अस्मिता रिजालकाठमाडौं । बाल्यकालदेखिको नाटकमोहलाई युवाअवस्थाको व्यस्तताले छायाँमा पारेको बेला वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकसँगको केही दिनअघिको भेटले एकपटक झक्झकाइदिएको थियो । ‘न्यायप्रेमी’ नाटकमा पाठकको स्टेफनको भूमिकालाइ १५ बर्षे बालमस्तिष्कले राम्रैसँग क्याच गरेको रहेछ क्यारे । भूकम्पपछि गुरुकूल बन्द भएसँगै नाटक हेर्ने मौका पनि साँघुरिँदै गए । समय र परिस्थितिले पनि अवसरलाई धकेल्दै लगे सायद । लामो समयको अन्तरालमा कुञ्ज थिएटर पुग्दा निकै उत्साहित थिएँ । थिएटरको एकातिरको अडियन्स रो मात्र भरिएको देख्दा लाग्यो ः नाटक झुर छ जस्तो छ ।
नाटकको शुरुमा सेढाइँ कान्छो र फुर्बा को संवादले नाटकको कथाको मेलोपत्तो पाइएन । तर जब क्रिकेट खेलाडी कान्छाले आफूले गरेका सामाजिक कामहरुको बेलिविस्तार लगाउँदै गयो कथाले नराम्रैसगँ छक्का मारेको महसुस भयो । शुरुमा जग्गु र सुर्माबीचको वैवाहिक प्रेमलीलाले जति रोमाञ्चित बनाएको थियो कथा अगाडि बढ्दैजाँदा त्यत्तिकै मानसिक द्धन्द्ध पनि थपियो । अर्काको गाउँ छोडेर गएपछि उनीहरु छुट्टै संसार बसालेर नयाँ व्यावसाय पो थाले की, या उनीहरुको प्रेमको नयाँ बिरुवा उम्रिएर हाँसीखुशी हुर्काउँदै पो छन् की .. यस्तै यस्तै कौतुहलताले मनमा डेरा जमाइरहेका बेला जग्गुको फरक उपस्थितिले म मात्रै होइन सायद नाटक हेरिरहने सबै दर्शकलाइ दुखी बनायो । आफूलाइ परेको गहिरो चोटको बदलास्वरुप जग्गुले अपनाएको बाटो पटक्कै मन परेन । बरु बदलाको साटो जागरणको बाटो रोजेको भए हुन्थ्यो नी....लागिरह्यो ।
तर कथा त्यही बदलाको कहानीबाटै अघि बढेको छ, दर्शकको सोझो आँखाले हेरेर मात्रै हुन्छ र ? फेरी पात्र आफैँ बोल्छ ः मानिसलाइ चोटले बदल्छ , नोटले बदल्छ अनि अठोटले बदल्छ आखिर सत्य पनि यही थियो तितै भएपनि ।
कथाको दोस्रो मोडकी प्रमुख पात्र कान्छीमाया भाउजुको भूमिका निकै साहसी लाग्यो । आफूमाथि भएको आक्रमणको प्रतिरोध गर्न हतियार सहित निस्किएकी मतवाली आइमाई देख्दा लागेको थियो हो महिलाप्रति गिद्धेदृष्टी राख्ने पुरुषविरुद्ध हरेक नेपाली नारीले यसैगरी काली भएर निस्कनुपर्छ । तर त्यो उत्साह पनि धेरैबेर टिकेन । दानवरुपी पुरुषहरुको राक्षसी प्रवृतिसँग देवीको हार भएकै देख्दा हाम्रो समाजको यर्थाथ झल्झल्ती नाचिरह्यो आँखाभरी....
छिनमै हँसाउने, छिनमै उत्साह जगाउने अनि फेरी छिनमै दुखी बनाउने नाटकको आरोह अवरोहले नाटक हेर्नुको असली मजा थियो । कुनैकुनै दृश्यहरुमा त यती डुबिएछ की आँखाले दिमागलाइ पठाएको भिज्वलाइजेसन छेउमा बस्ने साथीको हातमा गएर जोडिन्थ्यो । किन यसरी डराएको साथीको आवाजपछि बल्ल झस्यांग हुने.....
नाटकमा प्रत्येक पात्रको भूमिका नेपाली समाजको ऐनाजस्तै लाग्यो । समाजमा हुने गरेका घटनालाई छर्लंगै पारिदिने । पत्रकारको भूमिकालाइ बलियो रुपमा प्रस्तुत गरिएको छ कथा लेखकको पेशागत पृष्ठभूमिको प्रभाव हुनसक्छ । कथामा देखाइएका दुई प्रतिनिधि घटनामा पुरुष पात्रलाइ नै मुख्य दोषी देखाइएको छ । हाम्रो समाजमा महिलाद्धारा नै महिलालाइ अनेक लञ्छना लागाउने र विभिन्नखाले अमानवीय व्यावहार गर्ने गरेका घटना पनि प्रशस्तै हुने गर्छन् । दुईमध्ये एक उदाहरणलाइ यसरी पनि देखाएको भए हुन्थ्यो की ः दर्शकको आँखाले देखेको ।
नाटक बोक्सीप्रथाको कुरीतिमा अधारित भएपनि पछिल्लो समय बढेका बलात्कार र हत्याका घटनाका कारकसँग पनि ठ्याक्कै मेल खान जान्छ । अर्थात् नाटकमा बोक्सी उद्योगले जरो गाढ्नुमा जुन तत्वहरुलाइ कारक देखाइएको छ हाम्रा दिदीबहिनी हिंसाको शिकार हुनुका कारक पनि तिनै हुन् । अनि घटनाको छानबीनमा भएको ढाकछोप र दण्डहिनताले प्रशय पाउनुको कारण पनि उही गाउँ प्रमुख र नेताजीको फोनमा भएको कुराकानी जस्तो । त्यसैले होला नाटक बोक्सी उद्योग को वजन समसायिकता तुलोमा जोख्न योग्य छ ।
दर्शकको कमी त नाटक बारे प्रचार प्रसारको अभाव रहेछ । धेरै भन्दा धेरै मानिसले हेर्नै पनेै नाटकमा प्रसस्त दर्शक पुग्न नसक्ने अवस्थाले भने उदेक लगायो ।