नेपाली समाजमा मनाइने महान्पर्व बडादशैँको दोस्रो दिन आश्विन शुक्लव्दितीया तिथिमा देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिन्छ । घटस्थापनादेखि प्रत्येक दिन फरक फरक नौ देवीको आह्वान गरी शक्तिको उपासना गर्ने पद्धति छ । नवरात्रमा आफूमा निहित मानवशक्ति,प्रभा,माया, जाया,सूक्ष्मा,विशुद्धा नन्दिनी, सुप्रभा, विजया,सर्वसिद्धिदाद्वारा प्रकट गरी जीवनलक्ष्य पूर्ति गर्ने आशयले देवीको साधना गर्ने परम्परा छ । यस पर्वमा शक्ति स्वरुपा देवीहरुका साथै देवताहरुले समेत आराधना गर्नुपर्ने शक्तिका मूलमाताहरु महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि साधना गरिन्छ ।
[caption id="attachment_69928" align="alignright" width="150"]
–नारायण भण्डारी[/caption]
ब्रह्मचारिणी देवीलाई ब्रहम विद्याशक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ । देवी ब्रह्मचारिणीलाई ऐना,काइयो,टीका चढाइन्छ ।
माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । शास्त्रहरुमा उनको वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । ब्रहमचारिणी देवीले एक हातमा कमल धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् । कमलले सच्चिदानन्द ब्रहमस्वरुप संकेत गर्दछ भने कमण्डलुले वरदान र आशिर्वादको अर्थ संकेत गरेको छ । देवी ब्रहमचारिणीको पूजाआराधना गर्न भक्तजनहरु आज बिहानैदेखि मुलुकका विभिन्न शक्तिपीठ, देवीमन्दिरर कोटहरुमा भेला भएका छन् । घरघरमा स्थापित दशैँघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा गरिन्छ उनको गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन श्रवणको क्रम पनि चलिरहेको छ ।
साथै देवीभक्तहरुले विभिन्न देवीमन्दिरमा गएर भवानी दुर्गाको दर्शनपूजन गरिरहेका छन्
काठमाडौ उपत्यकाका नव दुर्गाहरुमध्ये गुुुुह्येश्वरी, नक्सालभगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभाभगवती, दक्षिणकाली र अन्य देवी मन्दिरहरु तलेजुभवानी चामुण्डा भगवती, नरदेवी, विजेश्वरी, बगलामुखीलगायतका मठमन्दिरमा भगवती दुर्गा भवानीको पूजाआजा भइरहेको छ ।
यसैगरी पाथीभरा, दन्तकाली, सिद्धकाली, छिन्ताङ भगवती, कंकालिनी, सखडा भगवती, कालिञ्चोक भगवती, पाल्चोक पलाञ्चोक, नाला भगवती, चण्डेश्वरी, जाल्पादेवी, सल्यानकोट भगवती, मनकामना, गोरखकाली, लमजुङ कालिका, मौलाकालिका छिम्केश्वरी, विन्ध्यवासिनी, कास्की कोट, सुपादेराली, उजिरेश्वरी, आलमदेवी गह्रौंकालिका, दुर्लुङकोट, बाग्लुङ कालिका, जलजलामाई, त्रिुपुरा सुन्दरी वागीश्वरी, शैलेश्वरी उग्रतारालगायत मुलुकका देवीमन्दिर तथा शक्तिपीठहरुमा भक्तिपूर्व आद्यशक्ति माता भगवतीको पूजा आराधना गरिंदैछ ।
मुलुकभर मानिसहरु ठूलो संख्यामा देवीपूजनका लागि मन्दिरक्षेत्रमा भेला भएका छन् । आपसमा दशैँको शुभकामना दिँदै बाटाघाटामा हिँड्दा देश दुनियाँ नै जगमग सुखमय, मैत्रीपूर्ण र भव्य देखिएको छ । जनता दशैँका दिन आ आफ्ना वस्ती र घरगाउँमा रमाइरहेका छन् ।