कथाः फेरि ओइलियो मखमली

बारीभरि फूलेका मखमली, सयपत्री र गोदाबरीका कोपिलाले तिहार नजिकै आएको संकेत गर्दैथिए । गाउँघरका आमा, सानीमा, दिदीहरु तिहारलाई चाहिने सामग्री जोहो गर्न थाल्नु भएको थियो भने घरका मूली मानिने बा तिहारका लागि चाहिने सामग्री किन्न बजार धाउँदै हुनुहुन्थ्यो । गाउँभरि एककिसिमको रौनकता देखिन थाल्यो । टाढा घर हुने दिदीहरु बिस्तारै माइत आउन थाल्नुभयो । विदेश गएका लाहुरेहरु पनि दिदीबहिनी र गाउँघरको रौनतकता सम्झेर फर्किदैँ थिए गाउँ । हामी भुरापाटी पनि एकमहिना अघिदेखि योजना बुन्दै थियौँ, देउसीभैलो खेल्न कहाँ जाने, के लगाउने, कुन साथीलाई लैजाने, कतिबेर खेल्ने, पटाका पड्काउने कि नपड्काउने आदि इत्यादि । किनकी हाम्रो बाल मानसपटलले अन्य केही जिम्मेवारी महसुस गर्ने बेलै भएको थिएन । हामीलाई त बश खेल्नु र खानु थियो ।

पल्टनमा भएका दाइ ५ वर्षपछि तिहारमा घर फर्कदैहुनुहुन्छ भनेर दशैँअघि नै चिठ्ठी आइसकेको थियो । हामीमा हर्षको सीमा नै थिएन । तिहारमा दाइ नहुँदा अघिल्ला वर्षहरुको तिहार हामीले सामान्य मनायौँ । म त सानै उमेरको हुँदा साथीभाइसँग खेल्न पाएपछि दाइलाई त्यत्ति सम्झन्नथेँ तर दिदी भने सधैँ टीकाका दिन मखमली माला उनेर, सप्तरङ्गी रंगहरु ल्याएर मलाइ टीका लगाइदिँदा खुब रुनुहुन्थ्यो । टीकाका दिन म र दिदी मात्रै हुने आमा पनि मामाघर जानुहुन्थ्यो अनि बा पनि वर्षेनी टीका लगाउन फुपुको घरमा नै जानुहुन्थ्यो । हुन त मेरो काकाका छोराहरु पनि नभएका होइन, तर, उनीहरु हामी गरिब छौँ भनेर सधैँ हेला र तिरस्कार गर्थे, हामीले उनीहरुको घरमा आँखा लगाउँदा पनि ठूला आँखाले हेर्थे । दाइ पल्टनमा छिरेको पहिलो वर्ष । मलाइ त याद छैन तर दिदीले सुनाएको सम्झन्छु । त्यो वर्ष पनि मखमली, गोदावरी र सयपत्री फूल ढकमक फुलेर तिहार आएको संकेत गर्नथाले । दाइ नभएपछि त दिदीलाई पनि तिहार आएको महसुस नै भएन रे । तर पनि काकाको छोरा छ’नि, उसैलाई टीका लगाउँछु भनेर दिदी टीकाको दिन बिहानै उठेर माला उनेर, खानेकुरा तयार पारी सप्तरंगी टीकासहित काकाको घर पुग्नुभएछ ।

डाक न बोलाऊ, के भनेजस्तो ऊ त्यहाँ बाटामा कुकुरका बच्चाहरु एक्लै छन् जाऊ उनीहरुलाई तिम्रो यो माला टीका र खानेकुरा देऊ

