काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले वर्तमान सरकारबारे समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय नभएको बताउनुभएको छ ।
सांसद बस्नेतले सरकार सञ्चालन भएको तथा सङ्घीयता कार्यान्वयन भएको सात महीना भएकाले आजका दिनसम्म भएको सरकारका कामकारवाही, नीति नियम, कार्ययोजनालगायत कुराको समीक्षा जरुरी रहेको बताउनुभयो । सरकारले ल्याएको बजेट वितरणमुखीभन्दा पनि सङ्कलनमुखी भएको बताउँदै उहाँले वर्तमान सरकारको समयमा ३१ प्रतिशतले राजश्व वृद्धि भएको बताउनुभयो ।
उहाँले करबारेको हल्ला बढी, वास्तविकता कम भएको बताउँदै स्थानीय तहले जनतालाई समस्या हुने कुनै पनि प्रकारको करको वृद्धि नगरेको स्पष्ट गर्नुभयो ।
सांसद बस्नेतले स्थानीय सरकारमा कुनै सत्तापक्ष र प्रतिपक्ष नहुने जिकिर गर्दै स्थानीय तहका राम्रा र नराम्रा दुवै कार्यको जिम्मेवारी सबैको बराबर हुने बताउनुभयो । उहाँले स्थानीय तहमा कर्मचारी अभावका कारण काममा समस्या आएको स्वीकार गर्नुभयो ।
अन्तर्राष्ट्रिय रङ्गशाला, प्राणी उद्यान, सभागृह, राजमार्ग, सुरुङ मार्ग, रेलमार्ग, जलमार्ग, एक प्रदेशदेखि अर्को प्रदेशका बीचमा गर्नुपर्ने विकास, स्मार्ट सिटी, ठूलाठूला विद्युत् उत्पादनलगायत विकासनिर्माण स्थानीय तथा प्रदेश सरकारले नभई सङ्घीय सरकारले गर्ने उहाँले बताउनुभयो ।
उहाँले निर्मला पन्तको घटनालाई जोडेर नेपालको शान्ति र सुरक्षालाई कमजोर ठान्नु गलत हो भन्दै सत्यतथ्यसहित दोषीलाई सरकारले कानूनी दायरामा ल्याउनैपर्नेमा जोड दिनुभयो । फाइल तस्बिर ।