हेटौंडा । प्रदेश नम्बर ३ को राजधानीबारे प्रस्ताव प्रदेशसभा बैठकमा पेश भएको छ । प्रदेशसभा भवन हेटौँडामा सोमबार बसेको बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश भएको हो ।
उपयुक्तताका आधारमा प्रदेश राजधानी सिफारिस गर्न गठित विशेष समितिका सभापति दीपक निरौलाले प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको हो । प्रतिवेदन पेश गर्दै सभापति निरौलाले प्रतिवेदनमा जिल्लागतरुपमा विवेचना र विश्लेषण गरिएको बताउनुभयो । राजधानीको विषय देशको विकास र जनताको सेवालाई हेरेर निर्णय गर्नुपर्ने उहाँको भनाइ थियो । समितिले प्रदेश सभालाई काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुर गरी ५ जिल्ला राजधानी तोक्न उपयुक्त भएको भन्दै सिफारिस गरेको छ । समितिको प्रतिवेदन संसदमा पेश भएपछि प्रदेश सभामा राजधानीको विषयले प्रवेश पाएको हो ।
जेठ २६ गते समितिले सभामुखलाई बुझाएको प्रतिवेदनले ४ महिनापछि प्रदेशसभामा औपचारिक प्रवेश पाएको हो । १३ सदस्यीय समितिले प्रदेश सभालाई प्रतिवेदन बुझाएसँगै समिति समेत विघटन भएको छ । यसअघि असोज २ गतेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यले प्रतिवेदन कता हरायो भनी व्यङ्ग्य गरेका थिए ।
अध्ययन समिति बनाउने प्रदेश सभाको निर्णयविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासमा रिट दायर भएकाले समितिको प्रतिवेदन सभामा पेश गर्न रोकिएको थियो । प्रदेश सरकार, मुख्यमन्त्री, सभामुख, प्रदेश सभा, सम्भाव्यता अध्ययन समिति, विपक्षी दलका नेता र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई विपक्षी बनाएर अधिवक्ता धु्रवप्रसाद चौलागाईले दायर गरेको रिट निवेदनमा न्यायाधीश चिन्तामणि बरालको एकल इजलासले विपक्षीलाई कारण देखाऊ आदेश जारी गरेको थियो । यसैगरी, प्रदेश सभाको विशेष समयमा राजनीतिक दलका प्रतिनिधित्व हुनेगरी एक–एक जना सांसदले बोल्नुभएको थियो ।
हेटौंडालाई नै प्रदेश ३ को स्थायी राजधानी बनाउनु पर्ने माग गर्दै नागरिक सरोकार मञ्चले सोमबार संसद सचिवालय अगाडि धर्ना दिएको छ । संविधान अनुसार, हेटौंडालाई स्थायी राजधानी घोषणा नगरेसम्म आफूहरुको ध्यानाकर्षण जारी रहने मञ्चका अध्यक्ष अधिवक्ता ध्रुवप्रसाद चौलागाईले बताउनुभयो ।