पुष्पराज अधिकारी
हेटौंडा । अहिलेको युवापुस्ताले उड्कलमा चिउरा कुट्ने परम्परागत् विधि देखेका थिएनन् । देखेका पुराना पुस्ताले समेत बिर्सिन थालिसकेका थिए । उड्कलमा चिउरा कुट्ने परम्परा समेत लोप हुँदै गएको छ ।
उत्तरी मकवानपुर थाहानगर–६, टिष्टुङ बज्रबाराहीमा शुरु टिष्टुङ महोत्सवमा गोपाली महिलाको समूहले महोत्सवमा आउने धेरैको ध्यान तानेको छ । २४ गतेबाट शुरु भएको महोत्सवमा धैरै प्रकारका प्रविधि प्रदर्शनी भए पनि गोपाली महिला समूहले परम्परागत घरेलु चिउरा कुट्ने प्रविधि हेर्न र उड्कलमा कुटेर तयार पारेको चिउरा किन्नेको भीड देखिन्थ्यो ।
चिउरा कुट्न आवश्यक जनशक्ति, काठको उड्कल र लुसी पनि पाइँदैन । गाउँमा उड्कल र लुसी बनाउने जनशक्ति छैन । थाहानगरमा आयोजना गरिएको महोत्सवमा एउटा स्टलका रुपमा उड्कलमा चिउरा कुटेर बिक्री गरिएको छ । उड्कलमा कुटेको चिउरा बिक्री गर्न उनीहरुलाई भ्याइनभ्याइ हुन्छ ।
उनीहरु आफ्नो स्टलमा निकै व्यस्त देखिन्थे । कोही धान भुट्दै थिए, केही खलमा कुट्दै थिए, निफन्दै थिए भने कोही चिउरा बेच्दै । नेवारी पोशाकमा सजिएका उनीहरु आफ्ना परम्परागत् प्रविधि प्रचारप्रसार गर्न र चिउराको स्वाद चखाउन महोत्सवसम्म आएका हुन् । उनीहरुले चिउरा तीन सय रुपियाँ प्रतिकिलोमा बेचिरहेका छन् ।
एक घान चिउरा भुट्न र कुट्नका लागि कम्तिमा २५ मिनेट लाग्छ । ताइचिन धानबाट बनाइएको चिउरा अन्य चिउरा भन्दा निकै स्वादिष्ट हुने मानिसहरुको बुझाई छ । दशैंमा भएको महोत्सव र स्थानीय महोत्सवमै किन्न पाएपछि नयाँ पुस्ताले यसपालिको दशैंमा उड्कलमा कुटेको चिउरा खाने भन्दै किनेका थिए ।
नयाँ पुस्ता चिउरा किन्नमात्र हैन, कुटेको हेर्नेको पनि उत्तिकै भिड लागेको थियो । समूहमा १६ सदस्य रहेको र चिउरा बेचेर कमाएको पैसा सदस्यमा ऋण लगानी गरेको उहाँले जानकारी दिनुभयो ।
सँस्कृति जोगाउन तथा मेलामा चिउरा बेचेर केही आयआर्जन गर्न महोत्सवमा आएको उनीहरुको भनाइ छ ।