विगतमा सुनसान बनेका गाउँघर र नगरवस्तीमा दशैँं लागेपछि चहलपहल बढेको छ । शहरबजार र विदेशमा रहेका नेपालीहरु दशैँं मनाउन गाउँघर फर्केका छन् । आफन्तजन गाउँघर फर्कंदा देशवासीमा प्रशन्नता छाएको छ ।
दशैँं नेपाली समाजको सद्भाव समृद्ध बनाउने पर्व हो । आपसी भेटघाट र सुखदुःख बाड्ने चाड हो । आफ्नो घरमा पाकेका परिकार प्रसादका रुपमा अरुलाई बाँडेर खाने सुखद् घडी हो ।
[caption id="attachment_69928" align="alignright" width="150"]
–नारायण भण्डारी[/caption]
दशैँंका बेला मानिसहरु देवीमन्दिरमा भेटिन्छन् । मन्दिरमा वस्तीका हरेक सदस्यको सहभागिता छ । कसैले पाठ गर्छन् । कसैले वलि चढाउँछन् । कसैले नगरा बजाउँछन् । कसैले पानी ल्याउँछन् । कसैले हतियारमा धार लगाउँछन् । देवीहरु मन्दिर सामाजिक सद्भावको केन्द्र बनेका छन् ।
गाउँ गाउँमा यज्ञमहायज्ञ गर्न सबै जुट्छन् । कति पिङमा झुम्मिन्छन् । बालबच्चा चङ्गा उडाएर आनन्दित हुन्छन् । कोही परपरका पर्वतधुरी चढेर रमाउँछन् । कति यात्रामा निस्कन्छन् । प्राकृतिक दृश्य सुरम्य छ । कृषिले त्यसमा शोभा थपेको छ । शारदीय पर्व दशैँको समय अनेकौं दृष्टिले रमणीय छ ।
दशैँंको अवसरमा सबै कर्मचारीले बोनस पाउँछन, कार्यालयमा लामो समयको बिदा दिइन्छ, देशवासीले आ आफ्नै विधिले देवीपूजा गरी टीका लगाउँछन् । देशैभर जनताले एकै दिन उही साइतमा टीका लगाउँदा मुलुक नै हर्षित हुन्छ । राष्ट्रिय एकता प्रबल हुन्छ । आफूभन्दा बडाजनको हातबाट टीका र जमरा लगाई आशीर्वाद लिँदा अग्रजको सम्मान गर्ने संस्कार सबल हुन्छ । पुर्खाले सन्तानलाई दिने आशाीषको संस्कृति यथावत रहन्छ । आपसी रिसराग हराउँछ । सामाजिक सम्बन्ध अझ सुमधुर बनाउन वर्षेनि आउने दशैँंले ठूलो योगदान गरेको छ ।
https://www.youtube.com/watch?v=UjRAXVY1U7w&t=1s