्यान्सर रोकथाम तथा नियन्त्रण नीति निर्माण तथा सो कार्यान्वयनका निमित्त संयन्त्र तयार गरिनु पर्दछ । साथै लक्ष्य र जिम्मेवार निकाय तोकी कार्य अगाडि बढाउन पर्दछ । स्वास्थ्य मन्त्रालयले यस कार्यको समन्वय गर्न विभाग वा केन्द्रको स्थापना गरी प्रदेश र स्थानीय निकायसम्म कार्यक्रम बनाइ लागू गर्न सक्रिय गराउन पर्दछ, साथै आवश्यक नीति निर्माण गरी साधनस्रोत जुटाउन पहल गर्नु पर्दछ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो स्थापनाको उद्देश्यअनुरुप क्यान्सर रोकथाम तथा नियन्त्रणमा जोड दिनु पर्दछ, अध्यापन, अनुसन्धानमा जोड दिनु पर्दछ, स्रोतकेन्द्रका रुपमा स्थापित हुन पर्दछ । स्तरीय क्यान्सर उपचार सेवा सरल र सुपथ किसिमबाट प्रदान गर्नु पर्दछ । गैरसरकारी संस्थाले पनि राज्यकोषको आशा नगरी सकेको योगदान पु¥याउन पर्दछ ।
नेपालका आम स्वास्थ्यकर्मीले पनि क्यान्सरको बढ्दो समस्या मनन गर्दै हरेक क्रियाकलापमा क्यान्सर नियन्त्रणका निमित्त सक्रिय भूमिका खेल्नु पर्दछ । स्वास्थ्यकार कोष यसको स्थापना गर्दाको मनासयअनुरुप यसबाट उठने रकम क्यान्सर नियन्त्रण कार्यमा मात्र खर्च गर्ने व्यवस्था मिलाउनु पर्दछ । क्यान्सरको भरपर्दो तथ्याङ्क संकलनका निमित्त अस्पताल तथा समुदायमा क्यान्सर रजिष्ट्री कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिनुपर्दछ ।
फोक्सोको क्यान्सरको प्रमुख कारक तत्व तथा अन्य क्यान्सरको कारण सूर्तिजन्य पदार्थ नियन्त्रणको लागि बनेको ऐन अक्षरशः पालना गराइनु पर्दछ । क्यान्सर रोकथाम तथा समयमै अस्पताल आउन प्रेरित गर्ने किसिमका क्यान्सरको विविध पक्षको प्रचारप्रसार अभियानका रुपमा गरिनु पर्दछ । पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा भिआइए र सो भन्दा माथिका स्वास्थ्य संस्थाहरुमा एबउ क्mभबच लिने र जाँच क्षमता विकास गर्ने र नियमित सेवा दिने व्यवस्था मिलाउनु पर्दछ ।
स्तन क्यान्सर नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्रहरुमा द्यक्भ् र सो भन्दा माथिका स्वास्थ्य संस्थामा ँल्ब्ऋ गर्ने क्षमता विकास गर्ने र नियमित सेवा दिने व्यवस्था मिलाउनु पर्दछ । मुखको क्यान्सर नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा शंकास्पद दागहरु हेर्ने र नियमित सेवा दिने व्यवस्था मिलाउनु पर्दछ ।
खाद्य पदार्थको उत्पादन र भण्डारणमा अत्यधिक विषादी प्रयोग हुने सन्दर्भमा नियन्त्रणका लागि कृषि मन्त्रालय तथा सरोकारवाला निकायसँग संयुक्त कार्य गरिनुपर्दछ । निकट भविष्यमा ठूलो समस्याका रुपमा देखा पर्ने प्रक्षेपण गरिसकेको क्यान्सर नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन यथाशिघ्र सञ्चालन गरे मात्र यसबाट हुने ठूलो धनजन क्षतिबाट बच्न सकिन्छ ।
(शिवाकोटी, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका उपप्रमुख जनस्वास्थ्य अधिकृत हुन् )