काठमाडौ । स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तराष्ट्रिय सामाजिक विद्यालयहरु बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटिको म्याड्रिडले चन्द्रागिरि नगरपालिकामा रहेको वेष्ट काठमाडौं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो ।
क्लबका इन्टरनेशनल एक्सपान्सन एण्ड एकेडेमी म्यानेजर फर्नाण्डो लोपेज र बीबी ट्रष्टका भवन भट्टबीच दुई पक्षीय सम्झौतामा संझौता भएको हो । बीबी ट्रष्ट र एथ्लेटिको म्याड्रिडबीच शुक्रबार काठमाडौंमा सहमतिपत्रमा हस्ताक्षर भएपछि क्लबले ट्रष्टमार्फत वेष्ट काठमाडौं फुटबल क्लबलाई सहयोग गर्नेछ । त्यस अबसरमा दुवै क्लबको लोगो अंकित जर्सी समेत सार्वजनिक गरेका छन ।बीबी ट्रष्टलाई गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले संचालन गर्दै आएका छन् ।
संझौतापछी भट्टले यो संझौताले नेपाली फुटबलमा नया आयाम कोर्न सफल हुने बताए । एथ्लेटिको म्याड्रिडका बजार प्रवन्धक लीेपेजले यो क्लबको सुरुवाती सहयोग मात्र रहेको र पछिल्ला दिनमा यसको दायरा फराकिलो हुने बताए । एथ्लेटिको म्याड्रिड फाउण्डेशनका अध्यक्ष पाब्लो लागोसँग एनआरएन केन्द्रीय अध्यक्षसहितको टोली भेटेपछि यो योजनाको प्रारम्भ भएको थियो।
यस्तो सहयोगका लागि क्लबले आफ्नो कुल बजेटको एक प्रतिशत रमक छुट्याउने गरेको छ ।‘अहिले पोर्चुगल, निकारागुआ, मोरक्को, भारत र हाईटी लगायत स्पेनमा नै ११ वटा सामाजिक विद्यालयमा सहयोग क्लबले सहयोग गरिरहेको छ । नेपाल र स्पेनको फुटबललाई जोड्ने अभियानका सक्रिय रुपमा लागि परेका एनआरएनए युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले भने सुरुवातमा क्लबलाई खेल सामाग्री र डाईट तथा जर्सी सहयोग हुने र कालान्तरमा यसमा बढ़ावा हुदै जाने बताए । उनका अनुसार सुरुआतमा ८० जना खेलाडीका लागि खेलकुद सामाग्री समेत प्रदान गर्ने तय भइसकेको छ ।
केन्द्रीय अध्यक्ष भवन भट्टसहित एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल, एनआरएन अनररी परिषद् समिति सदस्य गोविन्द सुवेदी लगायतको टोलीले गैरआवासीय नेपाली संघ र एथ्लेटिको म्याड्रिडबीच सम्झौता गर्ने प्रयास गरेको थियो । तर, नेपाल बाहिर बस्ने नेपालीहरुको संस्था भन्ने अर्थ लागेपछि एनआरएनएसँग सम्झौता गर्न क्लब तयार भएन । उसले राजधानीकै क्लब खोज्यो । त्यसपछि बीबी ट्रष्टबाट प्रक्रिया अघि बढ्यो र यही ट्रष्ट मार्फत चन्द्रागिरिमा रहेको वेष्ट काठमाडौं फुटबल क्लबबाट प्रपोजल पेश भएपछि सहमति जुटेको हो
स्पेनिस क्लबले विश्वका बिभिन्न मुलुकमा आफ्ना फाउन्डेशनमार्फत सहयोग मात्र गरेका छैन, खेलाडीहरुलाई अवसर दिएका छन् । त्यसैले यो नेपाल र क्षमतावान नेपाली खेलाडीहरुका लागि पनि ठुलो अवसर पनि हो । हरेक वर्ष भएको प्रगती बिबरण अनुसार नै सहयोगको मात्रा बढ्दै जाने हुँदा यो आफैंमा चुनौतीपूर्ण पनि छ ।