लक्ष्मण शर्मा
काठमाडौं । पटक पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार राति अबेरसम्म बस्यो । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विधान संसोधन गर्न बसेको बैठकले नेविसंघमा ३२ वर्षे उमेरहद कायम गरेको छ ।
निर्वाचनको समयदेखि नै कांग्रेस पार्टीदेखि भातृ संगठनसम्म युवाको सहभागिता नभएको भन्दै पार्टी भित्रै विरोध हुँदै आएको विषयलाई कांग्रेसले विधान संसोधन मार्फत नै सम्बोधन गरेको छ ।
एक समय पार्टीमा पुरानो पुस्ता हावी भएकै कारण कांग्रेस कमजोर भयो भन्ने कांग्रेसका नेता तथा कार्यक्रता आइतबारको निर्णयले भने केही शान्त भएका छन् । तर कांग्रेसभित्र जेलिएको राजनीतिक नीतिले मात्र साम्य बनाउन सक्ने अवस्था भने छैन् । कांग्रेसले संसोधन गरेको विधानयनबाट वर्तमान कार्यसमितिमा रहेका धेरै नेताहरु विद्यार्थी राजनीतिबाट बाहिरिने भएका छन् ।
बाहिरिनेमा सभापति शेरबहादुर देउवा निकटका वर्तमान कार्यसमितिका उपाध्यक्ष पुष्पकुमार शाही र पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, उपसभापति विमलेन्द्र निधिनिकट महामन्त्री सरोज थापा, वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मनोजमणि आचार्य, हिमालदत्त श्रेष्ठ र दीपक भट्टराई, महामन्त्री डा. शशांक कोइरालानिकट उर्मिला थपलिया, निलकण्ठ रिजाल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला गुटबाटका उपाध्यक्ष नवीन राई र महामन्त्री कुन्दनराज काफ्ले रहेका छन ।
लामो समय कांग्रेसको विद्यार्थी राजनीति गरेका नेताहरु अब हुने विद्यार्थी संगठनको निर्वाचन मार्फत मुलधारको राजनीतिमा फड्को मार्ने जमर्को गरेका थिए । तर पार्टीले आफूहरुको राजनीतिक जीवनमा नै असर पार्ने गरेर विधान संसोधन गरेको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीले लामो समयसम्म भातृ संगठनको महाधिवेशनबाट गराउन नसक्दा आफूहरुको राजनीति बीना अवतरण सकिने खतरा भएको उनीहरुको गुनासो छ ।
विधान संसोधन पछि नेविसंघको १२ औै महाधिवेशन छिट्टै गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसको उमेरहद निर्णयले नेकपा पनि तरंग पैदा गरेको छ । तत्कालिन एकाले र माओवादी केन्द्र एकिकरण पछि बनेको नेकपामा भातृ संगठनको एकता टाउको दुखाइको विषय बनिरहेको समयमा उमेरहदको विषयले केही समस्या पैदा गर्न सक्ने विश्लेषण हुन थालको छ ।