पछिल्लो समय नेपालमा निरन्तर भइरहेको महिला हिंसाका घटनाले नागरिक समाज भयभित बनेको छ । महिलामाथि हुने एसिड आक्रमण र बलात्कारका घटनाको शृङ्खला नै चलेको अवस्थामा भिन्नै प्रकृतिको घटना ‘बालिका बलात्कार र हत्या’ सबैलाई संवेदनशील बनाएको छ । नेपाली समाज अचम्मित छ, किन दिनप्रतिदिन हृदय विदारक बालिका बलात्कारका घटना दोहोरिरहेको छ ?
पछिल्लोपटक कञ्चनपुरकी निर्मला पन्त र पोखराकी श्रेया विकको बलात्कार अनि हत्याले देशमै खैलाबैला मच्चियो । नेपालमा बलात्कारसम्बन्धी कडा कानुनी व्यवस्था नभएका कारण यस्तो घटना नियन्त्रणमा समस्या भएको सबैको एउटै धारणा हुने गरेको छ । जब बलात्कारका घटना हुने गर्दछ तब बलात्कारीलाई फाँसी माग उठ्ने गर्दछ । जघन्य अपराध गरेबापत मृत्युदण्ड सजाय दिइने देशलाई ‘रिटेसनिष्ट’ भनिन्छ । हाम्रो देश ‘रिटेसनिष्ट’ देश होइन । तसर्थ जतिसुकै जघन्य अपराध गरे पनि कानुनतः यहाँ मृत्युदण्ड नहुने निश्चित नै छ । तर पटकपटकको यस्तो घटना र बलात्कारीलाई कडा सजाय मागका कारण यो पटक नीतिनिर्माता कानुन संशोधन गर्न बाध्य बन्दै छन् । यसअघि मुलुकी ऐनले नेपालमा बालिका बलात्कारसम्बन्धी निम्न बमोजिमका सजाय व्यवस्था गरेको थियो ।
बालिका १० वर्ष भन्दा कम भए १० देखि १५ बर्ष कैदबालिका १० देखि १४ वर्षको भए ८ देखि १२ वर्ष कैदबालिका १४ देखि १६ वर्षको भए ६ देखि १० वर्ष कैदबालिका १६ देखि १८ वर्षको भए ५ देखि ८ वर्ष कैद सजाय हुने व्यवस्था छ ।
भदौ ८ गते महिला सांसदहरुको प्रस्तावमा व्यवस्थापिका संसदमा बलात्कारसम्बन्धी व्यवस्थापिका संसदमा संकल्प प्रस्ताव पेश भयो । जसमा पुरुष सभासदहरुको पनि पूर्ण सर्मथन थियो । महिलामाथि हुने हिंसा, शोषण विभेद गर्ने अपराधीलाइ कडा र चाँडो सजाय हुनु पर्ने माग छ । भर्खरै बलात्कार र हत्याविरुद्ध सरकारले कडा कानुन बनाएको पनि छ ।
यसैबीच महिला हिंसाविरुद्ध निरन्तर आवाज उठाइरहने अभियन्ता तथा अनेरास्ववियु नेतृ आरती लामाले बलात्कारीलाई ‘केमिकल क्यास्ट्रेसन (रासायनिक बन्ध्याकरण) को सजाय दिइनु पर्ने र यस बिषयमा बहस चलाउनु पर्ने विचार व्यक्त गर्नु भएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै लेख्नु भएको छ, बहस आबश्यक छ बलात्कारीलाई कस्तो सजाय दिन जरुरी छ ? मृत्युदन्ड कि केमिकल क्यास्ट्रेसन ? अमेरिका, जर्मनी, भारतलगायतका धेरै देशमा बलात्कारीलाई केमिकल क्यास्टे«सन सजाय दिने कानुन रहेछ ।
के हो केमिकल क्यास्ट्रेसन (रासायनिक बन्ध्याकरण) ?प्राचीन समयमा ग्रीसदेखि शुरु भएको यो प्रक्रिया पुरुषलाई यौनसम्बन्धी पूर्ण रुपमा निक्रिय पारिन्छ । प्राचीन समयमा पुरुषको लिङ्ग नस्ट गरेर अपराधीलाई सजाय दिइन्थ्यो भने प्रविधि विकाससँगै रसायन प्रयोग गरेर पुरुषलाई यौन उत्तेजनामै पूर्णरुपमा निष्क्रिय पार्न सकिन्छ जसलाई केमिकल क्यास्ट्रेसन भनिन्छ ।
कुुन देशमा छ केमिकल क्यास्ट्रेसन ?
भारत, इजरायल, अर्जेन्टिना, दक्षिण कोरिया, अमेरिका, न्युजिल्याण्ड जस्ता देशमा विभिन्न समयमा बलात्कारीलाई केमिकल क्यास्ट्रेसनको सजाय दिइएको नजीर छ ।