–नारायण भण्डारी
नेपाली समाजमा हर्ष उल्लासपूर्वक मनाइने शारदीय महापर्व बडा दशैंको आठौं दिन आश्विनशुक्ल अष्टमी तिथिमा प्रचण्डघोर कृष्णशक्ति स्वरुपा भवानी माता महाकालीको पूजाआजा गरिन्छ । महाकाली आदिमाता पार्वतीको मायावी उग्र रुप हो । विश्वकल्याणका निम्ति ज्ञानसाधनामा साधनारत साधक सन्तसाधु चिन्तक,सत्मार्गीलाई त्रस्त तुल्याउने दुष्ट वृत्तिमा लागेका दानवलाई छल वा भ्रान्तिको माध्यमबाट समेत तह लगाउने उद्देश्यले कालरात्रिको समयमा महाकाली देवीको प्रदुर्भाव भएको शास्त्रहरुमा उल्लेख छ । यी देवीको वदनवर्ण नीलो रंगको रेहेको छ ।
लामो रातो ओंठ भएकी, रातो जिभ्रो लप्लपाउने,गधामा चढेकी, नरमुण्डमाला लाएकी,विविध आयुध धरेकी, रक्तकुण्ड धारण गरेकी,बहुरुपी रङमा प्रकट भई असुरहरुलाई अलमलमा पारिदिने माता कालरात्रिको चरित्र चित्रण गरिएकोछ । माता पार्वती आफ्नो स्वर्ण स्वरुप छोपेर अंध्यारामा प्रकट भएकीले यस रुपलाई कालरात्रि भनिएको स्कन्द पुराणमा उल्लेख छ । देवीको महाकाली रुप शक्तिको भयंकर अवस्था हो । यस रुपलाई ज्ञानरुप शिवले सत्मार्ग प्रदान गर्दछन् । उनको प्रचण्ड शक्तिलाई जगतकल्याणमा रुपान्तरण गर्न शिव मात्र समर्थ छन् ।
लोकमा यस दिनदेखि देवीको विशेष पूजाआजा शुरु हुन्छ । शक्तिपीठहरुमा अष्टमीको मध्यरातमा वलिपूजा गरिन्छ । महाअष्टमीका दिन घरघरमा रहेका हातहतियार तथा सरसाधनको पूजा गरिन्छ । यस दिन होम पनि गरिन्छ । महाअष्टमीको मध्यरातमा कोटघरमा विशेष विधिपूर्वक कालरात्रिको पूजा गरेपछि रातभर जाग्राम बस्ने चलन छ । अष्टमीदेखि कोटघर तथा देवी मन्दिरहरुमा वलिपूजा पनि हुनथाल्छ । सनातन हिन्दुधर्मसंस्कृतिमा विशेष महत्वका साथ मानिने चार रात्रिहरुमा कालरात्रि पनि एक हो ।
काठमाडौ उपत्यकाका नव दुर्गाहरुमध्ये गुह्येश्वरी, नक्साल भगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभाभगवती, दक्षिणकाली र अन्य देवीमन्दिरहरु तलेजु भवानी चामुण्डा भगवती, नरदेवी, विजेश्वरी, बगलामुखीलगायतका मठमन्दिरमा भगवती दुर्गाभवानीको पूजाआजा भइरहेको छ ।
यसैगरी, पाथीभरा, दन्तकाली, सिद्धकाली, छिन्ताङ भगवती, कंकालिनी, सखडाभगवती, कालिञ्चोक भगवती, पाल्चोक पलाञ्चोक, नालाभगवती, चण्डेश्वरी, जाल्पादेवी, सल्यानकोट भगवती, मनकामना, गोरखकाली, लमजुङ कालिका, मौलाकालिका छिम्केश्वरी, विन्ध्यवासिनी, कास्कीकोट, सुपादेराली, उजिरेश्वरी, आलमदेवी गह्रौं कालिका, दुर्लुङकोट, बाग्लुङ कालिका, जलजलामाई, त्रिपुरा सुन्दरी वागीश्वरी, शैलेश्वरी उग्रतारालगायत मुलुकका देवीमन्दिर तथा शक्तिपीठहरुमा भक्तिपूर्व आद्यशक्ति माता भगवतीको पूजाआराधना गरिंदैछ ।