काकाकी छोरी र दुइवटा भाइहरु टीका लगाउने तर्खरमा रहेछन् । दिदी आँगनमा सामग्रीसहित के पुग्नुभएको थियो, उनीहरु भित्रैबाटै ठूलो स्वरमा दिदीलाई गिज्याउँदै हाँसे रे । अनि काकाको जेठो छोरो बाहिर आएर दिदीले ल्याएका खानेकुरा हेर्दै भित्रभएका भाइ दाइलाई पनि बोलाए अनि भने, हेर है हेर तिहारमा टीका लगाउन आउँदा यस्ता मीठामीठा परिकार ल्याउनुपर्ने पो रहेछ नि माला पनि कस्तो ओइलिएको फूलको अनि टीका त फुटपाथबाट किनेर ल्याएको जस्तो छ भन्दै तीनजना एकैस्वरमा हाँसे अनि काकाकी छोरी बोलिन्, ‘यसैलाई भनिन्छ स्तरहीन मान्छे हेर न यत्रो तिहारमा दाजुभाइलाई दिन ल्याएको सामानको हालत सबै बेच्ने हो भने २० रुपैयाँ पनि नआउलाजस्तो ! पुन तीनजना एकैस्वरमा हासे, बिचरी दिदी केही बोल्न सक्नुभएन । त्यत्तिबेला त दिदीलाई चक्कर आएर ढल्छु कि भनेझैँ भयो रे ।

अनि रुन्चे स्वरमा दिदीले भन्नुभयो, ‘स्मृति त्यसो नभन्न हाम्रो दाइ पल्टनमा भएर मात्रै हो, यो वर्ष त हो नि अर्को वर्ष त दाइ आइहाल्नुहुन्छ, घरमा पनि म एक्लै छु, आफ्ना भनेको पनि तिमीहरु नै त हो नि, म केही खान्न मलाई पैसा पनि चाहिन्न, मलाइ भाइहरुले टीका मात्रै लगाइदिए पुग्छ ।’ दिदीका कुरा सुनेपछि काकाको कान्छा छोराले भनेछन्, ‘डाक न बोलाऊ, के भनेजस्तो ऊ त्यहाँ बाटामा कुकुरका बच्चाहरु एक्लै छन् जाऊ उनीहरुलाई तिम्रो यो माला टीका र खानेकुरा देऊ । हामीसँग टीका लगाउनु पहिले आप्ननाे औकात बिचार गर । यति भनी अर्काको साइत नै बिगारी भन्दै तीनैजना भित्र पसेछन् । अनि दिदी रुँदै घर आउनुभएछ । त्यो दिनभर दाइलाई सम्झिँदै दिदीले खुब आँशु बहाउनुभएछ । आजपनि दिदी त्यही घटनाले एकपटक रुनुभयो अनि दुइहातले आँशु पुछ्दै भन्नुभयो, ‘यसपाली त हामी पनि तिहार धुमधामका साथ मनाउने ।’

यो वर्षको तिहारमा दिदीको उत्साह भिन्दै थियो । ५ वर्षपछि दाइलाई टीका लगाउने । दिदीले मखमली उन्न शुरु गरिसक्नुभएको थियो । तिहारमा दाइ आउने भनेर दशैँमा जम्मा भएका पैसाले दाइलाई एकजोर सर्टपाइन्ट पनि दिदीले किन्दिनुभयो । दाइलाई मनपर्छ भनेर सेल पकाउने पिठो पनि घरकै जाँतोमा पिँध्नुभयो, दिदीका क्रियाकलापले ममा पनि उत्साह थपिएको थियो । दाँतरीलाई बाख्रा चराउन जाँदा होस् वा खेल्ने क्रममा हरेक पटक मैले सुनाउथेँ कि हाम्रो दाइ यो वर्ष पल्टनबाट आउने । हामीलाई राम्रा लुगा–खानेकुरा के के ल्याइदिनुहुन्छ रे ! पटकैपिच्छे भन्ने यो कुराले रमा सधैँ डाहा गर्दैभन्थी, ‘हाम्रो पनि बाले बजारबाट के के ल्याइदिन्छु भन्नुभ’को छ मलाइ र भाइलाई ।’ अनि त्यसमा थप्दै खुशी भन्थी, ‘हामीलाई पनि देखा ल तेरो दाइले ल्या’को लुगा ।’ खुशी हुदैँ भन्थेँ, ‘देखाइहाल्छु नि तिहारको टीकाका दिन म त्यही लगाउने त हो, अनि पिङ खेल्न आउँदा देखिहाल्छेस् नि ।’ त्यसपछि घरतिर कुद्थेँ अनि गोठमा काम गर्न थालेकी आमाको फरिया समाउँदै तोते बोलीमा सोध्थेँ, ‘आमा, दाइ आउन अब कति दिन छ ?’ आमा मेरो अनुहारमा नजर डुलाउँदै पाँच औँलाले देखाउँदै भन्नुहुन्थ्यो, ‘५ दिन ।’ ममा हर्षको सीमा नै रहेन । फेरि खुरुरु कुद्दै गएर खाना पकाउन लाग्नुभएको हजुरआमालाई भन्थेँ, ‘आमै, हाम्रो दाइ अब ५ दिनमा घरमा आउनुहुन्छ रे ।’ हजुरआमा मेरा कुरा सुनेपछि मलाइ काखमा राखेर कपाल मुसार्दै भन्नुहुन्थ्यो, ‘हो नि कान्छी ।’

काकाले चिठ्ठी पढिनसक्दै  दिदी चिच्याएर रुँदै कोठातिर पस्नुभयो

अब त दाइ आउन एकदिन बाँकी । यतिधेरै खुशी थपिएको थियो कि त्यो दिन साथीहरुसँग खेल्न जानै मन लागेन । दिनभरि दाइकै कुरा गरेर आमासँग घरमै बसिरहेँ । दिदीले पनि मखमली फूलका माला उनेर घरका थाममा ठोकेका किलामा झुन्ड्याइसक्नुभएको थियो । ममा मात्रै होइन, परिवारका सबै सदस्यमा दाइ आउने भनेर चेहरा नै परिवर्तन भएको थियो । हामी सबै भोलिको प्रतीक्षामा थियौँ । मैले त आमाले केहीदिनअघि नै भनेको थिएँ कि, आमा म दाइ आउने दिन देउरालीमा गएर दिनभर बस्छु अनि दाइ आएपछि मात्रै घर आउँछु । कुरा सुनेर आमा मन्द मुस्कानसहित मौन रहनुभयो ।

साँझ पर्न लागेको थियो । गाउँका हर्के काका चिठ्ठीसहित आँगनमा टुप्लुक्क देखा परे । म बाहिरै हुँदा सोधे, ‘कान्छी, आमा–बा खोइ ?’ भनेँ, ‘भित्र हुनुहुन्छ ।’ उनी चुप लागेर सरासर भित्र पसे । म पनि उनको पछिपछि गए उनले हातमा ल्याएको चिठ्ठी खोलेर आमा बा हजुरआमा सबैको अगाडि चिठ्ठी पढ्न थाले । त्यो चिठ्ठी दाइको रहेछ जसमा लेखिएको थियो, ‘आमा–बा, दिदी–बहिनी सबैलाई धेरै सम्झना छ । म यो वर्ष पनि पल्टनमा बिदा नमिलेको हुँदा घर आउन सकिनँ । सबैको धेरै न्यास्रो लागेको छ । कहिलेकाँही त पल्टन नै छोडेर भागुँजस्तो हुन्छ तर बाध्यताले म त्यसो पनि गर्न सक्दिनँ । म यो वर्ष पनि तिहारमा आइन है, नमरी बाँचे अर्को साल फर्किन्छु । मेरा लागि उनेको मखमली काकाका छोरालाई लगाइदिनू । काकाले चिठठी पढिसक्न नपाइ दिदी चिच्याएर रुँदै कोठातिर पस्नुभयो । आमा, बा र हजुरआमा पनि भावविह्वल हुनुभयो । म पनि चुप लागेर उभिरहेँ । बोल्ने शब्दै आएन । दाइ यो वर्षको तिहारमा नआएपछि फेरि ओइलियो मखमली माला ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…